काठमाडौं । मेलम्ची खानेपानी आजदेखि पुनः काठमाडौंका घरघरमा वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज बिहान काठमाडौंमा मेलम्चीबाट आएको पानीको धारा खोलेर वितरणकार्यको शुभारम्भ गरे ।
मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले आजदेखि दैनिक पाँच करोड लिटर पानी काठमाडौंका धारामा पठाइने जानकारी दिए । ‘‘पानी केयूकेएलले पठाउने हो । टनेल भरिएर तयारी अवस्थामा छौँ । सुरुमै सबै पानी पठाउन सकिँदैन,” उनले भने ।
एकैपटक सबै पानीको भार थाम्न नसक्ने भएकाले चरणबद्ध रूपमा पानी पठाइने कुँवरले बताए ।
गत वर्ष केयूकेएलले महाकांल, बालाजु, बाँसबारी, खुमलटार, बानेश्वर, बोडे र कीर्तिपुरका पानीट्यांकीबाट उपत्यकावासीलाई पानी वितरण गरेको थियो । यसपटक पनि ती स्थानबाटै चरणबद्ध रूपमा १७ करोड लिटर पानी वितरण गर्ने तयारी केयूकेएलको छ ।
चक्रपथ बाहिरका धाराहरूमा भने पानी पठाउन समय लाग्ने बताइएको छ ।
२२ वर्षको प्रतीक्षापछि गत वर्ष चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो । तीन महिनापछि मेलम्ची खोलामा आएको बाढीले आयोजनामा क्षति पुर्याउँदा पानी वितरण रोकिएको थियो ।
थप तस्बिर हेर्नोस्–