धनगढी । कैलालीको धनगढीमा शनिबारदेखि सुरु भएको रात्रिकालीन महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ ।
धनगढी रंगशालामा भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिका टोलीलाई १–० ले पराजित गरेको हो । ५९औँ मिनेटमा रेखा पौडेलले गरेको गोल नै पुलिसको जितामा निर्णायक बन्यो ।
वनदेवी युवा क्लबको आयोजनमा यही वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीयसहित आठ टोलीको सहभागिता छ । विजेताले ट्रफीसहित नगद पाँच लाख र उपविजेताले ट्रफीसहित दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् । विभिन्न विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजक क्लबका अध्यक्ष सुशन जोशीले जानकारी दिए । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ले पाँच हजार पाउनेछन् ।
यो बेला धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकाले पहिलोपटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो ।