काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका कार्यवहाक अध्यक्षसहित १० जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कार्यवहाक अध्यक्ष पूजादेवी बुढामगरसहित ६ वडाध्यक्ष र तीन सदस्यहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
मोहन्याल गाउँपालिका भएर बग्ने पत्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्राखोलाको नदीजन्य पदार्थको बिक्री कर संकलनसम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएकामा गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यु बडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको भन्ने उजुरी अख्तियारमा परेको थियो ।
सोही उजुरीमा अनुसन्धान हुँदा तत्कालीन उपाध्यक्ष एवं हाल कार्यवाहक अध्यक्ष बुढामगर, वडा नम्बर–२ का वडाध्यक्ष देवीदत्त उपाध्याय, वडा नम्बर–१ का वडाध्यक्ष नवीन पुनमगर, वडा नम्बर–७ का वडा अध्यक्ष खरप्रसाद अधिकारी, वडा नम्बर–५ का वडाध्यक्ष छविलाल हौजालीमगर, वडा नम्बर–४ का वडाध्यक्ष टेकबहादुर बोगटी, वडा नम्बर–६ का वडाध्यक्ष टिकाराम भण्डारी, वडा नम्बर–३ का वडाध्यक्ष नन्दराम गिरी, गाउँकार्यपालिका सदस्यहरू राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
विशेष अदालत काठमाडौंमा दायर गरिएको आरोपपत्रमा उनीहरूले ५४ लाख १८ हजार ५६८ रुपैयाँँ हिनाहिना गरेको उल्लेख छ ।