काठमाडौं । मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको सराेकारवालाहरूले बताएका छन् । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरूको भनाइ छ ।
सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेसनल युथ फोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेकाले अब आर्थिक र मानसिक सन्तुष्टिको समृद्धि आवश्यक रहेको औँल्याए । देशमा राजनीतिक परिवर्तन आइसकेकाले अब युवाहरूले आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्ने बताए ।
मन्त्री पौडेलले विदेशमा जाँदा मात्र राम्रो हुने, विदेशमा मात्र सफलता हासिल हुने भन्ने खालको मानसिकता अन्त्य गर्दै नेपालमै सम्भावनाहरू खोज्नुपर्ने बताए । उनले भने, "देशमा ढिला भए पनि विकास हुँदैछ । पूर्वाधार निर्माण भइरहेको छ । दिगो विकासको लक्ष्य अघि बढाइएको छ । अब समृद्धिका लागि युवाहरूले स्वदेशमै संभावना देख्नुपर्छ ।"
सहकारीलाई देशको संविधानले तीन खम्बे अर्थनीतिमा समेटेकाले दिगो विकास लक्ष्यका साथ समूहगत रुपमा युवाहरू लाग्न पनि उनले आग्रह गरे । सहकारीमा लागेका युवाहरूलाई प्रोत्साहित गर्दै मन्त्री पौडेलले लगानी गर्न नडराउन आह्वान गरे । अर्थतन्त्रका आधार स्वीकार गरिएको सार्वजनिक, निजी, सहकारी क्षेत्रले एक आपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष एवम् संविधान सभा सदस्य ओमदेवी मल्लले सहकारीमार्फत नेपाली युवाहरू अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्दै गएकाले सहकारी मुलुक समृद्धिका आधार स्तम्भ भएको बताइन् । अन्तर्राष्ट्रिय सहकारी महासंघमा पनि युवाहरूको सहभागीता बढ्दै गएको जानकारी दिँदै उनले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्नुपर्ने बताइन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब राम प्रसाद थपलियाले देशको सबै तहको विकास र समृद्धिका लागि सहकारी मोडेल महत्वपूर्ण हुने बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानमार्फत युवाहरूलाई उद्यमशिलता जोड्नसके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे ।
शनिबारसम्म चल्ने सम्मेलनमा देशभरका युवा सहकारीकर्मीहरूको सहभागिता रहेको छ । राष्ट्रिय सहकारी महासंघको युवा समन्वय उपसमितिको आयोजनामा भएको सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल रहेको छ । यसैगरी युवा उद्यमीहरूको अनुभव आदानप्रदान कार्यक्रम समेत राखिएको संयोजक सागर ढकालले जानकारी दिए ।