काठमाडौं । नेपाली साहित्यिक पत्रकारिताका दुई धरोहर मञ्चमा थिए । तीमध्ये एक नगेन्द्रराज शर्मा अर्का साहित्यिक पत्रकार रोचक घिमिरेलाई आफ्नै नाममा स्थापित ‘साहित्यिक पत्रकारिता पुरस्कार’ अर्पण गर्दै थिए ।
स्मरण रहोस्, शर्मा ‘अभिव्यक्ति’ साहित्यिक द्वैमासिकका संरक्षक तथा संस्थापक (दुई अंकअघिसम्म सम्पादक) हुन् भने घिमिरे ‘रचना’ साहित्यिक द्वैमासिकका सम्पादक हुन् । ‘रचना’ वि.सं. २०१८ सालदेखि अनवरत प्रकाशित हुँदै आएको छ भने ‘अभिव्यक्ति’ २०२७ सालदेखि ।
केही महिनाअघि स्थापित ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोश’ले नगेन्द्रराज शर्माको ८५औँ जन्मदिन पारेर मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उक्त पुरस्कार पहिलोपटक रोचक घिमिरेलाई प्रदान गरेको छ । पुरस्कारका साथ २५ हजार रुपैयाँ नगद राशि पनि प्रदान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्माले आफू सामान्य मानिस भएको भन्दै आफूले गरेको कामबाट अथाह सम्मान पाएको बताए ।
उनले भने, "अभिव्यक्ति’कै कारण मैले थुप्रै साथी कमाएको छु । सम्मान पनि पाएको छु । भो, अब मलाई सम्मान नगर्नुस् ।"
पुरस्कृत व्यक्तित्व रोचक घिमिरेले आफूलाई यो पुरस्कार लिन असजिलो लागे पनि पुरस्कार स्वीकार गरेको बताए ।
उनले भने, "नगेन्द्रजी मेरो साथी हुनुहुन्छ । उहाँको नाममा अरू साहित्यकारहरूले स्थापना गरेको पुरस्कार भएकोले पनि मैले यो पुरस्कार स्वीकार गरेको हुँ ।"
सोही समय घिमिरेले आफूले प्राप्त गरेको नगद राशि २५ हजारमा पाँच हजार थप गर्दै ३० हजार रुपैयाँ पुरस्कार कोश अभिवृद्धिका लागि कोशका संयोजक पवन आलोकलाई हस्तान्तरण गरे ।
कार्यक्रममा साहित्यकार विजय चालिसेले रोचक घिमिरेको व्यक्तित्वको चर्चा गर्दै घिमिरे नेपाली साहित्यिक क्षेत्रका ‘इन्साइक्लोपिडिया’ नै भएको उल्लेख गरे । घिमिरेले साहित्यिक पत्रकारिता मात्रै नगरेर तत्कालीन समयका केही चर्चित साप्ताहिक पत्रिकाहरूमा स्तम्भ लेखनकाअतिरिक्त सम्पादकीयसमेत लेखेको उनले बताए ।
विजयले भने, "अभिव्यक्ति साहित्यिक पत्रिका प्रकाशन सम्बन्धी छलफल पनि रोचक घिमिरेकै घरमा भएको थियो; शर्मा, प्रख्यात व्यंग्यशिल्पी भैरव अर्याल र शर्माका भाइ साहित्यकार जगदीश घिमिरेको उपस्थितिमा । यसरी अभिव्यक्तिको प्रकाशनमा घिमिरेको पनि योगदान रहेको छ ।"
कोशका संयोजक तथा अभिव्यक्तिका प्रधानसम्पादक पवन आलोकको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्रीओम रोदन, रामप्रसाद पन्त, देविका तिमिल्सिना, विधान आचार्य, किशोर पहाडी, शंकर भारतीलगायत व्यक्तिले शर्मा र घिमिरेको योगदान बारे बोलेका थिए ।
कोशका अनुसार नगेन्द्रराज शर्मा पत्रकारिता पुरस्कार अबदेखि हरेक वर्ष चैत २२ गते प्रदान गरिनेछ ।