काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभारमा सञ्चालनमा आएको सुक्खा बन्दरगाहले अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने बताएका छन् । मंगलबार चोभार बन्दरगाहको उद्घाटन गर्दै उनले बन्दरगाह निर्माणमा सहयोग गर्ने विश्व बैंकलाई धन्यवाद दिए ।
उनले वस्तु आयात–निर्यातमा सुक्खा बन्दरगाहको महत्त्व बढी रहेको भन्दै वैदेशिक व्यापारमा रहेको झन्झटिलो प्रक्रियालाई सहजीकरण गराउनुपर्ने बताए । सुक्खा बन्दरगाहले व्यापार लागत घटाउन सहयोग गर्ने उनले बताए ।
“व्यापारमा अझै पनि झन्झटिलो प्रक्रिया रहेको छ । यसमा कमी ल्याउनुपर्नेछ । त्यसका लागि यस्ता अत्याधुनिक सुक्खा बन्दरगाह निर्माणमा लगानी बढाउनुपर्नेछ,” उनले भने । यस्ता ठूला पूर्वाधारबाट निर्यात बढाउँदै व्यापार घाटा कम गर्दै लैजान सकिने उनले बताए ।
उनले मुलुकमा औद्योगिक र लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए । “आयात निर्यातमा लागत घटाउन खाँचो छ । वैदेशिक व्यापारलाई प्रक्रियागत सरजीकरण गर्न आवश्यक छ,” उनले भने, “स्वदेशी कच्चापदार्थमा आधारित क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह पनि गर्छु ।”
सुक्खा बन्दरगाहलाई रेलमार्गसँग जोड्नुपर्ने कुरा उठाइएपछि प्रधानमन्त्री देउवाले भने, “रेल बनाउन धेरै लगानी लाग्ने भएकाले दातृनिकायबाट सस्तो दरमा ऋण वा अनुदानमा बनाउन सकिन्छ, त्यसमा सरकार अगाडि बढ्नेछ ।”
अर्थमन्त्री जनार्दन शर्माले सडकबाट काठमाडौं सिधै समुद्रसँग जोडिएको बताए । यसले व्यवसायीको लागत घटाउने र यहीँ सिधै भन्सार जाँचपास हुने बताए । यो आयातको केन्द्रविन्दु नभई निर्यात प्रवर्द्धन हुनुपर्नेमा उनले जोड दिए ।
“हामीले संकल्प गर्नुपर्नेछ कि यो बन्दरगाह आयात प्रवर्द्धन नभई निर्यात प्रवर्द्धनमा केन्द्रित हुनेछ,” उनले भने ।