site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकाको बाटोमा छैनौं, तरलता समस्या चर्काउन यसपटक सबैपक्ष खटेर लागे 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मुलुकको आर्थिक अवस्था दिनप्रतिदिन संकटोन्मुख रहेको अर्थविद्, निजी क्षेत्रले बताउँदै आएका छन् । लगानीयोग्य पुँजी अभाव, बढ्दो व्यापार घाटा, घट्दो रेमिट्यान्स, आयातित मुल्यवृद्धि, बढ्दो ब्याजदर, पुँजीगत खर्चको दयनीय अवस्थालगायतका कारणले अर्थतन्त्र संकटोन्मुख रहेको बताइन्छ । यस्तै अवस्था रहिरहे नेपाल श्रीलंकाको अवस्थामा पुग्ने समेत केही विज्ञको टिप्पणी छ । राष्ट्र बैंकका केही अधिकारीहरु अहिलेको अवस्था साच्चिकै चिन्ताजनक भएको बताइरहेका छन् ।
अहिले मुलुकको आर्थिक अवस्था कस्तो हो त ? के नेपाल श्रीलंकाकै बाटोमा गएको हो ? के कारणले लगानीयोग्य पुँजीको अभाव चर्कियो ? समाधानको उपाय के छ ? लगायतका विषयमा पूर्व अर्थसचिव रामेश्वर खनालसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश :

मुलुकको वर्तमान आर्थिक अवस्था कस्तो पाउनु भएको छ ?

कोभिड–१९ को प्रकोपका कारणले सुस्त बनेको अर्थतन्त्र अहिले तंग्रिने क्रममा छ । उद्योगहरूको उत्पादन क्षमता र उत्पादन बढेको देखिएको छ । पूरै शिथिल भएको निर्माण र पर्यटन क्षेत्रको गतिविधि पनि बढेको छ । चालू आर्थिक वर्षको सात महिनासम्ममा निर्यात अघिल्लो वर्षको यही अवधिको तुलनामा ८८ प्रतिशतले बढेको छ । बजेटमा अनुमान गरिए जति आर्थिक वृद्धि त नहोला, तर उपलव्ध तथ्यांकको आधारमा मोटामोटी ५ प्रतिशतसम्मको वृद्धि हुनुपर्छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अवरुद्ध अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला अझै सहज नभएकोले मूल्य वृद्धिमा चाप पर्ने अनुमान थियो, तथापि माघसम्मको तथ्यांक हेर्दा मुल्यवृद्धि दर वान्छित सीमाभित्र नै छ । समष्टिगत अवस्था त्यस्तो खराब होइन । नेपाल राष्ट्र बैंकले महामारीले संकटमा परेका व्यवसायलाई राहत दिन मौद्रिक लचकताको नीति लियो, जुन तत्कालका लागि ठिक थियो, तर समयमै फेज आउट नगरेर अलि लम्ब्याएकाले केही समस्या देखिएको पक्कै हो । 

शोधनान्तर स्थिति चालू वर्षको प्रारम्भदेखि निरन्तर घाटामा छ । वैदेशिक मुद्राको संचिति ह्रासोन्मुख रह्यो । एकातिर लचिलो मौद्रिक नीति र अर्कोतिर उच्च दरको कर्जा प्रवाहले यी समस्या आएका हुन् । 

Royal Enfield Island Ad

हाम्रो अर्थतन्त्र पनि श्रीलंकाको बाटोमा गयो भन्ने सुनिन्छ । श्रीलंकाकै बाटोमा मुलुकको अर्थतन्त्र गएको हो ?

यो व्याख्या अलि नै अतिशयोक्ति हो । श्रीलंकाले अलि लामै समयदेखि नै वित्तीय सन्तुलन गुमाउँदै आएको हो । यो आर्थिक वर्षमा श्रीलंकाको कुल सरकारी खर्चको ४९ प्रतिशत जति त ऋणको साँवा–ब्याज भुक्तानीमा जान्छ । कुल राजस्वले ऋणको साँवा ब्याज तिर्न पनि पुग्दैन । चुनावमा घोषणा गरेको लोकप्रियतावादी वाचाअनुरुप वर्तमान सरकारले दुई वर्षजति अघि मूल्य अभिवृद्धि कर १५ प्रतिशतबाट वित्तीय सेवा बाहेकका प्रायः सबै वस्तु तथा सेवामा ८ प्रतिशतमा झार्यो । 

राष्ट्र निर्माण करको नामबाट लगाएको कर पूरै हटायो । राजस्व आम्दानी कुल गार्हस्थ्य उत्पादनको ९ प्रतिशत जति छ जबकि वित्तीय घाटा ११ प्रतिशत छ । ऋणको साँवा ब्याज तिर्न पनि नयाँ ऋण लिनुपर्ने अवस्था छ । कोभिड–१९ को कारण पर्यटन क्षेत्रबाट प्राप्त हुने विदेशी मुद्रा सुक्यो । निर्यात क्षमता विस्तार भएन, जसले गर्दा विदेशी मुद्राको संचय घट्दै गयो जबकी ऋण सेवाका लागि विदेशी मुद्राको खर्च बढ्यो । श्रीलंका यो स्थितिमा पुग्नुमा सरकार र नागरिक समाजको ‘कलेक्टिभ फेलर’ हो जस्तो लाग्छ । हामीले अहिलेसम्म वित्तीय सन्तुलन गुमाएका छैनौं । 

करका दरहरूमा वृद्धि नगरिकन पनि ठूलो मेहनतले हामीले कूल गार्हस्थ्य उत्पादनको तुलनामा राजस्व २३ प्रतिशत पुर्‍याएका छौं । राजस्वमा हामी लोकप्रियतावादी त रोजेनौं, बरू दिगो हुने प्रयत्न गर्‍यौं । सार्वजनिक खर्चका हकमा हामी अलि बढी नै लोकप्रियतावादी भएको हो जस्तो लाग्छ । भूकम्पपछिको पूनर्निर्माण र कोभिड–१९ सँग जुध्न हामीले वैदेशिक ऋण अलि बढी नै लियौं । तथापि हाम्रो बाह्य ऋण कूल गार्हस्थ्य उत्पादनको तुलनामा २१ प्रतिशत जति मात्र छ र कूल सरकारी ऋण ३८ प्रतिशत जति छ । जुन बढी होइन । हो, चालू खातामा आउने विदेशी मुद्राको स्रोत कमजोर बन्दै गएको र पुँजीगत खातामा विदेशी मुद्राको स्रोत बढाउन नसकेकाले तत्कालका लागि केही अप्ठ्यारो जस्तो भएको मात्र हो । 

लगानीयोग्य पुँजी अभाव, बढ्दो व्यापार घाटा, घट्दो रेमिट्यान्स, आयातित मुल्यवृद्धि, बढ्दो व्याजदर, पुँजीगत खर्चको दयनीय अवस्था, यसले हामीलाई कहाँ पुर्‍याउँछ ?

हाम्रो अर्थतन्त्रको आकार र आर्थिक गतिविधिको परिमाण हेर्दा लगानीयोग्य पुँजीको अभाव हो जस्तो लाग्दैन । कर्जा विस्तार भएबमोजिम आर्थिक वृद्धिमा योगदान पुगेको देखिन्न । माघ मसान्तसम्मको एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको असूल गर्न बाँकी कर्जा करिब एक हजार अर्बले बढेको छ । यो उच्च वृद्धि हो । बैंकको कर्जा असूली सन्तोषजनक देखिन्न, कालोसूचीमा ऋणीहरूको संख्या यो आर्थिक वर्षमा मात्र ५१ प्रतिशतले बढेको देखिन्छ । यो चिन्ताजनक हो । यो आर्थिक वर्षको सुरूमा ब्याजदर दबाएर तल राख्ने प्रयत्न नभएको भए अहिलेसम्म स्थिति सहज भैसक्थ्यो । बढ्दो ब्याजदर केही समयसम्म रहला त्यसपछि नयाँ सन्तुलन फेला पर्छ । 

हो व्यापार घाटा, घट्दो रेमिट्यान्स र न्यून सार्वजनिक पुँजीगत खर्च चिन्ता गर्नुपर्ने र समाधान खोज्नुपर्ने विषय हुन् । 

कोभिड–१९ पछि कर्जाको माग ह्वात्तै बढ्यो । बैंकहरूले कति पैसा संकलन गर्न सकिन्छ र कति प्रवाह गर्न सकिन्छ भन्ने सामान्य आंकलन पनि नगरेका हुन् ? जसको असर अहिले लगानीयोग्य तरलता अभाव भएको हो ? के कारणले गर्दा हामी यो अवस्थामा आइपुग्यौं ?

बैंकहरूको अत्यधिक नाफा मोहले पनि अहिलेको अवस्था आएको हो । क्षमता भन्दा बढी लगानी गर्न चाहने प्रवित्ति देखिएको छ । नियमनकारी सीमा तोड्ने प्रयत्न भएको छ । बैंकहरूले वित्तीय स्थायित्व राख्ने कुरालाई ध्यान दिएनन् । अत्यधिक नाफामोह समस्त व्यावसायिक जगतमा पनि छ । 

अत्यधिक मुनाफा मोहले सस्तो कर्जाको दुरुपयोग भयो, यसैको लागि कर्जाको अत्यधिक माग भयो । तरलता अभाव अत्यधिक कर्जाले भएको होइन । यसको प्राथमिक कारण विदेशी मुद्राको स्रोत घट्नु र आयात बढ्नु हो । सरकारी खर्च कम समयमै नभएकोले पनि तरलता अभाव चर्किएको हो । आयातमा जाने कर्जामा बैंकहरू अलि संयमित भएको भए र नेपाल राष्ट्र बैंकले प्रारम्भिक संकेत देखिने वित्तिकै मौद्रिक उपकरणहरूको प्रयोग गरेको भए समस्या चर्किने थिएन । 

तरलताको समस्या भयो कि बनाइयो ?

तरलता समस्या आफैँ हुँदैन । यो बनाइने हो र यसपाली समस्या चर्काउन सबै पक्ष खटेर लागे । 

कतिपयले कोभिडको बेलामा राष्ट्र बैंक बढी लचिलो हुँदाको परिणाम पनि भन्छन् नि...! पछि जब अर्थतन्त्र कठिन अवस्थामा आयो, त्यसपछि राष्ट्र बैंकले एकैपटक कडाई गर्दा आजको अवस्था आएको हुन सक्छ ?

मैले माथि नै भने, कोभिड लकडाउनको नकारात्मक प्रभाव कम गर्न लिइएको मौद्रिक लचकता ठीक थियो । 

यस्तो नीति धेरै लम्ब्याउन हुँदैनथ्यो । औषधि बढी सेवन गरे झन् नराम्रो हुन्छ । राष्ट्र बैंकले समस्याको कारण बुझे जस्तो लाग्छ । र, अहिले लिँदै गरेको अडानले सकारात्मक परिणाम ल्याउने आशा गर्न सकिन्छ । 

अदृश्य कारोबार मौलाएको हो ? विदेशिनेको संख्या बढेकै छ, तर रमिट्यान्स घट्दो छ । यस्तो अवस्था किन देखियो ? 

बाहिर जाने कामदारको संख्या बढे पनि तुलनात्मक रुपमा रेमिट्यान्स घटेकोले केही रकम अदृश्य कारोबारतिर गएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । रेमिट्यान्सको स्थानीय भुक्तानीमा राष्ट्र बैंकले वैकल्पिक प्रबन्ध गरेकाले यसलाई बढावा दियो ।

अहिले स्थानीय भुक्तानीको सीमा एक लाखबाट २५ हजारमा घटाइएको छ । तर बैंकिङ पहुँच विस्तार भएकाले एजेन्टमार्फत हुने स्थानीय भुक्तानी पूरै हटाउँदा विचलन धेरै नियन्त्रण हुन सक्छ । 

घट्दो मुद्रा संचितिले के कुरालाई संकेत गर्छ ? 

स्वाभाविक रूपमा यसले मुलुकको मौद्रिक स्थिति कमजोर हुँदै गएको देखाउँछ । यसका कारण थाहा नभएको होइन ।

त्यसकारण समाधान त्यति जटिल छैन । पर्यटन क्षेत्र बढ्दै छ । यसैगरी निर्यात वृद्धिलाई सहयोग पुग्ने वैदेशिक लगानी बढाउन अहिले रहेका नीतिगत र प्रकृयागत अवरोधहरू कम गर्न आवश्यक छ । 

अहिलेको स्थितिले अलिकति भए पनि स्थानीय उत्पादन वृद्धि गर्न प्रोत्साहन मिलेको जस्तो देखिन्छ । कतिपय आयातमा निर्भर स्थानीय उपभोगका लागि नयाँ उत्पादनमुलक व्यवसाय सुरु भएका छन् ।  

हालको अवस्थामा सुधार ल्याउन कसले के गर्नुपर्छ ? मुलुकको अर्थतन्त्रप्रति सरकार विशेषगरी अर्थमन्त्री, राष्ट्र बैंकलगायत संवेदनशील छन् ? 

अर्थतन्त्रका नेतृत्वदायी निकाय नै अर्थतन्त्रको वर्तमान अवस्था प्रति संवेदनशील छैनन् भन्न त मिलेन, तर कतिपय अडान गलत देखिएका हुन् । कतिपय कुराहरू बोल्दा संयमित नभएकोले बजारले गलत प्रतिकृया जनाएको हो । अनावश्यक रुपमा बजेट र मौद्रिक नीतिमा ढिलाइले गर्दा पनि समस्या अलि गम्भीर बन्न गएको हो । ब्याजदर सम्बन्धि अडान पनि गलत थियो । 

आउँदो बजेटमा सरकारले कुन–कुन विषयमा बढी जोड दिएमा अर्थतन्त्रमा केही सुधार आउन सक्ला ? 

निश्चित रूपमा हामी श्रीलंका मार्गमा त छैनौं, तर विगत केही वर्षदेखि राजस्व र चालूखर्च बीचको तालमेल बिग्रिँदै गएको छ ।

वैदेशिक ऋण भार बढ्दै छ, तर आयोजनाहरू समयमा सम्पन्न हुन नसकेर प्रतिफल प्राप्त भएको छैन । आगामी बजेटमा लोकप्रियतावाद त्यागेर अर्थतन्त्रको दीर्घकालीन स्वास्थ्यको वित्तीय सन्तुलन कायम गर्न ध्यान दिन आवश्यक देख्छु । त्यसैगरी नयाँ पूर्वाधारका आयोजनाहरू प्रस्ताव गर्नुभन्दा अहिले सञ्चालनमा रहेका आयोजनाहरू सम्पन्न गर्न ध्यान दिन आवश्यक छ ।

वित्तीय संघीयतामा सशर्त अनुदानले स्थानीय सरकारको खर्च प्रभावकारितामा असर गरेको देखिन्छ । निर्वाचनपछि नयाँ बन्ने स्थानीय सरकारलाई सहज हुनेगरी अनुदान दिने प्रक्रियामा परिमार्जन गरियो भने स्थानीय विकासको गति बढ्न सक्छ । 

अर्थमन्त्रीको अहिलेसम्मको काम कारबाहीलाई कसरी मूल्यांकन गर्नु भएको छ ? अब उहाँ कसरी अघि बढनुपर्ला  ? 

अर्थमन्त्रीको काम कारबाहीको मूल्यांकन त प्रधानमन्त्री र अर्थमन्त्रीको पार्टीले गर्ने हो । मैले नजिकबाट हेरेको छैन । बाहिरबाट मूल्यांकन गर्नु सतही हुन्छ । कतिपय कुराहरू उहाँले धेरै बोलेका कारण पनि चर्किएका हुन् कि जस्तो लाग्छ । 

युक्रेनमा भएको रसियाको आक्रमणले नेपाली अर्थतन्त्रमा कसरी र कस्तो प्रभाव पारेको छ ? 

यो अनावश्यक सैन्य आक्रमणको प्रभाव विश्वव्यापी रुपमा खास गरी पेट्रोलियम पदार्थ, प्राकृतिक ग्याँस र खाद्यान्न तथा खाने तेलको मूल्यमा देखिएको छ । 

कोभिड–१९ ले लथालिंग पारेको वैश्विक आपूर्ति शृङ्खलालाई यो सैन्य आक्रमणपछि झन् असहज बनाएको छ । यसको प्रत्यक्ष प्रभाव नेपालका उद्योगहरू र नागरिक जीवनमा पनि परेको छ । खासगरी युरोपेली मुलुकहरूले इन्धनका लागि रुसमाथिको निर्भरता घटाउन वैकल्पिक स्रोतहरूको खोजी गरेकाले इन्धनको बजारमा स्थायी परिवर्तन आउने छ, जसले हामीलाई लामै समयसम्म असर गर्न सक्छ । 

संघीयताले नेपालको अर्थतन्त्रलाई कस्तो असर पारेको अनुभव गर्नुभएको छ ?

संघीयताले खर्च बढायो भन्ने आम धारणा छ । केही सामान्यतया विश्वसनीय लाग्ने संस्थाले पनि खर्च बढेको तथ्यांक देखाएका छन् । तर हेरिएको के छैन भने सरकारले आफ्नो सेवाको दायरा र लोकप्रियतावादी चालु तथा प्रतिवद्ध खर्च बढाएका कारणले संघीयता नभए पनि यति खर्च हुन्थ्यो कि ! संघियता पछि स्थानीय सरकारको तहमा आर्थिक बेथिति र भ्रष्टाचार पनि बढ्यो भन्ने विश्लेषण छ । 

यथार्थ के हो भने संघीयताले खर्च बढेको होइन । सरकारले आफ्नो सेवाको दायरा बढाएको, लोकप्रियतावादी खर्च बढाएको कारणले खर्च बढेको हो । नागरिकको निकट रहेर काम गर्ने स्थानीय सरकारका कमजोरीहरू लुकाउन असम्भव भएकोले बेथिति बढेको जस्तो देखिएको हो । वास्तवमा स्थानीय सरकारको पछिल्लो तीन वर्षको अवधिमा स्थानीय पूर्वाधारको स्तरोन्नतिमा राम्रो काम भएको छ । स्थानीय सरकारबाट पाएको सेवाबाट धेरै ठाउँमा नागरिकहरूले सन्तुष्टि व्यक्त गरेका छन् । 

स्थानीय सरकारहरू आर्थिक गतिविधि विस्तारमा सहजकारी भूमिका निर्वाह गरेका छन् । यसले सकारात्मक प्रभाव पारेको हो । प्रदेश सरकारहरूले आफ्नो औचित्य स्थापित गर्न चुकेको हो कि जस्तो लाग्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro