
काठमाडौं । मुलुक स्थानीय तह निर्वाचनतर्फ अगाडि बढेको छ । निर्वाचनअघि मुलुकका प्रमुख दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आईजीपी फेरिँदै छन् ।
प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री आउँदो वैशाख १९ र सशस्त्रका आईजीपी शैलेन्द्र खनाल यही चैत २८ गते अनिवार्य अवकाशमा जाँदै छन् ।
स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदै छ । निर्वाचन सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी बलमा खनालको अवकाशपछि निर्वाचनसम्म दुईजना आईजीपी बन्नेछन् । हालका आईजीपी खनाल चैत २८ गते चारवर्षे पदावधिका कारण अनिवार्य अवकाशमा जानेछन् । उनीपछि एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकजनाले २१ दिनका लागि आईजी बन्ने अवसर प्राप्त गर्नेछन् ।
उनीहरूले वैशाख १९ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् । केसी र पौडेलमध्ये जो आईजीपी बने पनि २१ दिन मात्रै सशस्त्र प्रहरीको कमान्ड सम्हाल्ने अवसर पाउनेछन् ।

त्यसपछि फेरि सशस्त्र प्रहरीले नयाँ आईजीपी पाउनेछ । वैशाख १९ पछि बन्ने सशस्त्र प्रहरीको आईजीपीका लागि डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ । उनीहरू तीनैजना आईजीपीका बलिया प्रतिस्पर्धी हुन् । सशस्त्र प्रहरीमा हाल दुई एआईजी छन् ।
एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्यै एकजना २१ दिने आईजीपी हुँदा एआईजीको एक दरबन्दी खाली हुनेछ । खाली रहेको दरबन्दीमा डीआईजीहरू अर्याल, पौडेल र गौतममध्ये जसले बाजी मार्छन्, उनी नै सशस्त्रको आईजीपी बन्ने अवसर प्राप्त गर्नेछन् ।
सरकारले एआईजी नियुक्त गर्छ वा डीआईजीमध्येबाटै आईजीपी बनाउँछ टुंगो छैन । आईजीपी नियुक्ति मन्त्रिपरिषद्ले गर्ने भएकाले प्रधानमन्त्री र गृहमन्त्रीनिकट व्यक्ति नै बलियो उमेदवार हुनेछन् ।
सशस्त्र प्रहरी सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, शान्ति सुरक्षा कायम र विपद् व्यवस्थापनजस्ता महत्त्वपूर्ण कार्यमा परिचालित हुँदै आएको छ ।