site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पकै अगाडि मस्क र मन्त्रीबीच भनाभन !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार मन्त्रिपरिषद्को बैठक राखेका थिए । बैठक राख्नुको प्रमुखमध्ये एक उद्देश्य थियो– एलन मस्क र सरकारी खर्च कटौती गर्ने उनको प्रयासबारे छलफल । 
मिडिया रिपोर्टका अनुसार यस बैठकमा नेताहरूबीच चर्को बहस भएको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार मस्कले विदेशमन्त्री मार्को रुबियोलाई विदेश मन्त्रालयमा कर्मचारी कटौती गर्न असफल भएको आरोप लगाएका थिए ।

बैठकमा मस्कले रुबियोको कामको प्रशंसा गरेनन् । बरु उनले ट्रम्पका अगाडि रुबियोमाथि व्यङ्ग्य गर्दै भने, “उनी टीभीमा मात्र राम्रो छन् ।”  

बैठकमा एलन मस्क र यातायात मन्त्री शन डफीबीच पनि भनाभन चल्यो । यो बहस संघीय उड्डयन प्रशासनमा पहिले नै ट्राफिक नियन्त्रकहरूको अभाव रहेको तथ्यमा भइरहेको थियो । यस्तो अवस्थामा मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डीओजीई)ले यो संख्या पनि घटाउने प्रयास गरेको थियो ।

जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी एयरलाइन्ससँग सम्बन्धित दुईवटा दुर्घटना भएका छन्, जसका कारण डफीको मन्त्रालयमाथि थप छानबिन भइरहेको छ ।

रिपोर्टहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले बहसमा हस्तक्षेप गरेका थिए । उनले अझै डीओजीईप्रति आफ्नो समर्थन रहेको स्पष्ट पारे । तर अबदेखि निर्णय लिने काम मन्त्रीहरूसँग हुने र मस्कको टोलीले सल्लाह मात्र दिन सक्ने ट्रम्पले बैठकमा बताएका थिए । 

विदेश मन्त्रालयका प्रवक्ताले न्यूयोर्क टाइम्सलाई बताएअनुसार मन्त्रिपरिषद् बैठकमा छलफलहरू निकै राम्रोसँग भएको थियो । तर बीबीसीको जिज्ञासामा भने उनीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

बैठकपछि ट्रम्पले ओभल अफिसमा मन्त्रिपरिषद्का सदस्यहरूले कहाँ कटौती गर्ने भनेर निर्णय गर्ने, तर यदि उनीहरू त्यसो गर्न असमर्थ भए भने कटौती गर्ने काम एलन मस्कले गर्ने स्पष्ट पारेका थिए ।

“एउटा बैठक भयो । म मन्त्रिपरिषद्का सदस्यहरूले पहिले कटौती गरून् भन्ने चाहन्छु । उनीहरूले त्यसो गरे राम्रो हुनेछ, तर यदि उनीहरूले कटौती गरेनन् भने मस्कले गर्नेछन्,” ट्रम्पको भनाइ उद्धृत गर्दै समाचारमा जनाइएको छ । 

चक्कु प्रयोग गर्न सल्लाह

हतारमा आयोजना गरिएको यो बैठक राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनको प्रारम्भिक हप्ताहरूमा डीओजीईमार्फत स्पेसएक्स र टेस्लाका प्रमुख मस्कलाई दिएको व्यापक शक्तिलाई कम गर्ने निर्णयको प्रमाण हुन सक्छ ।

ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसलमा पनि उक्त बैठकको बारेमा टिप्पणी गरेका थिए । जुन कुरा पहिले नै मिडिया रिपोर्टहरूमा आइसकेको थियो । 

ट्रम्पले आफ्ना मन्त्रीहरूलाई ‘खर्च कटौतीका उपायहरू’मा डीओजीईसँग मिलेर काम गर्न निर्देशन दिएको बताएका छन् ।

“मन्त्रीहरूले आफ्नो मन्त्रालयमा काम गर्ने मानिसहरूलाई चिन्ने र बुझ्ने क्रममा को बस्ने र को जाने भन्ने बारेमा अझ सही निर्णय लिन सक्षम हुनेछन्,” ट्रम्पले लेखेका छन् ।

उनले ‘हथौडा’ होइन, ‘सर्जिकल चक्कु’ प्रयोग गर्नुपर्ने बताएका छन् ।

केही हप्ताअघि मात्र मस्कले कन्जरभेटिभहरुको सम्मेलनमा चम्किलो आरा मेसिन फहराएका थिए । यसलाई सरकारी खर्च कटौती गर्ने आक्रामक प्रयासको प्रतीकको रूपमा हेरिएको थियो ।

यो देखेर डेमोक्र्याटहरू रिसाएका थिए र ट्रम्प प्रशासनका केही अधिकारीहरू चिन्तित बनेका थिए । 

मस्कले दिए एकमुष्ट रकमको प्रस्ताव

एलन मस्कको टोलीले सरकारी खाताबाट देशभरका लाखौं संघीय कर्मचारीहरूलाई इमेलहरू पठाएको थियो ।  यसमा उनीहरुको राजीनामाको बदलामा केही महिनाको तलब (एकमुष्ट रकम) दिइने भनिएको थियो ।
यसका साथै कर्मचारीहरूलाई हप्ताभरि के काम गरे भनेर बताउन पनि निर्देशन दिइएको थियो । 

यदि उनीहरुले त्यसो गरेनन् भने उनीहरुलाई जागिरबाट बर्खास्त गर्ने धम्की दिइएको थियो । केही एजेन्सीहरूले आफ्ना कर्मचारीहरूलाई यो इमेललाई बेवास्ता गर्न भनेका थिए ।  डीओजीईले धेरै यस्ता नवनियुक्त सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने आदेश पनि दियो जसले पूर्ण रुपमा निजामती सेवा सुरक्षा प्राप्त गरेका थिएनन् ।

केही सरकारी निकायहरूले कर्मचारी आवश्यक परेको भन्दै यो आदेश रद्द गरेका थिए ।  यसमा आणविक हतियार सुरक्षाको जिम्मेवारी सम्हालिरहेका कर्मचारीहरू पनि समावेश थिए ।

के ट्रम्प अदालतको डरले पछि हटेका हुन् ?

शुक्रबार ओभल अफिसमा आयोजित कार्यक्रममा ट्रम्पले मन्त्रिपरिषद् बैठकको बारेमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।  बैठकको क्रममा भएको चर्को बहसको बारेमा पनि उनले जानकारी दिएका थिए ।

उनले बैठकमा ‘कुनै झगडा’ नभएकोमा जोड दिएका थिए । उनले मार्को रुबियो र मस्कको प्रशंसा गर्दै उनीहरुबीच ‘एकदमै राम्रो’ सम्बन्ध भएको बताए ।

बिहीबार ट्रुथ सोसलमा ट्रम्पको पोस्टपछि विभाग प्रमुखहरूले मस्कविरुद्ध जवाफी कारबाही गर्न बढी अधिकार पाएका छन् । यो ट्रम्प प्रशासनलाई मुद्दाहरुबाट जोगाउने प्रयास पनि हुनसक्छ । किनभने मन्त्रीहरुको तुलनामा सरकारमा एलन मस्कको शक्ति निकै बढी छ भन्ने आरोप छ । 

के मस्क र ट्रम्पको जोडी टुट्न सक्छ ?

यी मुद्दाहरू हेर्ने धेरै न्यायाधीशहरूले पहिले नै डीओजीई र अर्बपति मस्कलाई दिइएको व्यापक शक्तिका बारेमा चिन्ता व्यक्त गरिसकेका छन् ।  मंगलबार कंग्रेसलाई सम्बोधन गर्ने क्रममा ट्रम्पको टिप्पणीले यो चिन्तालाई अझ बढाउन सक्छ ।

मस्क र ट्रम्पले अहिलेसम्म बलियो साझेदारी प्रस्तुत गरेका छन्, जसमध्ये एक विश्वको सबैभन्दा धनी व्यक्ति हुन् र अर्को अमेरिकाको सबैभन्दा शक्तिशाली राजनीतिज्ञ ।

यो साझेदारी अन्ततः टुट्न सक्छ कि सक्दैन भन्ने बारेमा वाशिङ्टनमा महिनौंदेखि अनुमान लगाउँदै आइएको छ । यी अनुमानहरूका बीचमा दुई बीचको निकटताका नयाँ संकेतहरू पनि देखा पर्दैछन् ।

शुक्रबार राति मस्क राष्ट्रपतिसँगै एयर फोर्स वानमा चढेको देखियो ।  उनी सप्ताहन्तमा फ्लोरिडामा ट्रम्पको मार–ए–लागोस्थित घरमा हुनेछन् ।

बन्द ढोकाभित्र मन्त्रिपरिषद्को बैठकमा मस्क र मन्त्रीहरू बीच भएको यो चर्काचर्की ट्रम्प–मस्क मजबुत सम्बन्धमा देखा परेको पहिलो दरार हुन सक्छ । (बीबीसीबाट भावानुवाद)
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro