काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको शुक्रबारबाट जारी केन्द्रीय समिति बैठक मंगलबार सकिँदै छ । बैठकले चुनावी गठबन्धनको विषयमा निर्णय गर्ने र संसदीय समिति बनाएर सकिने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
मंगलबारको बैठकबाट पार्टीले संसदीय समिति बनाउँदै छ । केन्द्रीय संसदीय समिति २५ सदस्यीय हुन्छ । जसमा १३ जना पदाधिकारी रहनेछन् । यस्तै कोषाध्यक्षका लागि ठाउँ खाली राखिएको छ । ११ जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्न पाउने विधानको व्यवस्था छ ।
संसदीय समितिको काम निर्वाचनमा टिकट वितरण गर्नु हो । पार्टी विधानमा चार तहको संसदीय समिति रहने व्यवस्था छ ।
सभापतिले मनोनीत गर्ने ११ जनामा शेखर कोइरालालाई नसमेट्ने चर्चा कांग्रेस वृत्तमा छ । समितिमा बस्ने ११ सदस्यको टुंगो लगाउन सोमबार पदाधिकारीहरूको बैठक बसेको थियो ।
पार्टी महान्त्री विश्वप्रकाश शर्माले कोइरालालाई बाहिर राख्ने कुरामा सत्यता नभएको बताए । उनले संसदीय समितिमा कोइरालालाई सभापति देउवाले मनोनीत गर्ने जानकारी दिए ।
"शेखर डा. साप समितिमा रहनुहुन्छ । उहाँ बाहिर राख्ने कुरामा कुनै सत्यता छैन," उनले भने, "समिति भोलि बन्छ । ११ मध्ये जनामा को को राख्ने भन्ने टुंगो लागिसकेको छैन ।"
सोमबारसम्म जिल्ला पुगेर 'घर घर जाऔँ, कांग्रेस जिताऔँ' अभियानबाट फर्किएर आएका केन्द्रीय सदस्यबाट बैठकमा ग्राउन्ड जिरो रिपोर्टिङ सुन्ने काम सम्पन्न भएको छ ।
बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले पनि विचार राखिसकेका छन् ।