काठमाडौं । साहित्यकार वासु शशीको ८६औँ जन्मजयन्तीको अवसर पारेर वासु शशी स्मृति परिषद्बाट चार स्रष्टालाई सम्मानित एवम् पुरस्कृत गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले वरिष्ठ कवि शैलेन्द्र साकारलाई वासु शशी साहित्य सम्मान–२०७८ प्रदान गरे ।
कार्यक्रममा कवि राधेश्याम लेकालीलाई वासु शशी साहित्य पुरस्कार–२०७७, कवि मोमिलालाई वासु शशी साहित्य पुरस्कार–२०७८ र कथाकार ध्रुव मधिकर्मीलाई कुमार–सरस्वती साहित्य पुरस्कार–२०७८ प्रदान गरियो ।
कार्यक्रममा कर्माचार्यले संरचनाका दृष्टिले साहित्य र कला छुट्टाछुट्टै विधा भए पनि प्रत्येक विधाको सम्बन्ध मानवीय जीवनसँग जोडिने बताए । उनले कवि वासु शशी र समालोचक कुमार जोशीको सिर्जनामाथि चर्चा गरे ।
परिषद्का अध्यक्ष गणेश रसिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोविन्द गिरी प्रेरणा, प्रद्युम्न जोशी, यादव भट्टराईले बोलेका थिए ।
सो अवसरमा शारदा पत्रिकाको वासु शशी स्मृति अंक सार्वजनिक गरिएको थियो ।