हामी ढुुंगालाई ईश्वर मान्छौँ
कुनै जीवको त कुरै छाडौँ
मान्छे भएर मान्छेलाई गन्दैनौँ
ठूलाठालु बन्छौँ
तौलन्छौँ आफूलाई
गाडी, बंगला, पावर र पैसामा
हामीले चिन्तन गर्न छाड्यौँ
मानवीय संवेदनामा
चिन्तित हुन थाल्यौँ र लिप्त बन्यौँ
कामुकता, नशा र अहंको उन्मादमा
कतै बनाउँदै धर्मलाई व्यापार
गर्दै छौँ नाफा–नोक्सानको हिसाब–किताब
हिन्दु, मुसलमान, शिख, ईसाइ
यस्तै अनेक–अनेक भन्यौँ
तर, धर्मको मर्म
आत्मा एक परमात्मा एक
सत्य र अहिंसाको पाठ
बिर्सियौँ वा बुझ पचायौँ
र धकेलिँदै छौँ हिंसातिर
रुमल्लिँदै छौँ अन्धकारतर्फ
समय हो पर्खिन्न
बितेको पनि फर्किन्न
मृत्यु निश्चित
कहिले कहाँ
आउँछ अकस्मात् !
यो प्रकृति चिनौँ
प्राणीभित्रको सर्वश्रेष्ठ हामी
आउन बाँकी जीवन प्रेम बाँडौँ र प्रेमिल बनौँ ।
० ० ०
आमाभन्दा ठूलो ईश्वर हुन सक्तैन
लाखौँ ताराहरूको माझमा राखेर
जूनको शीतल छायामा राखेर
तिमीलाई शीतल दिने मन छ
जसरी नौ महिना कोखमा राखेर
प्रसव पीडा सहेर जन्माउँदा
आनन्दित र पुलकित भएकी थियौ
र, आफ्नो प्राणभन्दा प्यारो ठानेर
छातीमा टाँसेर
प्रेमले सुम्सुम्याएकी थियौ
संघर्षमा पटपट फुुटेका तिम्रा कुर्कुच्चाहरू
ठेला उठेर खस्रिएका तिम्रा हत्केलाहरूलाई
निर्मल जलले सिञ्चन गरेर
सप्तरंगी इन्द्रेणीको रङ भरेर
कलेटी परेका ओठमा
हिमगिरिको हाँसोजस्तो मुस्कान छर्नु छ
अनेकौँ कष्ट सहेर
अभावका पहाडहरूमा पनि
सन्तानलाई कहिल्यै
अभावको छायासम्म पर्न नदिने
आफ्नो पेटमा भोकको डोरी कसेर
अनेकौँ रहरहरू कुल्चिएर
सन्तानका रहरहरूमा
आफैँलाई समर्पित गर्ने
तिमी आमा हौ ! आमा हौ !
यो जगत्मा
आमाभन्दा ठूलो
ईश्वर हुनै सक्तैन ।
(गोठाटार, काठमाडौं)