काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । निर्वाचनमा होमिनका लागि माओवादी केन्द्रले दुईमहिने अभियान पनि सञ्चालन गर्दै छ ।
माओवादीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयानुसार दुईमहिने अभियान तय गरी ‘सर्कुलर’ समेत गरिसकेको छ । माओवादीले चुनावका लागि प्रदेशहरूमा कमान्ड गठन गरेको छ ।
अभियानअन्तर्गत संगठन सुदृढीकरण गर्ने तयारी पनि छ । त्यस्तै, सबै तहका कमिटीलाई पूर्णता दिइने भएको छ ।
विधानले व्यवस्था गरेअनुरूप सबै तहका ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार कमिटीहरू र परिषद्हरू गठन गर्ने, केन्द्र, प्रदेश र स्थानीय तहमा आवश्यक विभागहरू गठन गर्ने तयारी छ ।
सम्पूर्ण संगठित सदस्यहरूलाई कमिटीमा संगठित गर्ने र नयाँ पार्टी सदस्यता (संगठित र साधारण) वितरण गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । त्यस्तै, घर–घरमा सदस्य, टोल–टोलमा संगठन बनाउने नीति माओवादीको छ ।
“घर–घरमा सदस्य, टोल–टोलमा संगठन । एक टोल, एक सुरक्षा दल वाइएसीएलको नीति लागु गर्ने,” सर्कुलरमा भनिएको छ ।
अध्ययन सर्वेक्षण तथा विश्लेषणसम्बन्धी कार्यक्रमअन्तर्गत जिल्ला टिमको अगुवाइमा हरेक पालिकामा टोलीहरू गठन गर्न निर्देशन दिइएको छ । हरेक वडाहरूको राजनीतिक आर्थिक, सामाजिक अवस्थाको रिपोर्ट तयार गर्न भनिएको छ ।
यसैगरी, सूचना सञ्चार तथा प्रचारसम्बन्धी कार्यक्रमअन्तर्गत नगर, गाउँपालिका, वडा र टोलहरूमा सञ्चार तथा प्रसार शाखा, इकाइ र टोलीहरू गठन गर्ने उल्लेख छ ।
सामाजिक सञ्जालमा प्रचार समूहहरू निर्माण गरिने तथा अभियानका गतिविधिहरूको व्यापक प्रचारप्रसार गर्ने माओवादीको तयारी छ । सांस्कृतिक कार्यक्रमबाट पनि प्रचार गर्ने रणनीति माओवादीको छ ।
यस्तै, सत्ता गठबन्धनका घटकहरूसँग चुनावी तालमेलका लागि संघ, जिल्ला र पालिकास्तरमा टोली गठन गरी वार्ता र संवादको कार्यक्रम अघि बढाउने कार्यक्रममा उल्लेख छ । गठबन्धनसँग आवश्यकताअनुसार तालमेल गर्ने माओवादीको तयारी छ ।