काठमाडौं । महिलाको स्थितिबारे संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू)को ६६औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अमेरिका प्रस्थान गरेकी छन् ।
मन्त्री रेग्मीसँगै मन्त्रालयका सचिव, सहसचिव, महिला विज्ञ गरी ६ जनाको टोली अमेरिका प्रस्थान गरेको हो ।
महिलाको स्थितिसम्बन्धी आयोगको ६६औँ अधिवेशन संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कस्थित महासभा हलमा १४ देखि २५ मार्च २०२२ सम्म हुनेछ ।
सीएसडब्ल्यूले महिला अधिकारको प्रवर्द्धन गर्न, विश्वभरि महिलाको जीवनको वास्तविकतालाई दस्ताबेजीकरण गर्न र लैङ्गिक समानता र महिला सशक्तीकरणमा विश्वव्यापी मापदण्डहरू तयार पार्नमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
मन्त्री रेग्मीले लैङ्गिक समानता र महिला सशक्तीकरणमा जलवायु परिवर्तन, वातावरणीय र प्रकोप जोखिम न्यूनीकरण नीति र कार्यक्रमहरूले पारेको प्रभावको बारेमा धारणा प्रस्तुत गर्नेछिन् ।
कार्यक्रम सकाएर मन्त्री रेग्मीसहितको टोली २१ मार्च २०२२ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रीका प्रेस संयोजक राज कुमार लामाले जानकारी दिए ।