मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी फौजसँग लड्न सक्ने विदेशी स्वयमसेवकहरुको आवश्यकता रहेको बताएका छन् । रुसी सुरक्षा परिषदमा बोल्ने क्रममा पुटिनले भनेका छन् , “रुस समर्थित फौजसँग मिलेर लड्न चाहने स्वयमसेवकहरुलाई युद्धका लागि अनुमति दिइने छ ।”
रुसी रक्षामन्त्री सर्गेइ सोइगुले मध्यपुर्वमा रुसी फौजसँग मिलेर लड्न तयार १६ हजार स्वयमसेवक रहेको बताएका छन् ।
अमेरिकी अधिकारीहरुले यस्ता स्वयमसेवकमा सहरी युद्ध कौशलता प्राप्त सिरियालीहरु पनि हुन सक्ने बताएका छन् । मस्को लामो समयदेखि सिरियाको गठबन्धन मुलुक रहँदै आएको छ । पुटिन गृहयुद्धमा पिल्सिएको सिरियाका राष्ट्रपति बसार अल–असादका प्रमुख समर्थक रुपमा चिनिन्छन् ।
पुटिनले आफ्ना रक्षामन्त्रीलाई भनेका छन्, “यदि पैसाका लागि नभई आफ्नै इच्छाले युद्धमा उत्रेर कोही दोन्वासमा रहेका मानिसहरुलाई मद्धत गर्न आउन चाहन्छन् भने हामीले तिनीहरुलाई चाहेको चिज दिएर युद्ध क्षेत्रमा लानुपर्दछ ।”
यसैबीच सोइगुले कब्जामा लिइएका पश्चिमी टैंक भेदक क्षेप्यास्त्र प्रणालीहरु दोन्वास क्षेत्रको युक्रेनबाट टुक्रिएका लुहान्स्क र दोनेत्स्कमा रहेका रुस समर्थित लडाकुहरुलाई दिइनुपर्ने पुटिनलाई बताएका छन् । युक्रेनमा रहेका रुसी फौजले त्यहाँका विभिन्न क्षेत्रका नयाँ लक्षमा आक्रमण शुरु गरेपछि टेलिभिजनबाट प्रशारित रुसी सुरक्षा परिषदको यस बैठकमा स्वयमसेवकको प्रसंग निस्केको हो । युक्रेनको उत्तर पश्चिममा रहेको लत्स्क स्थित एउटा विमानस्थल र जेट इन्जिन कारखानामा रुसी फौजले आक्रमण गरेको छ ।
रुसी प्रतिरक्षा अधिकारीहरुले दक्षिण – पश्चिमी इभानो– फ्रान्किभ्स्क का विमानस्थलहरुमा पनि बमबारी गरिएको बताएका छन् ।
अहिले सम्म युद्धको कारण युक्रेन छाड्ने को संख्या २५ लाख पुगिसकेको छ ।