न्युयोर्क । संयुक्त राष्ट्रसंघका मानवीय मामिला प्रमुख मार्टिन ग्रिफिथ्सले सर्वसाधारणलाई युद्धग्रस्त क्षेत्रबाट भाग्न र त्यहाँ मानवीय राहत सहयोग सरल ढंगले उपलब्ध गराउनका लागि सुरक्षित मार्गको सुनिश्चतता गर्न युक्रेन र रुसलाई आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले दशौँ हजार मानिसलाई खाद्यान्न उपलब्ध गराइसकेका छन् । तर, सुरक्षा परिस्थितिका कारण केही स्थानमा खाद्यान्न पुर्याउन सकेको छैन । रुस र युक्रेन दुवैले सर्वसाधारणलाई सुरक्षित ढंगले युक्रेन छाड्ने अवस्था नदिएको भन्ने आरोप लगाइरहेका बेला ग्रिफिथ्सले यस विषयमा सम्बोधन गरेका हुन् ।
संयुक्त राष्ट्रसंघका लागि युक्रेनका राजदूतले रुसले बमबारी गरेर मानवीय करिडोरमा अवरोध पु¥याउँदै सर्वसाधारणलाई युरोपतर्फ भाग्न र मानवीय राहत सामग्री आपूर्ति रोकिरहेको आरोप लगाएका थिए । तर, यसको जवाफमा संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूतले रुसले नभई युक्रेन आफैँले ती सुरक्षित मार्ग दिन अस्वीकार गरिरहेको बताएका छन् ।
ग्रिफिथ्सले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का सदस्यहरूलाई आफ्नो कार्यालयले युक्रेनको सबैभन्दा नाजुक स्थानहरूमा मानवीय उद्धार प्रयासलाई सरल र सहज बनाउन एक टोलीलाई मस्को पठाइसकेको जानकारी दिएका छन् । बीबीसीबाट ।