विराटनगर । सुनसरीको धरानमा आयोजना हुने 'इस्ट टुरिजम मार्ट २०२२' लाई प्रवर्द्धन गर्न पर्यटन व्यवसायीको प्रतिनिधिमण्डल भारतको पश्चिम बंगाल र बिहारतर्फ प्रस्थान गरेको छ ।
सिलिगुडीमा शनिबारदेखि तीन दिनसम्म आयोजना हुने बंगाल ट्राभल मार्टमा पूर्वका व्यवसायीहरूले पूर्वको पर्यटन प्रवर्द्धन गर्न पुगेका छन् । सो मार्टमा विराटनगर, धरान, इटहरी, काकरभिट्टा, दमक, बिर्तामोडलगायत स्थानबाट पर्यटन व्यवसायीहरू सहभागी भएका छन् । मार्टमा नेपाल पर्यटन बोर्डले नेपाली व्यवसायीहरूका लागि स्टल उपलव्ध गराएको थियो ।
बंगाल ट्राभल मार्टमा भएको सहभागिताले पूर्वी नेपालको प्रवर्धनमा प्रभाव परेको इस्ट टुरिजम मार्टका संयोजक भविष श्रेष्ठले बताए । बंगाल ट्राभल मार्टमा पूर्वी नेपालका मुख्य ग्राहकहरू हुनसक्ने बंगाल सिक्किम र उडिसाका ट्राभल एजेन्टहरूसँगको प्रवर्धनले आफूहरू उत्साहित भएको श्रेष्ठले बताए ।
बंगाल ट्राभल मार्टमा सहभागी भएको सो टोली इस्ट टुरिजम मार्टको प्रचार प्रवर्द्धन गर्न बिहारको किशनगञ्ज पूर्णिया कटिहार र दरभंगा जाने भएको छ । बिहारका ती स्थानहरूमा गएर त्यहाका व्यवसायीहरूलाई मार्टको निम्तो दिने र पूर्वको प्रवर्धन गरिने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाटा) का प्रदेश अध्यक्ष उदय श्रेष्ठले बताए ।
इस्ट टुरिजम मार्ट २०२२ आगामी चैत ११, १२ र १३ गते धरानमा हुन लागेको छ । मार्टको यो तेस्रो संस्करण हो । सन् २०१८ र २०१९ मा आयोजना भएको मार्ट कोरोनाका कारण बीचका वर्षमा आयोजना हुन सकेको थिएन । कोरोनाको कारण ठप्प भएको पर्यटन व्यवसाय मार्ट जस्ता क्रियाकलापले गति लिन सक्ने संयोजक श्रेष्ठका भनाइ छ ।
बंगाल र बिहार भ्रमण कार्यक्रमको संयोजन नेपाल पर्यटन बोर्डले गरेको हो । यस्ता कार्यक्रमले व्यवसायीहरूमा ऊर्जा सञ्चार हुने र उत्साह बढ्ने बोर्डका प्रबन्धक उदय भट्टराईले बताए ।
भट्टराईले भने, “पूर्वका मुख्य आगन्तुक बिहारी र बंगाली हुन्, उनीहरूबीच भेटघाट र छलफलले पूर्वको पर्यटनमा सकारात्मक प्रभाव पर्नेछ ।”