राजविराज । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन हुँदै छ ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा छन् ।
सभापति पदमा उमेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहेका केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेको छ भने सभापतिका अर्का उमेदवार रहेका रामदेवलाई संघीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको बुझिएको छ ।
शत्रुधनको प्यानलबाट उपसभापतिमा रामप्रसाद मण्डल र फत्तेमहम्मद, सचिवमा प्रभुनारायण चौधरी र सनतकुमार मण्डल तथा सहसचिवमा घनश्याम साह घन्सी र मनोज खड्गाले उमेदवारी दिएका छन् । त्यस्तै, रामदेवको प्यानलबाट उपसभापतिमा रामकुमार यादव र ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादव तथा सहसचिवमा मो मुश्लिम र रामसुन्दर मण्डलको उमेदवारी परेको छ ।
निर्वाचन अधिकृत डा. रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कुल दुई हजार ५३५ मतदाता छन् ।
यसैबीच, दुवै उमेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यसअघि, फागुन २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकाले एक दिनपछि सारिएको थियो । रासस