site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रानीघाटदेखि सटुका  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बैंकको क्वाटरबाट हिँड्दा बिहानको लगभग पाँच बजिसकेको थियो । आकाश अघिल्लो दिनको जस्तो धमिलो थिएन । दुई हजार उनन्साठ्ठी सालको अन्तिम शनिबारको बिहान थियो । साथमा हुनुहुन्थ्यो राष्ट्रिय वाणिज्य बैंक पाल्पा शाखा कार्यालयमा कार्यरत कर्मचारी साथी झपट रानाभाट ।

हामी तल कालीगण्डकी किनारस्थित नेपाली ताजमहलको उपमा पाएको रानीघाट दरबारको लक्ष्यतिर लाग्दै थियौँ । तर, त्यसको लागि सिधा नओर्लिएर अलि छड्के–छड्के ओर्लंदै थियौँ ।

अर्चले गाउँमा एकजना कर्मचारी साथी बुद्धिबहादुरको घर छ । त्यसकारण बृद्धिबहादुरकहाँ पुगेर चिया पिउने र त्यसपछि फेरि रानीघाट झर्ने यात्रा सल्लाह हामीले अघिल्लो साँझ नै रचेका थियौँ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसकारण हामी बुद्धिबहादुरको घर–गाउँ अर्चले झर्दै थियौँ । नत्र रानीघाट पुग्न हामीले परैको ओरालो झरे हुन्थ्यो । त्यसो गर्दा पुगिन्थ्यो पनि चाँडै । तर, हामीले त्यसो गरेनौँ । किनभने, म यात्रापथको भ्याएसम्मको परिवेश भोग्न चाहन्थेँ ।

यात्राका हरसम्भव र उपलब्ध परिवेश र जीवन छाम्दै, हेर्दै र अनुभूतिको गति तीव्र बनाउँदै हिँड्न मजा हुन्छ । म रानीघाटको त्यो यात्रामा पनि यै मजा लुट्न खोज्दै थिएँ । त्यसकारण यो यात्राको लक्ष अर्चले पनि भयो । र, हामी बुद्धिबहादुरको घरमा पुग्यौँ पनि ।

Royal Enfield Island Ad

बुद्धिबहादुरको आँगन पुग्दा आँगनको एक छेउमा घाम पनि टुपुल्सिकेको रहेछ । आँगनमा पोथी कुखुराहरू र तिनका थुप्रै चल्ला दाना बटुल्दै थिए । आँगनमाथिको बारीको पाटोमा सुँगुर थुनिएका दुईवटा खोर पनि थिए ।

खोरहरूसँगैका किलामा बाख्राहरू बाँधिएका थिए । तिनका चार÷पाँच पाठापाठी, कुखुरा र तिनका चल्लालाई तर्साउँदै आँगनमा उफ्रिरहेको थियो । हामी बुद्धिबहादुर प्रकट हुने प्रतीक्षामा मध्य आँगनमा यिनैका चर्तिकला हेर्दै उभिरहेका थियौँ ।

एक छिनपछि घरभित्रबाट आँगनमा टुपुल्किएकी एक महिलाले हामीलाई देख्नेबित्तिकै झपटजीतिर हेरेर हात जोड्दै भनिन्, “नमस्ते सर...।”
“नमस्ते...।” भन्दै झपटजीले मलाई देखाएर ती महिलालाई भन्नुभयो, “उहाँ सर ! हाम्रो बैंकको मेनेजर साहेब...।”

अनि, झटपट अनुहारमा सम्मानभाव प्रकट गर्दै तिनले मेरो लागि पनि नमस्ते गरिन् । झपटजीले मेरो काननिर मुख जोडेर फुसफुसाउनुभयो, “बुद्धिकी श्रीमती ।” र, उनलाई सोध्नुभयो, “बुद्धि ख्वै त ? हामी आउँछौँ भन्ने चाल पाएर भाग्यो कि क्या हो ?”
“काँ सर पनि ! पछाडि गोठमा भैँसी दुहुँदै हुनुहुन्छ पो ।” झपटजीको शंकाको प्रतिकार गर्दै यसरी तिनले भनेपछि झपटजीले भन्नुभयो, “ल ठिक छ ।”

यसपछि बुद्धिबहादुरकी श्रीमती घरभित्र पसिन् । र, बेरेर राखेको गुन्द्री बोकेर बाहिर तुरुन्तै निस्किन् पनि । धुलो उडाउँदै पिँडीमा ओच्छ्याउन गुन्द्री पछारिन् । दुई–तीनवर्षे घामपानी र केटाकेटीका दिसापिसाब भोगिसकेको त्यो मैलो गुन्द्रीमा पलेटी कस्यौँ ।

कलिलो घाम आँगनभरि फैलिसकेको थियो । हाम्रा आँखा पूर्ववत् आँगनमा चारा खोजिरहेका कुखुरा, तिनका पछिपछि कुदिरहने चल्लाहरू र तिनलाई तर्साउँदै उफ्रिरहने बाख्राका पाठाहरूको दौडमा रमाउन थाले ।

हामीलाई त्यत्ति हतारो थिएन । त्यसकारण हामी बुद्धिबहादुरलाई कुर्न थाल्यौँ । सात–आठ मिनेटपछि बुद्धिबहादुर पनि ‘ओहो ! सरहरू त...’ भन्दै दूधले भरिएको बाल्टिन लिएर प्रकट भयो ।

बुद्धिबहादुरको पिँडीमा हामी दूध तताएर पिउन्जेलसम्मको थप समय बसेका थियौँ । वास्तवमा दूध हैन, हामीलाई चिया पिउन मन थियो । हामी त्यसैको आसमा थियौं । तर, दुर्भाग्य ! बुद्धिबहादुरको घरमा चियाको चलन नै रहेनछ ।

मैले ‘बुद्धि, अब हामीलाई चिया पिलाऊ’ भन्दा बुद्धिबहादुरले भनेको थियो, “सरहरू आउने थाहा पाएको भए त हिजै पाल्पाबाट चियापत्ती किनेर ल्याउने थिएँ नि !”

बुद्धिबहादुरको यै भनाइमा आफ्नो कुरो पनि थप्दै उसकी श्रीमती नरकलाले पनि सुनाइन्, “अलिकता चिया त पोको पारेर भित्र दलिनमा सिउर्या थिएँ, मुसाले कता कुदाएछ कता ! अस्ति ज्वाईं आउँदा पनि धुइँपत्ताल खोज्या थिएँ ।”
‘भैगो भाउजू, तातो दूध नै मिठो हुन्छ’ भन्दै हामी स्टिलको गिलासबाट दूध सस्वर सुर्कन थाल्यौँ ।

तातो दूधले भुँडी तताएर उठेपछि हामी घरपछाडिको बारीको कान्लैकान्ला ओर्लन थाल्यौँ । बुद्धिबहादुरको सल्लाहअनुसार बाटो छोटो पार्न हामीले त्यसो गरेका थियौँ ।

करिब पन्ध्र–बीस मिनेट त्यसरी उफ्रँदै ओर्लेपछि तल ठाडे नामको खोँचे खोलाको किनार पुगियो । त्यस खोलोबारे झपटजीले भन्नुभयो, “यो बराङ्दीमा मिस्सिँदै कालीगण्डकीमा पुग्छ सर ।”
“ए !”

हामी बराङ्दीमा मिस्सिँदै कालीगण्डकीसम्मको यात्रा गर्ने त्यस खोलाको किनारैकिनार, खोँचैखोँचको दायाँबायाँ बुट्टयानले घेरिएको साँघुरो गोरेटोमा हिँड्न थाल्यौँ ।

त्यसरी हिँड्न थालेपछि मेरो मन के–के न भेट्टाएजस्तो प्रफुल्ल हुन थालेको थियो । वास्तवमा, भेट्टाउन त त्यहाँ झारपात, हरिया बुट्ट्यान, दायाँबायाँका हरिया फुस्रा र नांगा डाँडा अनि पहाडी हावा र घामको न्यानो प्रकृतिबाहेक अरू विशेष दृश्य केही थिएन ।

तर, तिनै डाँडा, झारपात र बुट्ट्यानमा देखिएका चुत्रो र ऐँसेलुका बुट्ट्यानले मलाई आफ्नो जीवनको पहिलो दशकमा पुर्याएको थियो । मेरो सम्झनामा झल्किएका थिए त्यस बेलाका काठमाडौंका काँठ र मामाघर नुवाकोटका भीरहरू । जहाँ म तिनै चुत्रो र ऐँसेलु टिप्ने संघर्षमा घण्टौँ बिताउँदै मजा लिन्थे ।

हाकिम भएको बकमफुसे नाताले मलाई अगाडि लगाएर म पछिपछि हिँडिरहनुभएका झपटजीले यसबीच एउटा उपध्रो गर्नुभएछ । उहाँले गोरेटोछेउको तेलचाप्रे नामक एक रुख चढेर त्यसको स्याउला काटिरहेकी एउटी तरुनी केटीको गोडामा लुसुक्क चिमोटिदिनुभएछ ।

गीत गुन्गुनाउँदै एक सुरमा स्याउला काटिरहेकी त्यो केटी आफ्नो गोडामा अचानक के न केले टोकेको ठान्दै चिच्याएकी थिई । र, झपटजी आफ्नो उपद्रोको फलले चिच्याएकी केटीको स्वर सुनेर मरीमरी हाँस्न थाल्नुभएको थियो ।

उस्तै केटी भएकी भए झपटजीले झापड नभए पनि नराम्रो गाली त खानु हुने थियो, तर केटी झपटजीलाई ‘छ्या ! यो दाइ त... कस्तो तर्साइएदिएको ?’ मात्र भनेर चुप लागेकी थिई ।

केटीको निश्छल ग्रामीण विनम्रताले प्रभावित भएर झपटजीले पनि गल्ती स्वीकार्दै माफी माग्नुभएको थियो । अन्यथा, झपटजीको लाजमर्दो बिजोग हुने थियो । मैले पनि कडै स्वरमा झपटजीलाई सोधेको थिएँ, “के गर्दिनुभयो झपटजी त्यस्तो ?”  
झपटजीको जवाफ थियो, “केही हैन सर, यस्सो खुट्टामा चिमोटिदिया मात्रै हो ।”

जे होस् झपटजीको त्यस्तो चिमोटाइ गह्रौँ हुन पाएन । त्यसकारण हामी हल्का भएर हिँड्न पाएका थियौँ ।

झपटजीले गरेको त्यो अश्लील उपद्रोपछिको दश मिनेटजति हिँडेपछि हामी दुई–चार बुर्केन्चे घर र छाप्रा भएको अबल भन्ने ठाउँमा पुग्यौँ । अबलका ती घरमध्ये एउटा घरमा चिया पाइने सानो कदको पसल रहेछ । पसलकी महिलासँग मैले सोधेको थिएँ, “चिया छ बैनी ?”
“छ ।” हामीजस्तै ग्राहकहरू ढुकेर बसेकी ती महिलाले भनेपछि हामी पसलको गुन्द्रीमा बस्यौँ ।

साहुनी ध्वाँसोको चारपत्रे कालो जमेको महाकालो चियादानी चुलोको मुखमा थचारेर आगो फुक्न थालिन् ।
“साउ खोइ नि ?,” झपटजीले साहुनीसँग सोध्नुभयो ।
“हाम्रा बूढालाई चिन्नुहुन्छ र ?,” साहुनीले आश्चर्य मान्दै सोधिन् ।
“हैन, त्यसै सोध्या ।”
“ए...! अरब गा’छन् ।”
“हो र ? कति भयो ?,” झपटजीले मिति कोट्ट्याउनुभयो ।
“भो चार वर्षजति ।”
“पैसा त पठाइरहँदा होलान् नि !”
“पठाउँछन् नि !”
“कति पठाए ?”
“छपटक पठाइसके । तपाईंकै बंका’ आएर लिएकी थिएँ’नि, बिर्सनुभयो ?”
“सम्झ्या’छु, त्यसैले त सोधेको,” झपटजीले चलाखीपूर्ण जवाफ दिनुभयो ।

घरअगाडिकै बाटामा चारवर्षे र छवर्षे दुई भुरा खेलिरहेका थिए । झपटजीले कान्छोतिर देखाउँदै फेरि सोध्नुभयो, “यो बूढा अरब गएपछि जन्म्या हो कि क्या हो साहुनी ?” 
“हो, बूढा अरब जाँदा यो पेटमै थियो,” साहुनीले झपटजीको आशयविपरीतको जवाफ दिइन् । त्यसकारण झपटजीको सोधाइको दुराशय चिप्लियो । अनि मैले सोधेँ, “के नाम हो यसको ?”
“अरबबहादुर,” साहुनीले भनिन् ।
सुन्नेबित्तिकै झपटजीले आश्चर्य मान्दै भन्नुभयो, “अ...र...ब !”
“फुनमा बूढासँग कुरा हुँदा अरब नाउँ राख भन्नुभयो,” साहुनीले फेरि त्यही किसिमको सहज उत्तर दिइन् ।

हामीले अबलमा यस्तै रसिला गफ गर्दै र चिया पिउँदै आधा घण्टा बितायौँ । र, फेरि खोँचैखोँच अगाडि लस्कन थाल्यौँ ।

अलि अगाडि पुगेपछि दायाँबायाँका अग्ला पहाडहरूमा सिउँडीले रजाइँ गरेको देखिन थाल्यो । सबै डाँडाहरू सिउँडी नै सिउँडीले भरिएका, कुरूप र विरक्त लाग्दा देखिन्थे ।

सिउँडीबाहेक ती डाँडाहरूमा अरू कुनै बोटबिरुवाको अस्तित्व देखिएन । सिउँडीले भरिएको दाहिनेतिरको त्यस्तै एउटा कुरूप पाखो देखाउँदै झपटजीले भन्नुभएको थियो, “त्यो वनकसिया गुफा हो सर ।”

सिउँडीले सबतिर राज्य गरेको त्यस पाखोको त्यो गुफाको मुख पनि सिउँडीका सघन साम्राज्यले नै ढाकिएको थियो ।

त्यो यात्रापूर्व मैले सिउँडीका घारीले कुरूप बनेका पहाडहरू देखेको थिइनँ । त्यसकारण सिउँडीले कुरूप बनेका ती पहाडहरू मेरा लागि नयाँ संसारको प्राकृतिक दृश्य थिए ।

तर, हामी हिँडिरहेको हाम्रो यात्रापथको खोँच भने हरियोपरियोको वन थियो । अगाडि तिनै वनबीचको बाटोको एउटा आँपको रूख देखाउँदै झपटजीले भन्नुभएको थियो, “यो रूखको नाम मान्छेलोटन आँप हो सर । यो रूखले गर्दा नै यो ठाउँको नाम पनि मान्छेलोटन आँप भएको हो ।”

त्यसपछि सहज रूपमा त्यस मान्छेलोटन आँप रूखको खस्रो ढाडतिर मेरो हात पुगे । झपटजीले त्यसको नामकरणको इतिहास भन्न थाल्नुभयो ।

“सर, यो रूखमा लागेको अरिंगालको गोलामा आगो लगाउन लाग्दा अचानक तल खसेर एउटा सत्रवर्षे जवान केटोको मृत्यु भएको थियो । त्यस बेलादेखि यो रूखलाई यताकाले मान्छेलोटन आँप भन्न थाले र यसरी भन्दाभन्दा यो ठाउँको नाम पनि मान्छेलोटन आँप हुन गयो ।”

मान्छेलोटन आँपको नामले कुख्यात बनाइएको त्यो बदनाम रूखको सेरोफेरोबाट अगाडि खोँचैखोँच अरू केही बेर हिँडेपछि बाटैमा पसारिएको एउटा विशाल ढुंगाअगाडि हामी अडियौँ ।

हात्ती आकारको भान हुने त्यो हात्ती व्यक्तित्वको अग्लो ढुंगोलाई मुसार्दै झपटजीले भन्नुभयो, “यो हात्तीढुंगा हो सर ।”

त्यसपछि हामी त्यो हात्तीढुंगाको पुच्छरबाट चढेर त्यसको ढाडमा उक्लियौँ । त्यहीँ बसेर अबलदेखि त्यहाँसम्म आइपुग्दाको थकाइ मार्न थाल्यौँ ।

हात्तीढुंगोका छेउमा दुई छाप्रे घर थिए । छेउको घरभित्रको चुलोमा एउटी महिला केही पकाइरहेकी थिइन् । तिनलाई सुनाउँदै झपटजी कराउनुभएको थियो, “भात पाकेन दिदी, हामीलाई भोक लागिसक्यो !”

ती महिला पनि भित्रबाट त्यसैगरी कराएकी थिइन्, “पाक्दै छ, पाक्दै छ !”
फेरि झपटजी सोध्न कराउनुभएको थियो, “के पकाइ’रा त्यो ?” 
“के हुनु र उही कबेली त हो नि !,” भित्रबाट यस्तो जवाफ बाहिरिएको थियो ।

वास्तवमा ती महिला पाकेको फर्सी पकाइरहेकी रहिछन् । त्यसकारण जवाफ सुनेर जिस्क्याउँदै झपटजी फेरि कराउनुभयो, “मलाई त कबेली मन पर्दैन । सिकार छैन दिदी ?”
भित्रबाटै ती महिला चिच्याइन्, “छ्या ! त्यस्तो के भनेको होला, यो त बाहुनको घर हो । चिन्नु भएन कि के ?” 
अनि झपटजी माफी माग्न थाल्नुभयो, “हैन, त्यसै भन्द्या मात्रै हो दिदी, नरिसाउनुहोस् है ।” 
उनी पनि ‘रिसा’ छैन दाइभाइ हो’ भन्दै बाहिर पिँढीमा निक्लिइन् । उनको कूटनीतिपूर्ण यो सम्बोधनको प्रतिप्रश्न गर्दै हामीले सोध्यौँ, “ल भन्नुस् त, हामीमध्ये तपाईंको को दाइ, को भाइ होला ?”
रत्ती नसोची तिनले भनेकी थिइन्, “मेरो लागि तपाईंहरू दुवै दाइ ।”

ती बहिनीसँग केही बेर अरू फतर्किएपछि हामी हात्तीढुंगोबाट ओर्लियौँ । र, माडीको खोँचैखोँच अगाडि बढ्यौँ । हिँडाइ असजिलो र असुविधाको भए पनि बाटोमा केही न केही नयाँ दृश्य र अनुभूतिसँग भेट भइरहेको थियो । त्यसकारण यात्रा ऊर्जाशील भइरहेको थियो ।

हामी टुँगोतिर लम्किरहेका थियौँ । बाटाको चट्टाने पहाडको फेदमा पुगनपुग चार अंगुल कपेर बनाएको भित्ते कुलो भेटियो । अतिलघु चौडाइको त्यो कुलो त्यसरी चट्टान कप्दै रानीघाट दरबारसम्म पिउने पानी आपूर्तिको लागि पुर्याइरहेको रहेछ । वैकुण्ठे पाखाबाट झरेको पानीको केही अंश त्यस कुलामा उतारेर दरबारसम्म पुर्याइने गरिएको रहेछ ।

हामी पुग्दा त्यो कुलोमा पानी थिएन । तर, राता कमिलाका ठूलै ताँती ती कुलाको बिटैबिट अगाडि बढिरहेका थिए । दरबारमा पानी आपूर्तिको अर्को विकल्प पुगेपछि त्यो कुलोमा पानी कलकल बग्न बन्द भएको रहेछ । इतिहासको आश्चर्यपूर्ण धरोहरको प्राकृतिक सबुत थियो त्यो कुलो ।

हामी देब्रे भित्ताको त्यही कुलोसँगसँगै अगाडि बढिरहेका थियौँ ।

बिहान लगभग दश बजे हामी कालीगण्डकीको डिलमा पुगेका थियौँ । बराङ्दी खोलाको ठूलाठूला ढुंगो टकटक टेक्दै हामी त्यस डिलमा उक्लिएका थियौँ । कालीगण्डकीलाई मैले पहिलोपटक रिडीमा देखेको थिएँ ।

दृश्यावलोकनका लागि हामी उभिरहेको त्यो डिल कालीगण्डकीमाथि ओछ्याइएको झोलुंगे पुलको वल्लो मुखको डिल थियो । हामी त्यस डिलतिर नउक्ली अलि तेर्सो काटेर रानीघाट दरबारतिर उक्ले पनि हुन्थ्यो । तर, हामीले त्यसो गरेनौँ ।

हामी झोलुंगे पुलको मुखको त्यस डिलमा उक्लियौँ । त्यस डिलबाट देब्रेतिर मुन्टो बटारेपछि पर गण्डकीको उत्तर बाहिनी किनारको चट्टाने ढिस्कोमा नयाँ रङरोगनले सजाएको दरबार देखिन्थ्यो । हामी रानीघाट दरबार र कालीगण्डकीको सेरोफेरोको भूगोल र त्यसको मोहक प्रकृति हेर्दै थियौँ ।

त्यो भूगोलको सेरोफेरोतिर म अझ बढी मोहित र आशक्त हुँदै थिएँ । शासकनिकट एउटा हुनेखाने सामन्तको पत्नी प्रेमको चिनो मानिएको सामान्य वास्तुशैलीमा बनेको तथाकथित ताजमहल रानीघाट दरबार भन्दा पनि मलाई त्यसले रोजेको सुन्दर एकान्त प्रकृतिले प्रभावित गरिरहेको थियो ।

अगाडिको झोलुंगे पुलबाट कालीगण्डकीपारि सटुका गाउँ पुगिने रहेछ । कालीगण्डकीको किनारबाट लगभग छ सय फिट उचाइको थली परेको समतल भूगोलमा बसेको सटुका गाउँ र रानीघाट दरबारमध्ये पहिले कुन हेर्ने भन्ने छलफलबीच मैले झपटजीलाई भनेँ, “पहिले सटुका हेरौँ, अनि दरबार हेरौँला ।”

वरिपरिको प्रकृति र जनजीवन हेर्न–बुझ्न हामीसँग मनग्गे समय थियो । हाम्रो उद्देश्य पनि यै थियो । रानीघाट दरबार मात्र हेरेर फर्कने वाचा गरेर हामी निस्किएका पनि थिएनौँ ।

अझ म त रातै बास बस्नुपरे पनि भ्याएसम्मको सेरोफेरो हेर्न चाहन्थेँ । त्यसकारण मैले पहिले सटुका हेर्ने निर्णय गरेको थिएँ ।

वातावरणमा घामको ताप क्रमशः चर्किरहेको थियो । आकाशमा सूर्यलाई अवरोध पुग्ने बादलको कुनै टाटेपाटेसम्मको छेको थिएन । आकाशको सागर पूर्णतः नीलवर्णे थियो । हामी उभिएको त्यो ढिस्कोको छेउमा चिया, चुरोट र अन्य खिच्रीमिच्री पाइने एउटा पसल थियो । हामी त्यसकै मुखतिर फर्किएर उभिएका थियौँ ।

“त्यसो भए चिया पिएर सटुका लागौँला त, हुन्न सर ?,” झपटजीले भन्नुभयो ।

नहुने त कुरै थिएन । त्यसकारण हामी पसल बाहिर पसारिएको बेन्चमा मिठो चिया माग्दै बस्न पुग्यौँ । हाम्रो मागपछि खुसी भएर चिया बसाल्ने तरखरमा लागेकी लगभग पचपन्नवर्षे साहुनीको अनुहारको बनोट र सम्प्रेषणको भंगीमा हेर्दै मैले सोधँे, “तपाईं नेवार हो ?”
“हो ।”
“यहाँ बसेको कति भयो ?” 
“ससुराको पालादेखि नै हो ।”

साहुनीले चिया बनाएर दिएपछि चिया पिउँदै झपटजीले मसँग सल्लाह गरेर साहुनीलाई भातको पनि अर्डर गर्नुभयो ।

त्यसपछि हामी पारि सटुका जान झोलुंगे पुलतिर लाग्यौँ । वास्तवमा, मैले देखेको एकाध लामा र उचाइको झोलुंगे पुलमध्येको पनि लामो थियो कालीगण्डकीमाथि पसारिएको सटुका जोड्ने त्यो पुल ।

पुलबाट तल हेर्दा कालीगण्डकी निक्कै गहिरोमा सघन विस्तारले बगिरहेको सौम्य, नील सुन्दर देखिन्थ्यो । हामी वरिपरिको सम्पूर्ण प्रकृति हेर्दै र झोलुंगे पुलमा हिँड्नुको मजा लिइरहेका थियौँ ।

वास्तवमा, झोलुंगे पुल त्यो भेगको बासिन्दाको सुख थियो । यो पुल नहुन्जेल वारि र पारि बस्ने मानिसलाई आवतजावतमा कति कष्ट थियो भन्ने कुरा हामीलाई अगि नै पसलकी साहुनीले हाउभाउसहित सुनाइसकेकी थिइन् ।

हामी पनि त्यो सुखको मजा मान्दै पुल तर्दै पारि पुग्यौँ र उकालो चढ्न थाल्यौँ । किनभने, सटुका पुग्न पुल टुंगिएको ठाउँबाट अरू आठ–दश मिनेटजतिको उकालो चढ्नुपर्ने थियो ।

पाल्पाबाट ओर्लिएपछिको लामो उकालो हामी त्यही पुलको टुंगोबाट चढ्दै थियौँ । पन्ध्र मिनेटजति पाखो उक्लिएपछि सटुका पुग्यौँ र थाल्यौँ त्यसको परिक्रमा गर्न ।

भूगोलको हिसाबले थली परेको सटुका सघन फाँटजस्तो देखिन्थ्यो । त्यही फाँटमा बसेको थियो सटुका गाउँ पनि । गाउँका प्रायः सबै घरहरू पाण्डे बाहुनहरूका नै भेटिए । किनभने, हामीसँग कुराकानी भएका जोसँग तिनको नाम–थर सोधे पनि आफूलाई ती सब पाण्डे नै भन्थे । वास्तवमा, त्यहाँ घुमुन्जेल हामीले पाण्डेबाहेकको अरू थर नै भेटेनौँ ।

त्यो दिन हामीले सटुकामा भेटेको गाउँसमाजको अनौठो र रमाइलो पक्ष यो पनि थियो । भेटिएका सबै पाण्डेहरूले हामीलाई आदरपूर्वक व्यवहार गरे । सबले ‘आउनोस् बसौँ, यस बेला आउनुभएको छ भान्छा गरेर जानुहोला’ भन्याभन्यै गरे ।

हामीले पनि औपचारिक बाध्यतामा ‘पारि नै खाएर आएका हौँ’ भन्ने औपचारिक झुट बोली नै रह्यौँ ।

सटुकाको थली उत्तरतिरका विशाल फुस्रे पहाड र दक्षिणतिर कालीगण्डकीको भीरको किनारसम्म फैलिएको रहेछ । बाँकी दायाँबायाँ पनि त्यही किसिमले फैलिएको सटुकाको उर्वरताले त्यहाँका किसान गाउँलेलाई सुखी बनाएको रहेछ ।

कालीगण्डकीको पाखाको थली परेको त्यस किसिमको दुर्लभ पहाडी सुन्दर भूबनोटमा बसेको सटुकाको परिक्रमा हामीले सवा एक बजेसम्ममा सिध्यायौँ । त्यो दिन सटुका घुमेर नअघाउँदै हामीले सटुका छोडेका थियौँ ।

तर, सटुकालाई पूर्णतः छोड्नुभन्दा अगाडि कालीगण्डकी झर्ने सटुकाको पाखोको डिलमा बसेर हामीले अलि पर रानीघाट दरबार, त्यस वरिपरिको हरियो वनपाखो र कालीगण्डकीको गतिमा दूरदृष्टि दिँदै सुस्ताएका थियौँ ।

वास्तवमा, सटुकाको कालीगण्डकी तीरको त्यो भीरको ढिस्कोबाट रानीघाट दरबार हरियो वनछेउमा फुलेको लाउरे फूलको गुलाबी थुँगोजस्तो सुन्दर देखिन्थ्यो । तर, टाढाबाट त्यसरी हेर्दा रानीघाट दरबार जति सुन्दर देखिएको थियो, त्यति सुन्दर त्यसको दैलो परिसरमै पुगेर त्यसलाई नियाल्दा, छाम्दा, हेर्दा देखिएन ।

नजिक पुगेपछि त्यो सामान्य चोटाकोठा भएको ठूलो घरजस्तो मात्र लाग्यो । तर, दरबार भनिएको घर मनको सुन्दरताको प्रतीक त हो नै । त्यो सुन्दर प्रतीक टाढा सटुकाको भीरबाट हेर्दा वस्तुगत रूपमै पनि निक्कै सुन्दर देखिएको थियो ।

हामी सटुकातर्फको त्यो भीरको घाँसे ढिस्कोमा लगभग आधा घण्टा सुस्ताएर त्यही सुन्दर प्रेमप्रतीक हेर्नुको आनन्द लिइरहेका थियौँ । तर, समय र भोकको चापले गर्दा आधा घण्टाको त्यो आनन्दको क्षणलाई टिपेर हामी सटुकाबाट तल कालीगण्डकीको उही झोलुंगे पुल फर्कन थाल्यौँ ।

पुलपारिको मुखैमा बसेको त्यही पसलमा अडर मुताबिकको आलु र गोलभिँडाको तिख्खर झोलसँग अररो मोटो भात खाएर हामीले उदर शान्त गर्दासम्म केही डाँडाहरूमा अपराह्नको ओझेल परिसकेको थियो । त्यसकारण भाते अल्छीले गाँज्न नपाउँदै हामी तल बराङ्दीको छेउमा बसेको बस्ती झरेर त्यताबाट फेरि रानीघाट दरबारको ढिस्कोतिर उक्लन थाल्यौँ ।

तर, भनी नै हालेँ, मन्दिर, पाटी, बसाहा आदिले सजिएको दरबारको परिसरमा पुगेपछि टाढाबाट देख्दाको दरबारको त्यो सुन्दरता भेट्न सकिएन । भनिएजस्तो, प्रचार गरिएजस्तो सुन्दरताको प्रतीक नभएर दरबार सिर्फ इतिहासको साक्ष्यको रूपमा मात्र हाम्रो अगाडि ठडिएको थियो ।

तथापि, हामीले त्यस तथाकथित दरबारको चोटा, कोठा, बुर्जा, कौसी एकएक गरेर नियाल्यौँ । दरबारको उत्तर ढोकाबाट तल बग्दै गरेको कालीगण्डकीको पानी र त्यसको प्रवाह छुन तल किनारको ढुंगोसम्म ओर्लियौँ । त्यसपछि कालीगण्डकीको नीलो गतिलाई माथि दरबारको कौसीमा फर्किएर दृष्टि परख गर्न थाल्यौँ ।

वास्तवमा, दरबारबाट देखिने कालीगण्डकीको त्यो दृश्य मलाई अरूभन्दा उम्दा र अलौकिक लागेको थियो । मेरा लागि त्यस यात्राको एउटा सार्थक दृश्य थियो त्यो । त्यही दृश्यका लागि सायद दरबारको निर्माणस्थल त्यहाँ रोजिएको थियो ।

त्यो दृश्य आफ्नी पत्नी तथाकथित रानी तेजकुमारीको स्मृतिमा सार्वकालिक बनाउन खोज्ने सामन्त खड्गशमशेरको प्रयासले जुरेको थियो । अन्यथा, मजस्तो त्यो भूगोलबाट टाढाको मान्छे प्रकृतिको भण्डारको त्यो पानी, त्यसको रङ, गति र त्यसको अलौकिक सुन्दर दृश्यले महसुस गराउने भाव लहर र सौन्दर्य तरंगबाट वञ्चित नै हुन्थेँ ।

मेरा लागि दरबार त्यहाँ हुनुको सार्थकता नै यै थियो । योबाहेक मलाई दरबार परिसरभन्दा जनताको घरबारले सजिएको सटुकाको त्यो अनौठो प्राकृतिक भूमि लाख गुना राम्रो लागेको थियो । त्यसकारण, फर्कंदा मैले झपटजीसँग रानीघाटको भन्दा सटुकाकै भूगोल र जीवनविशेषको कुरा गरेको थिएँ ।

(रचनाकाल : २०६४)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro