काठमाडौं । लामो समयपछि पुनः इन्धन आपूर्ति बिथोलिने अवस्था सिर्जना भएको छ । नेपाल आयल निगमले बिहीबार १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको थियो । तर, निगम सञ्चालक समितिले पेट्रोलपम्प व्यवसायीलाई दिँदै आएको कमिसन प्रतिशतमा नभई ‘फ्ल्याट’मा दिने निर्णय गरेपछि व्यवसायी आन्दोलित बनेका हुन् ।
व्यवसायीले हिजो (बिहीबार) रातिदेखि इन्धन उठाएका छैनन् । जसका कारण लामो समयपछि इन्धन आपूर्ति बिथोलिने अवस्था आएको हो ।
निगमले आफूहरूले पाउँदै आएको कमिसन कटौती गरेपछि त्यसको विरोधमा इन्धन नउठाएको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए ।
निगम र व्यवसायीबीच प्रतिलिटर १५ पैसाको विषयमा कुरा नमिलेको हो ।
“निगम सञ्चालक समितिले हामीले पाउँदै आएको कमिसन काट्ने निर्णय गरेकाले त्यसको विरोधमा निगमको डिपोबाट इन्धन उठाएका छैनौँ,” अध्यक्ष प्रधानले भने ।
उनले प्रतिशतमा नै कमिसन पाउने पहिलेको व्यवस्था लागू नगरेसम्म इन्धन नउठाउने बताए ।
निगम प्रवक्ता विनितमणि उपाध्ययले पनि व्यवसायीले इन्धन नउठाएको बताए ।
“व्यवसायीले यसअघि प्रतिलिटर प्रतिशतमा कमिसन पाउँदै आएका थिए । निगम सञ्चालक समितिले प्रतिशतमा नभई ‘फ्ल्याट’ मा कमिसन दिने निर्णय गरेपछि व्यवसायीले इन्धन उठाएका छैन,” उनले भने ।
पछिल्लोपटक निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएको थियो । त्यसमा कमिसन नदिने निर्णय निगमले गरेको छ ।यसले निमगको भार प्रतिलिटर १५ पैसा कम पर्छ । सोही कारण निगम सञ्चालक समितिले यस्तो निर्णय गरेको उनले बताए ।
व्यवसायीले इन्धन नउठाए इन्धन बिक्री वितरणमा समस्या आउनसक्ने उनले बताए ।
उनकाअनुसार व्यवसायीले हिजो (बिहीबार) १२ बजेदेखि देशैभर निगमको डिपोबाट इन्धन खरिद गरेका छैनन् । तर, सरकारी पम्पहरूले भने इन्धन उठाइरहेका छन् ।