तास । युक्रेनमाथि रुसी आक्रमण जारी रहेकै बेला युक्रेनी पक्षसँग वार्ता गर्न रुसी प्रतिनिधि मण्डल बेलारुस गएको छ ।
सम्झौता अनुसार विदेश मन्त्रालय, रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालयसहित अन्य निकाय प्रतिनिधि सहभागि प्रतिनिधिमण्डल युक्रेनी पक्षसँग वार्ता गर्न बेलारुस पुगेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । “गोमेलमा कुराकानी सुरु गर्न हामी तयार छौँ,” उनले भने ।
रुसले फेब्रुअरी २४ देखि युक्रेनमा हमला गरिरहेको छ । उसले युक्रेनको असैनिकरण र ‘डिनाजीफिकेशन’ (गैर नाजीकरण) गर्ने बताएको छ ।
शुक्रबार कीभसँग सम्भावित वार्ताको अपेक्षाबीच सैन्य गतिविधिलाई निलम्बन गरिएको थियो तर युक्रेनले भाग लिन अस्वीकार गरेपछि शनिबार फेरि सुरु भयो ।
यसअघि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको कार्यालयले तटस्थ स्थितिका साथै यसको सुरक्षाको ग्यारेन्टीको प्याकेजबारे पनि छलफल गर्न सक्ने बताएका थिए ।
बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले शनिबार मिन्स्क वार्ताका लागि स्थान उपलब्ध गर्न तयार रहेको बताएका थिए ।