काठमाडौं । विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला स्वदेश आएर पुनः विदेश फर्कन पाउने भएका छन् ।
वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ बमोजिम बाधा अड्काउ फुकाउ अधिकार प्रयोग गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा रहेका नेपाली महिला स्वदेश फर्किएर पुनः विदेश जान पाउने गरी निर्णय गरेका हुन् ।
यसअघि, विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा काम गरिरहेका र पछि अवैध रूपमा गएका महिला परिवार भेट्न नेपाल आउन सकिरहेका थिएनन् ।
खाडीलगायत देशमा महिला कामदार पठाउन प्रतिबन्ध लगाइए पनि महिलाहरू अनौपचारिक मार्ग प्रयोग गरी विदेशिने गरेका छन् । त्यसरी गएका महिलाहरू जबरजस्ती श्रम र बेचबिखनजस्ता जोखिममा पर्दै आएका छन् ।