काठमाडौं । गोल्डेन गेट कलेजले बिहीबार लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
तीन टिम रहेको समूह ‘डी’को लिग खेलमा गोल्डेन गेटले क्याम्पियन सोलोलाई ७७–६३ को स्कारेमा पराजित गर्दै समूह विजेता बनेको हो । गोल्डेन गेटका कर्मा गुरुङले २७ अंक जोडे । क्याम्पियनका मनीष राजोपाध्यायले १७ स्कोर गरे । पहिलो खेलमा गोल्डेनगेटले एसीसीएसलाई हराएको थियो ।
पहिलो क्वार्टरमा १६–१४ को अग्रता लिएको गोल्डेन गेट दोस्रो क्वार्टरमा १३–१४ ले पछि परेको थियो । गोल्डेन गेटले तेस्रो क्वार्टर १६–१२ र चौथो क्वार्टर ३२–२३ को स्कोरले जितेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा रोयल बास्केटबल एकेडेमीले दोहोरो जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको महिलातर्फको खेलमा रोयलले बास्केटबल एकेडेमीले नेपाल पुलिस क्लबलाई ५१–५० को स्कोरमा हराएको हो । रोयल बास्केटबल एकेडेमीकी छिरिङ शेर्पाले सबभन्दा धेरै २४ अंक जोडिन् । पुलिस क्लबकी रोशनी श्रेष्ठले सबभन्दा धेरै १५ स्कोर गरिन् ।
तेस्रो क्वार्टर सकिँदासम्म नेपाल पुलिसले ३५–३३ को अग्रता लिएको थियो । अन्तिम तथा चौथो क्वार्टरमा रोयल बास्केटबल एकेडेमीले १८–१५ स्कोर गर्दै समग्रमा खेल १ अंकले विजय हासिल गर्यो । त्यसअघि रोयल बास्केटबल एकेडेमी सुरुका दुई क्वार्टरमा ६–११ र ९–१० ले पछाडि थियो । तेस्रो क्वार्टरमा रोयल बास्केटबल एकेडेमीले १८–१४ स्कोर गर्दै अन्तरलाई घटाएको थियो ।
पुरुषतर्फ पनि रोयल बास्केटबल एकेडेमीले जेभियर इन्टरनेसनल कलेजलाई ९८–६७ ले हराएको थियो । रोयल बास्केटबल एकेडेमीका विकास गुरुङले २२ तथा जेभियरका अनिश मगरले १५ अंक बटुले । रोयल बास्केटबल एकेडेमीले पहिलो क्वार्टरमा १५–१४, दोस्रो क्वार्टरमा २७–२१, तेस्रो क्वार्टरमा २८–२० र चौथो क्वार्टरमा २८–१२ स्कोर गरेको थियो ।