काठमाडौं । भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भनेर सुकुम्बासीसँग रकम लिई ठगी गरेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका–३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौं बूढानीलकण्ठ नगरपालिका– ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी छन् ।
काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित भेटघाट क्याफेमा २ जना व्यक्तिहरुले सुकुम्बासीहरुलाई जग्गा वितरण गर्छौं, फाराम भर्नुपर्छ भनी पैसा असुल गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ल्यापटप, प्रिन्टर १ थान, भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले भर्ने निवेदन फाराम लेखिएको फारमहरु, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरु, विभिन्न ब्यक्तिहरुको नाम तथा फोटोसमेत राखिएका रेकर्ड फाइलहरु, स्पिकर १ थान र मोबाइल ३ थानसमेत प्रहरीले बरामद गरेको छ ।
अनुसन्धानको क्रममा उनीहरुले आफूलाई भूमि आयोगले खटाएका ब्यक्तिहरु भनी परिचय दिई जग्गा प्राप्त गर्न जनही ५० हजार रुपैयाँको दरले माग गरी फारम भर्न लगाई ठगी गर्ने गरेको खुलेको छ ।