काठमाडौं । कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको भन्दै स्वास्थ्य मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्यमन्त्री खतिवडा र खोप प्रकरणमा संलग्न कर्मचारीलगायत व्यक्तिउपर छानबिन तथा कारबाहीको माग गर्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको हो ।
मन्त्री खतिवडासहित मन्त्रालयका कर्मचारीको संलग्नतामा २४ लाख डोज खोप गायब पारेर राज्यकोषको करिब २ अर्ब ४० करोड रकम हिनामिना गरेको आरोप उजुरीमा लगाइएको छ । “यति ठूलो मात्रामा खोप गायब हुनु संस्थागत भ्रष्ट्राचारको रुप हो । यो खोप मन्त्रालयको सेटिङमा नै गायब बनाइएको छ,” संघका अध्यक्ष किरण पौडेलले बाह्रखरीसँग भने, “त्यसैले यसको छानबिन हुनुपर्यो र दोषीलाई कडा कारबाही हुनुपर्छ ।”