काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो र ‘बुस्टर डोज’का रूपमा कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ । पहिलो डोज जनुसुकै खोप लगाएको भए पनि दोस्रो डोज सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विश्व स्वास्थ्य संगठन र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा यस्तो निर्णय गरेको पनि जनाएको छ । सो निर्णयानुसार कोभिसिल्ड, एस्ट्राजेनेका मोर्डना, फाइजर, भेरोसेल लगाएकाहरूलाई बुस्टर डोज एस्ट्राजेनेका वा कोभिसिल्ड खोप दिइनेछ ।
त्यस्तै, पहिलो डोज जुनसुकै खोप लगाएको भए पनि दोस्रो डोज सोही खोप उपलब्ध नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिइनेछ । यसरी पहिलो र दोस्रो मात्रा फरक–फरक खोप लगाउँदा कति प्रभावकारी हुन्छ भन्ने जनचासोको विषय बनेको छ ।
विश्वका अधिकांश मुलुकमा कोभिड–१९ विरुद्धको पहिलो र दोस्रो डोज एउटै खोप प्रयोग गर्ने गरेको पाइन्छ । तर, पछिल्ला अध्ययनहरूले खोपबारे विभिन्न नयाँ तथयहरू प्रमाणित गर्दै गएपछि बुस्टर डोजका रूपमा भने ‘मिक्स एन्ड म्याच’ अवधारणाअनुसार खोप दिइएको देखिएको छ ।
नेपालमा पनि विश्व स्वास्थ्य संगठनका विभिन्न अध्ययनहरूलाई आधार मानेर दोस्रो र बुस्टर डोजका रूपमा एस्ट्राजेनेका वा कोभिसिल्ड दिने निर्णय गरिएको परिवार कल्याण महाशाखाका पूर्वनिर्देशक डा. तारा पोखरेलल बताउँछन् ।
“अनुसन्धानको हिसाबले एस्ट्राजेनेका खोपबारे अलि धेरै अध्ययनहरू भएको पाइएको छ भने सिनोभ्याक खोपबारे पनि केही अनुसन्धान भएको छ । तर, नेपालमा सबैभन्दा धेरै नागरिकले लगाएको भेरोसेल खोपबारे भने खासै अनुसन्धानहरू भएको पाइएको छैन । तर, जहाँसम्म दोस्रो र बुस्टर डोज एस्ट्राजेनेका वा कोभिसिल्ड दिने सरकारको निर्णय छ, यसले व्यक्तिमा कुनै असर भने गर्दैन । किनकि, विश्वका अमेरिका, बेलायतलगायत मुलुकहरूले पनि मिक्स एन्ड म्याचको अवधारणामा खोप दिइसकेका छन् । यद्यपि, ती खोपको प्रभावकारिता कति र कस्तो भन्नेबारे अझै अध्ययन भइरहेको छ,” वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि दुई फरक–फरक खोप लगाउन मिल्ने र उत्तिकै प्रभावकारी हुने भएकाले यसरी खोप दिन लागिएको जनाएको छ ।