काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूबाट अतिरिक्त शुल्क असुलिएको भन्दै काठमाडौं मेडिकल कलेज र नोबेल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूको आन्दोलन स्थगित भएको छ । काठमाडौं विश्वविद्यालय (केयू)ले विद्यार्थीको शिक्षण शुल्कका नाममा विश्वविद्यालयको खातामा आएको अतिरिक्त शुल्क फिर्ता गर्ने र होस्टेललाई ऐच्छिक गर्ने निर्णय गरेपछि आन्दोलन स्थगित भएको हो छ ।
केयूले मंगलबार यस्तो निर्णय गर्दै होस्टेललाई ऐच्छिक गर्ने नियम संशोधन गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलमा समेत पत्राचार गरेको छ । केयूको सो निर्णयपछि नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँलगायत विद्यार्थी संगठनका पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् । काठमाडौं विश्वविद्यालय प्रशासनले ती मेडिकल कलेजलाई अनिवार्य रूपमा विद्यार्थीहरूलाई पठनपाठनमा संलग्न गराउन पनि निर्देशन दिएको छ ।
यी हुन् केयूले गरेका निर्णयहरू
१. अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने ।
२. छात्रावासलाई स्वेच्छिक गर्ने ।
३. होस्टेल शुल्क र अतिरिक्त शुल्क नबुझाएबापत पठनपाठनलगायत सुविधाबाट वञ्चित रहँदै आएका विद्यार्थीहरूलाई निःसर्त कक्षामा सामेल गराउने ।