पोखरा । गण्डकीका एक सांसदले आफू निर्वाचित भएयता पछिल्ला चार वर्षमा आफूले पाएका सबै सुविधा सामाजिक काममा खर्चिएका छन । गोरखा २ ‘क’ बाट निर्वाचित प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले निर्वाचित भएर शपथ खाएको भोलिपल्टै सांसदको सुविधा व्यक्तिगत काममा खर्च नगर्ने घोषणा गरेका थिए ।
सोही घोषणा अनुरूप उनले बर्सेनि आफूले पाउने सुविधाको खर्च विवरण सार्वजनिक गरेका हुन्छन् ।
मंगलबार उनले पछिल्लो वर्षमा सांसदको हैसियतमा पाएको ७ लाख ८२ हजार ३६२ रुपैयाँ सबै जनताको नाममा खर्चिएको बताएका छन । पत्रकार सम्मेलनमा उनले आफूले सांसद भएबापत पाउने उक्त रकममा झण्डै ६ लाख थप गरि १३ लाख ६३ हजार ८ सय रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका छन् ।
उनले गत वर्षको सुविधा स्वास्थ्यलाई प्राथमिकता दिई खर्च गरेको जानकारी दिए ।
उनले भने, “धेरै कोभिडका बिरामी छन् । उनीहरूका लागि अक्सिजन सिलिन्डर किन्ने क्षमता हुँदैन । कतिपयलाई एम्बुलेन्स झिकाएर अस्पताल पुर्याउने गरेको छु । कतिपयलाई पठनपाठन र सुत्केरी महिलाका लागि पनि सहयोग गरेको छु ।”
जनताको आवश्यकताअनुसार आफ्नो सुविधालाई मल्हम लगाउने काममा खर्चिएको उनको भनाइ छ ।
यो सहयोगले आफूलाई सन्तुष्टि मिलेको उनले बताए ।
“म पनि गोरखामा हलो जोतेको मान्छे हुँ । त्यहाँको समस्या र पीडा मलाई थाहा छ, जनतालाई सानो सहयोगले पनि ठूलो राहत दिने अनुभूति म आफैँलाई अनुभव छ । यसले मलाई आत्मसन्तुष्टि मिल्छ ।” उनले भने ।
आफ्नो यो कार्यले राज्यलाई पनि सहयोग पुगेको उनको भनाइ छ । सबै ठाउँमा राज्यले हेर्न नसकेको हुँदा जनप्रतिनिधि र सरकार छ है भन्ने जनतामा अनुभूति गराउन पनि यसले भूमिका खेल्ने दवाडीले बताए ।
फरक प्रसंगमा उनले संविधानले तोकेबमोजिम नै निर्वाचन हुनुपर्ने बताए ।