काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उतार–चढावका बीच दोहोरो अंकको गिरावट भएर बन्द भएको छ ।
मंगलबार बजार परिसूचक नेप्से १०.७८ अंकले घटेर २९३६.६६ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट भए पनि ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने ‘सेन्सिटिभ इन्डेक्स’ भने बढेको छ । सेन्सिटिभ इन्डेक्स १.१० अंकले बढेर ५४७.४७ अंकमा पुगेको छ ।
बजारलाई लिड गर्ने बैंकिङसहित होटेल तथा पर्यटन, अन्य र म्युचुअल फन्ड उपसूचकमा वृद्धि भएता पनि बिमा, हाइड्रोपावर, लघुवित्त, वित्त कम्पनी र विकास बैंक उपसूचमा गिरावट हुँदा नेप्सेमा समान्य गिरावट भएको हो । बैंकिङ, होटेल तथा पर्यटन, अन्य र म्युचुअल फन्ड उपसूचक १ प्रतिशतभन्दा माथिले बढेको छ ।
यता, विकास बैंक उपसूचक २.४७ प्रतिशत र वित्त कम्पनी उपसूचक २.६१ प्रतिशत, व्यापार उपसूचक २.६३ प्रतिशत, लगानी उपसूचक २.३८ प्रतिशत, उत्पादनमूलक उपसूचक २.३९ प्रतिशतले गिरावट हुँदा जीवन बिमा, निर्जीवन बिमा र लघुवित्त उपसूचक १ प्रतिशतमाथिले गिरावट भएको छ ।
दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा रहेका केही वाणिज्य बैंकहरूले उत्कृष्ट विवरण सार्वजनिक गर्ने देखिँदा वाणिज्य बैंकको सेयरमा लगानीकर्ता लोभिएका छन् । प्रभु बैंक, एनआईसी एशिया बैंक, एनसीसी बैंक, नेपाल एसबिआई एनएमबीलगायत बैंक लगानीकर्ताको रोजाइमा परेको छ ।
बजार परिसूचकमा करेक्सन भए पनि कराोबार रकम भने साढे ८ अर्बनजिक पुगेको छ । आज बजारमा १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४४ करोड ३४ लाख २० हजारको कारोबार भएको छ ।
आज पनि बजारमा लगानीकर्ताको रोजाइमा जलविद्युत् कम्पनी नै अगाडि रहेका छन् । अपी पावरको सर्वाधिक २८ करोडको सेयर कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको करिब २६ करोड र नेपाल दूरसञ्चार कम्पनीको २५ करोडभन्दा माथिको सेयर कारोबार भयो ।
आज नेप्सेमा कुल १८९ कम्पनीको सेयर कारोबारमा आउँदा ४५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । यस्तै, १४१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज कारोबार भएका मध्ये सामलिङ पावरको सेयर मूल्य ९.४९ प्रतिशत, मध्य भोटेकोसी जलविद्युत् कम्पनीको ८.११ प्रतिशत, बुद्धभूमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र वरुण हाइड्रोपावरको सेयर मूल्य ४.६६ प्रतिशतले वृद्धि भएको छ ।
यता, मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक ५ प्रतिशतले गिरावट हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ४.४७ प्रतिशत र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ४.४० प्रतिशतले घटेको छ ।