काठमाडौं । यही जनवारी ५ तारिखमा छिमेकी मुलुक भारतको राजस्थानमा एकजना ओमिक्रोन संक्रमितको मृत्यु भयो । उनी ७४ वर्षीय भारतीय नागरिक थिए । उनले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका थिए र खासै यात्रा पनि गरेका थिएनन् । यद्यपि, उनलाई मधुमेह र उच्च रक्तचापलगायत स्वास्थ्य जटिलता भने पहिलेदेखि नै थियो ।
“प्राविधिक रूपमा यो ओमिक्रोनसँग सम्बन्धित मृत्यु हो । तर, उनमा मधुमेह र अरू स्वास्थ्य जटिलताहरू थियो,” भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका सहसचिव लव अग्रवालले भनेका छन् ।
दक्षिण कोरियामा पनि नयाँ वर्षको सुरुतिरै दुईजना बिरामीको मृत्यु भयो । ९० वर्ष हाराहारी उमेर पुगेका उनीहरूमा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । तर, मृत्युको खास कारणबारे अनुसन्धान भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
अष्ट्रेलियामा पनि डिसेम्बरको अन्त्यतिर एकजना ८० वर्षीय वृद्धको ओमिक्रोन संक्रमणका कारण मृत्यु भयो । उनमा पहिलेदेखि नै जटिलखाले स्वास्थ्य समस्या रहेको चिकित्सकहरूले बताएका छन् ।
डिसेम्बर २० मा अमेरिकाको टेक्ससमा एकजना ओमिक्रोन संक्रमितको मृत्यु भयो । त्यहाँको स्वास्थ्य विभागको विज्ञप्ति अनुसार ५०–६० वर्षका ती व्यक्तिले खोप लगाएका थिएनन् । उनमा ओमिक्रोनका कारण स्वास्थ्य जटिलता उत्पन्न भएको थियो ।
अमेरिकामा नयाँ संक्रमितमध्ये ७० प्रतिशतभन्दा बढी ओमिक्रोन भेरियन्टको संक्रमण रहेको बताइएको छ । बेलायतमा डिसेम्बर २२ सम्ममा १४ जना ओमिक्रोन संक्रमितको मृत्यु भएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले खोप नलगाएका, वृद्धवृद्धा र दीर्घरोगीहरूमा ओमिक्रोनको उच्च असर रहने जनाएको छ । डब्ल्यूएचओका निर्देशक डा. माइक रायनले खोप नलगाएका, पहिलेदेखि नै जटिल रोगबाट गुज्रिएका वृद्धवृद्धाका लागि ओमिक्रोन उच्च घातक भएको र उनीहरूलाई यसले मृत्युसम्म पनि पुर्याउन सक्ने बताएका छन् ।
हालै डब्ल्यूएचओले आधा युरोपमा ओमिक्रोन फैलने चेतावनी दिएको छ । यद्यपि, प्रारम्भिक अध्ययनानुसार ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कम घातक रहेको बताइएको छ ।
एक साताअघि फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भेरानले डेल्टा भेरियन्ट संक्रमितलाई आईसीयूमा र ओमिक्रोन भेरियन्ट संक्रमितलाई परम्परागत शय्यामा राखेर उपचार गरिरहेको बताएका थिए । फ्रान्समा अहिले डेल्टा र ओमिक्रोनकै कारण संक्रमण उच्च विन्दुमा पुगेको छ ।
ओमिक्रोन भेरियन्ट पहिलोपटक पत्ता लागेको दक्षिण अफ्रिकाले पनि पुराना भेरियन्टभन्दा ओमिक्रोनको प्रभाव कम रहेको भन्दै प्रतिबन्धहरू खुकुलो पारेको थियो ।
हालै आएको एक अध्ययन रिपोर्टमा मेक्सिकोका स्वास्थ्य अधिकारीहरूले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा कम खतरनाक भएको पाइएको बताएका छन् । उनीहरूले त्यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् ।
त्यहाँ गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन् । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट द्रुत गतिमा फैलिएको छ ।
नेपालमा हालसम्म २७ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ओमिक्रोन संक्रमणका कारण कसैको पनि मृत्यु भएको रेकर्ड छैन । तर पनि संक्रमण जति धेरै मानिसमा फैलियो, अस्पताल भर्ना हुने सम्भावना उति बढ्ने इपिडिमियोलोजिष्ट डा. विराज कर्माचार्य बताउँछन् ।
“डेल्टामा १०० मध्ये २० जना सिकिस्त होलान्, तर त्यसको तुलनामा ओमिक्रोन बढी संक्रामक भएकाले डेल्टाको १०० को ठाउँमा ओमिक्रोनले ५०० जनामा संक्रमण फैलाउला । त्यसमा १०० मा चारजना मात्रै सिकिस्त हुनपुगे भने पनि कुरा उस्तै हुन आउँछ । यस अर्थमा पनि हामीले जनस्वास्थ्यका मापदण्ड र सतर्कतामा भने ध्यान दिनैपर्छ,” डा. कर्माचार्य भन्छन् ।