भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।
आज साँझ सम्पन्न अधिवेशनले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिए ।
बन्दसत्रभन्दा बाहिर बसेको केन्द्रीय नेता समेतको टोलीले छलफल गरी तय गरेर ल्याइएको नाम एमाले पोलिब्युरो सदस्य एवं बन्दसत्रका अध्यक्ष महेश बस्नेतले पढेर सुनाएको र त्यसमा कसैले विरोध नगरेपछि सर्वसम्मत भएको बन्दसत्रमा सहभागी एक नेताले जानकारी दिए ।
टोलीले बाहिरबाटै मनोनीत हुने १७ जना र सल्लाहकार समितिको समेत नाम टुंग्याएर ल्याएको र आजै शपथग्रहणपछि बस्ने पहिलो जिल्ला कमिटी बैठकले उक्त नामलाई अनुमोदन गर्ने कार्यक्रम तय भएको बन्दसत्रमा सहभागी नेताले जानकारी दिएका छन् ।
जिल्ला अध्यक्षमा वाग्मती प्रदेशसभा सदस्य शशिजंग थापा र सचिवमा मदनसुन्दर श्रेष्ठले दाबी गर्दै आए पनि हिजो र आज बन्दसत्रका अध्यक्ष एवं एमाले पोलिटब्युरो सदस्य बस्नेत, एमाले केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, प्रदेश सदस्य राजेन्द्र राजथलालगायतको अथक प्रयासले सर्वसम्मत नेतृत्व चयन गरेको बताइएको छ । रासस