काठमाडौं । न्याय माग्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेका आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार साँझ सहमति भएको छ । नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै अन्दोलनरत पक्षले दोस्रो चरणको आन्दोलनको ४१ दिनपछि सरकारबाट न्यायको आश्वासन पाएको हो ।
आन्दोलनको नेतृत्व गरिरहेकी महिला अधिकारकर्मी रूबी खानले आज माइतीघरमा पत्रकार सम्मेलन गरी सहमति भएको जानकारी दिएकी हुन् । गृह मन्त्रालयमा मंगलबार भएको वार्तामा सहमति जुटेपछि उनीहरूले आमरण अनशनसहित आन्दोलन स्थगित गरेका थिए ।
अधिकारकर्मी खानका अनुसार गृह मन्त्रालयसँग चारबुँदे सहमति भएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेमा दिएको जाहेरीबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत अनुसन्धान गरिने, साक्षी तथा अभियन्ताहरूको सुरक्षाको प्रत्याभूति, सरकारी प्रतिवेदन कार्यान्वयनमा प्रशासनिक सहयोग तथा सत्याग्रहसहितका आन्दोलन रोक्ने गरी चार विषयमा सहमति भएको छ ।
उनले न्यायका लागि आन्दोलन निरन्तर चलिरहने बताइन् । उनी भन्छिन्, “हाम्रो आन्दोलन स्थगित मात्र भएको हो । सीआईबी मागेका छौँ । सीआईबीमाथि पूरा विश्वास छ । हामीले न्याय पाउछौँ ।” खानसहितको टोली भोलि बाँके फर्किंदै छ ।
यसअघि, नेपालगन्जबाट २० दिन हिँडेर आई खानसहितका महिला अधिकारकर्मी १२ दिन अनशन बसेका थिए । चौतर्फी विरोधपछि सरकारले आन्दोलनरत पक्षसँग वार्ता गरेको थियो ।
त्यसपछि गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति बन्यो । उक्त समितिले गएको कात्तिक १४ गते गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो । जसमा नेपाली कांग्रेसका पूर्वसभासद बादशाह कुर्मीको भूमिका शंकास्पद रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको थियो । साथै, प्रतिवेदनले किटानी जाहेरीमा उल्लेखित अरू सातजनालाई पनि पक्राउ गरेर अनुसन्धान गर्न सुझाव दिएको थियो ।
किटानी जाहेरी र प्रतिवेदन दुवैमा उल्लेखित कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, रमेश थापा, पार्वती विष्ट, धीरेन्द्र सिंह र कुँवर बबन सिंह पक्राउ परेका थिए । तर, बादशाहलाई भने पक्राउ गरिएन ।
अधिकारकर्मी खान भन्छिन्, “छानबिन समितिले ल्याएको प्रतिवेदन कार्यान्वयन भएन । अबका दिनमा ती ढिलासुस्ती हुँदैन भनेको छ । सम्बन्धित निकायलाई परिपत्र गरिसकेकाले आन्दोलन स्थगित गरेका हौँ ।”
नन्कुन्नी धोबीको उनकै पति र आफन्त मिलेर हत्या गरेको तथा निर्मला कुर्मीको चार बिघा १० कट्ठा जग्गा हडप्न बादशाहले उनको ज्यानै समेत लिएको आरोप छ ।