काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पैतृक सम्पत्तिमा सन्तानको समान हक लागु गर्ने संकल्प गरेको छ ।
नेपालको संविधानमा पैतृक सम्पत्तिमा समान हक हुनेछ भन्ने व्यवस्था र मुलुकी देवानी संहिताको कानुनी व्यवस्था कार्यान्वयनका लागि माओवादी केन्द्रले संकल्प गरेको हो । माओवादी केन्द्रले पार्टीको आन्तरिक जीवनमा पूर्ण रूपमा कार्यान्वयनको संकल्प गर्दै कार्यान्वयनका लागि आह्वान पनि गरेको छ ।
“पैतृक सम्पत्तिमा बिनाकुनै भेदभाव सन्तानको समान हक हुनेछ भन्ने संवैधानिक व्यवस्था र देवानी संहितामा उल्लेख गरिएको कानुनी व्यवस्थालाई पार्टीको आन्तरिक जीवनभित्र पूर्ण कार्यान्यवन गरी राष्ट्रिय रूपमा लागु गर्न यो महाधिवेशन संकल्प र आग्रह गर्दछ,” माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट पारित ४५ बुँदे प्रस्तावको २० नम्बर बुँदामा भनिएको छ ।
माओवादीको संकल्पको परीक्षा नेताहरूले आफ्ना छोरासमान छोरीलाई अंश लगाएबाट हुनेछ । उनीहरूले छोरीलाई अंश दिए/नदिएको हेर्दै कार्यान्वयनमा उनीहरूले लिने कदमले राष्ट्रिय महाधिवेशनको संकल्पको परीक्षण हुनेछ ।