site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘क’ माने कछुवा 
Sarbottam CementSarbottam Cement

“कछाड बाँधेर कसार टोकेको बिर्स्यौ ? कसलाई कहाँ के कति भन्नुपर्ने हो, अलि सोचेर भन्नू ।” बुढीको कचकच फेरि सुरु भएजस्तो थियो फोनमा । खै कोसँग हो, त्यसको भेउ पाउनचाहिँ सकिनँ मैले ।

साँच्चै भन्ने हो भने सोध्न मन पनि लागेन । कहीँ नभएको नाता गाँस्दै मान्छे बटुल्न मन लाग्छ उनैलाई । अनि, सिन्को भाँचिएको निहुँमा पनि कचकच गर्नुपर्छ उनलाई ! तर के गर्नु, नसुनु भन्दा पनि उनको अवाज आइरहेको थियो, कानमा ठोक्किन ।

चिच्याइन् उनी फेरि, “कुन साइतमा तँजस्तो कुकुरसँग कुरा गर्न पुगिएछ । कुलंगार, कुजात ! तेरो कन्पारामा कर्कटले कालो डाम पार्नु पर्ने ।” उनको उत्तेजित स्वरले त्यतिखेरचाहिँ मलाई तान्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

उत्सुकतावश म नजिकै पुगे । उसको फोनवार्ता अझै सकिएको थिएन । उनी भन्दै थिइन्, “कालले कुत्कुत्याएको कुसुन्डो ! तँलाई मैले भेटुँ न मात्रै, मैले जानेको छु ।”

ड्याम्म ! ठूलै आवाज आयो उनले फोन राख्दा । रातो र तातो अनुहार अनि रिसले आँखाबाट रगत झर्लाजस्तो कालीझैँ उनको रूप देखेर म केही बेर शान्त नै बसेँ ।

Global Ime bank

करिब पन्ध्र मिनेटको मौनता भंग गर्दै सोधेँ उनलाई, “के भयो बुढी ! कोसँग बहुलाएकी त्यस्तो ?”

लामो सास फेरिन् उनले र भनिन्, “कसम खाएकी थिई त्यो कमलीले मसँग कर्जा लिने बेलामा, दुई महिनाभित्र नै फिर्ता गरिदिन्छु भनेर । दुई वर्ष भइसक्यो । अहिले माग्दा पनि कति करकर गरिरहेको भन्छे मलाई  त । अलि–अलि गरेर दिन्छु रे ! फेरि, आफूले कुरा नगरेर उसको लोग्नेलाई कुरा गर्न लगा’की । कहाँसम्म कि कालो नियत भएकी त ! मलाई त रिस उठेर आँखै देखिनँ । भन्देँ जे–जे मुखमा आयो त्यै–त्यै ! त्यसको लोग्ने होस् वा जोसुकै होस् ।”

मैले सम्झाउँन खोजेँ, “त्यसरी आवेगमा बोल्दा कहिलेकाहीँ बन्ने काम पनि बिग्रिन्छ बुढी । रिसलाई अलि काबुमा राख्न सिक । फेरि, तिमीलाई त्यसको स्वभाव थाहा हुँदाहुँदै किन दिएको उधारो ? गल्ती तिम्रै हो क्यारे !”

आफूलाई नै दोषी ठहराएको मन परेन उनलाई । सेलाइसकेको रिसको ज्वाला मतिरै तेर्स्याउन थालिन्, “कसले पढ्न सक्छ मनभित्रको कुरा ! हजुरलाई थाहा होला कमलीको स्वभाव । ऊसँग खुबै हेलमेल छ नि ! मन पनि पर्छ होला । म पो नराम्रो । किन मसँग बस्ने हो यस्तो मान्छेले । त्यही कुजातसँग गए भइहाल्यो नि ।”

उनको रिसले कमलीलाई मात्र नभएर अब मलाई पनि जलाउलाझैँ भयो । मैले मौनता नै एक मात्र समाधान सोचेँ र केही बोलिनँ ।

केही बेरसम्म उनको एकोहोरो फतफत आइ नै रहयो । कतिखेर उनी शान्त भइन्, मलाई हेक्का नै भएन ।

कर्जा लिएपछि फिर्ता गर्नुपर्छ भन्ने कुरा किन बिर्सिन्छन् मानिस, म सोच्न थालेँ । लिने बेलामा कस्ता–कस्ता कस्सम खान्छन् । तर, तिर्ने बेलामा एकपछि अर्को बहाना उर्लेरै आउँछ ! हरेक बहाना एउटा चलचित्रभन्दा फरक हुँदैन, कतिपय अवस्थामा । सायद कमलीले लिएको कर्जामा उसको लोग्नेले भोग्नुपरेको मेरो श्रीमतीको रिसका पछाडि पनि कुनै त्यस्तै बहाना लुकेको हुनुपर्छ । उधारो प्रेमको कैँची हो भन्छन्, तर कैँचीमा धार लगाउने क्रम उधारो लिएरै र दिनेले दिएरै बढाइरहेका हुन्छन् !

उनको प्रवेशले मेरो सोचमग्न ध्यान भंग भयो ।

“कस्तो कनिके चामल किनेर ल्याएको ! कसले ठग्यो ?” उनले के सोधिन्, मैले बुझिनँ एक छिन । मैले नबुझेको देखेर उनी भन्न थालिन्, “आज भनेको कुरा, गधाले भोलिपल्ट मात्रै बुझ्छ भन्थे । हजुर पनि त्यस्तै हुँदै जानुभएको छ । बुझाइ गधाको जस्तो अनि काम गराइ कछुवाको जस्तो !”

कैँचीजस्तो चल्ने त्यो थुतुनोबाट मलाई नै तीव्र प्रहार भइरहेको थियो । तर, म उत्तर दिन सकिरहेको थिइनँ । के गर्नु, गल्ती मेरै थियो । साहस बटुलेर भनेँ, “त्यही कलधारानजिकैको कालो ढोका भएको पसलबाट लेराएको, कनिके पो परेछ ? कस्तो करकाप गर्यो किन्ने बेलामा । नयाँ आएको कमलो धानको कति मिठो छ भन्यो !”

श्रीमती भड्किन्, “कम पैसा जाने कुन भनेर सोधेको होला ! हजुरको बानी थाहा छैन र मलाई ! एक नम्बरको कन्जुस हुनुहुन्छ । बिहानदेखि नै कमलीको कारणले कपाल दुखिरहेको बेलामा थप यो कनिका खानुपर्यो । हरे भाग्य !”

उनी भाग्यलाइ दोष दिँदै भान्छातिर लागिन् । म भने उनका शब्दहरूले उथलपुथल भएको दिमागलाई सम्हाल्न थालेँ ।

फोनको घण्टी बज्यो । ठूलो दाइ हुनुहुँदो रहेछ फोनमा । मैले दर्शन टक्र्याएँ । उहाँ भन्न थाल्नुभयो, “हेर बाबु, हामी त विदेशतिर लाग्ने सुुर कस्यौँ । यहाँ त केही गरे पनि उँभो नलागिने भयो । तँ कान्छोको अलि माया लागेर फोन गरेको । काइँलो र साइँलोलाई थाहा हुन नदेस् । तिनीहरू बाठा छन् । तँ तिनीहरूजस्तो हुन सकिनस् । तेरो, हाम्रो प्रगति देशकै प्रगतिजस्तो कछुवा चाल भइरहेको छ । यो कछुवाको गतिमा कति जिउनु ! साइँलो र काइँलोजस्तो अरूलाई उठीबास लगाई–लगाई आफ्नो दुनो सोझ्याउने कला हामीलाई कहिल्यै आएन । पुग्यो अब । छोरो पनि कमाइ भएन भन्छ, विदेश जान खोज्छ ।”

उहाँ रोकिनुभयो । म अत्तालिएझैँ भएँ । के भएछ ठूल्दाइलाई ! अचानक विदेश जाने कुरा गर्न थाल्नुभएको छ । मेरो एक मात्र अभिभावक उहाँ । बाको स्वर्गवासपछि उहाँले नै मलाई हुर्काउनुभएको । उहाँबाट नै मैले ‘क ख ग’ सिकेको । उहाँको विदेश जाने कुराले मलाई अघि श्रीमतीको व्यंग्यबाणले भन्दा पनि ठूलो घाउ लगाएझैँ महसुस हुन थाल्यो ।

ठूल्दाइ फोनमै हुनुहुन्थ्यो । सोधेँ, “के पर्यो त्यस्तो विदेशै जानुपर्ने ?” 
उत्तरमा उहाँले भन्नुभयो, “बाबु, यहाँ सबै कछुवा भए । काम गराइ कछुवासरह । स्वास्थ्य उपचार कछुवासरह । विकासका योजनाहरू कछुवासरह । शैक्षिक गतिविधि कछुवासरह । धारामा पानी आउने गति कछुवासरह । मेरो आफ्नै प्रमोसन पनि कछुवासरह भइरहेको छ । मभन्दा मुनिका कैयन् मभन्दा ठूलो पोस्टमा पुगिसके । मचाहिँ जहाँको त्यहीँ छु । कामको कदर पनि कछुवासरह भइसक्यो । एउटाले दुई वर्ष अगाडि लिएको ऋण अहिलेसम्म तिरेको छैन । त्यो तिर्ने क्रम पनि कछुवासरह छ । केही पनि आवश्यक गतिमा छैन । यस्तो ठाउँमा हामी पनि कछुवा भएर कति बस्नु । मैले त निर्णय गरेँ विदेश जाने ।” 
दाइ धाराप्रवाह गतिबाट रोकिनुभयो ।

मैले फोन राख्दै भनेँ, “विदेश यात्राचाहिँ छिटो होस् । यहाँ पनि कछुवा चाल सहन नपरोस् ! हामीलाई नबिर्सिनुहोला ।” यीबाहेक अरू शब्द आएनन् ।

एकातिर श्रीमती र कमलीको लडाइँ । अर्कोतिर ठूल्दाइको विदेश जाने रहरले मेरो दिमाग पूरै हल्लाइदिएको थियो । बिहानैदेखि के भयो त्यस दिन, मैले बुझ्न सकिरहेको थिइनँ । साधारण स्कुले मास्टरको पेसा अपनाएको मैले आफ्नै जीवनकाल कछुवाशैलीमा चलिरहेको अनुभव गर्न थालेँ ।

कनिके भात पाकिसकेछ । बोलाहट भयो भान्छाबाट । 
भात खाईवरी लुगा फेरेर लागेँ विद्यालयतिर ।

कक्षाकोठामा छिर्नेबित्तिकै सधैँझैँ ‘गुड मर्निङ सर !’ गुञ्जियो । मैले सबैलाई ‘बस’ भन्दै चक समातेँ । अनि, कालोपाटीमा ठूलो अक्षरमा लेखेँ ‘क’ ।

पछाडिबाट सबै विद्यार्थीको एकसाथ ठूलो स्वर घन्कियो, “क माने कछुवा ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC