काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ कार्यकालका लागि नेतृत्व चयन भएको छ । सभापतिमा शेरबहादुर देउवाकै नेतृत्वको निरन्तरता भए पनि पदाधिकारीमा उपसभापति निर्वाचित भएर पूर्णबहादुर खड्काको मात्र निरन्तरता भएको छ । बाँकी पदाधिकारी नयाँ अनुहार छन् ।
पुराना नेताहरु कतिपय महाधिवेशनमा उमेदवारीबाटै अलग भएका छन् भने धेरै केन्द्रीय सदस्यमा निरन्तर भएका छन् । तर खुलातर्फको प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा नयाँ अनुहारको पर्याप्त उपस्थिति देखिएको छ । खुला ३५मा १८ जना पुराना अनुहार छन् भने १७ जना नयाँ अनुहारको प्रवेश भएको छ । नयाँ अनु्हार पनि कतिपय लोकप्रिय मतसहित केन्द्रीय समितिमा प्रवेश गरेका छन् । त्यसरी प्रवेश गर्ने धेरै कांग्रेसमै र भ्रातृ संस्थामा काम गरेका छन् भने केही फरक पृष्ठभूमिका पनि छन् ।
पत्रकारिता पृष्ठभूमिबाट आएका अजयबाबु शिवाकोटी देखि ‘डन’ पृष्ठभूमिका गणेश लामा पनि केन्द्रीय समितिमा प्रवेश गरेका छन् । आफ्ना लेखहरुमार्फत कांग्रेसको यथार्थ चित्रण र भावि कांग्रेसका अवधारणा बनाउने लोकेश ढकालदेखि युवा नेता शंकर तिवारीसम्मलाई भने कांग्रेसका महाधिवेशन प्रतिनिधिले ‘रिङ आउट’ गरिदिएका छन् ।
नयाँ अनुहार कस्ता कस्ता ?
लोकप्रिय मतसहित नेपाली कांग्रेस केन्द्रीय समिति छिरेका उदयसमशेर राणा तरुण दलको राजनीतिबाट आएका हुन् ।
१३औं महाधिवेशनमै केन्द्रीय सदस्य लडेर पराजित भएका उनी यसपटक चौथो धेरै मतसहित निर्वाचित भएका छन् । यसअघि संविधानसभा सदस्य र अर्थराज्यमन्त्री भइसकेका उनी युवाहरुमाझ लोकप्रिय छन् ।
उनीपछि लोकप्रिय मतसहित केन्द्रीय समिति छिरेका नेता हुन् रामहरि खतिवडा । ओखलढुंगा कांग्रेसको राजनीतिबाट आएका खतिवडा २०७० सालको निर्वाचनबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
बलबहादुर राईको स्वकीय सचिव भएर काम गरेका खतिवडा नेपाली कांग्रेसका सबै नेतासँग पहुँच राख्ने नेता हुन् । उनले १२औं महाधिवेशन देखि लगातार केन्द्रीय समिति छिर्न गरेको प्रयास यसपटक सफल भएको हो ।
उनीपछिको लोकप्रिय मत ल्याएर जीतजंग बस्नेत केन्द्रीय समिति प्रवेश गरेका छन् । उनले खुला ३५मा ११औं नम्बर मत ल्याएका छन् ।
विद्यार्थी राजनीतिमा लामो समय गुजारेका बस्नेत भागवण्डामा विद्यार्थी संघ नपाएपछि तरुण दलमा थन्क्याइएका थिए । करिब पाँच वर्ष कार्यसमितिसमेत बनाउन नपाएका बस्नेत तरुण दलको अध्यक्ष बहाल रहेरै केन्द्रीय समितिमा प्रवेश गरेका छन् ।
यसअघि पदाधिकारी भए पनि राप्रपा छोडेर आएका सुनिलबहादुर थापा पनि थुप्रै पुराना नेतालाई उछिन्दै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुला प्रतिस्पर्धामा उनले ३५मा १४औं स्थान पाएका छन् । देउवा प्यानलमा बसेका उनले प्यानलको अधिकांश मत बटुल्न सफल भएको देखिएको छ । बहालवाला सहमहामन्त्री उनले त जीतपछि आफूले अग्निपरीक्षा पास गरेको प्रतिक्रिया दिएका छन् ।
सुनिल पछि १५औं नम्बरमा नैनसिंह महर निर्वाचित भएका छन् । २०७३ सालको महाधिवेशनबाट नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित भएका महरलाई नेविसंघको महाधिवेशन गर्न नसकेको भन्दै पदबाट राजीनामा दिन बाध्य पारिएको थियो । त्यसयता निरन्तर देश दौडाहा गरेका उनले आफूलाई सफल सावित गरेका छन् ।
महरपछि उनकै कार्यसमितिका महामन्त्री कुन्दनराज काफ्ले २० नम्बरको लोकप्रिय मतसहित केन्द्रीय समिति प्रवेश गरेका छन् । पशुपति क्याम्पसमा तत्कालीन राजा ज्ञानेन्द्रको कदमविरुद्ध कुकुर अभिनन्दन गरेर गणतन्त्रको आन्दोलन छेडेका कुन्दन जनआन्दोलनबाट स्थापित भएका हुन् । गणतन्त्रका पक्षमा नमुना जनमत संग्रहदेखि आन्दोलनका अनेक शैली अपनाउने उनी पहिलो प्रयासमै केन्द्रीय समिति छिर्न सफल भएका हुन् ।
कांग्रेस केन्द्रीय समितिका लागि अर्को नयाँ अनुहार हो राजीव ढुंगाना । ३२ वर्षे उमेर हद लागू हुने नेविसंघको विधान सच्याएर नेविसंघ अध्यक्ष बनाइएका ढुंगाना विश्वप्रकाश शर्माको कार्यकालकै नेविसंघ नेता हु्न् ।
प्रदीप पौडेलको कार्यसमितिका उपाध्यक्ष ढुंगाना करिब १० वर्ष गुमनाम भएर एकैपटक नेविसंघ अध्यक्ष बनेका थिए ।
नेविसंघको अधिवेशनका लागि आफ्नो नियु्क्ति भए पनि अधिवेशनका लागि महामारीले वातावरण नै नपाएको भन्दै नेविसंघ राजनीतिबाट सन्यास लिएका उनी पार्टी राजनीतिमा प्रवेश गर्न सफल भएका हुन् ।
राजीवसँगै केन्द्रीय समिति प्रवेश गरेको नयाँ अनुहार हुन्– गुरु बराल । पार्टी फूटेका बखत प्रजातान्त्रिक कांग्रेसतर्फ नेविसंघको उपसभापति भएका बराल त्यसयता महत्वपूर्ण राजनीतिक जिम्मेवारीमा थिएनन् । यसपटक उनी २४औं नम्बरको मतसहित खुला ३५ बाट केन्द्रीय समिति प्रवेश गरेका छन् ।
कांग्रेसको राजनीतिमा पुरानै भए पनि केन्द्रीय समितिका लागि अर्को नयाँ अनुहोर हो –संजय गौतम । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष तथा शक्तिशाली मानिने नेता वामदेव गौतमलाई हराएर देशव्यापी चर्चा कमाएका नेता गौतम लामो समय बर्दिया जिल्लाको सभापति भएर काम गरेका छन् । संविधानसभा सदस्य र मन्त्रीसमेत भइसकेका नेता गौतम यसपटक केन्द्रीय समितिमा खुल्ला ३५ मध्ये २६औं नम्बरमा निर्वाचित भएका हुन् ।
यस्तै व्यवसायीक जीवनबाट पार्टी राजनीतिमा आएका प्रा. डा. गोविन्दराज पोखरेल पनि नेपाली कांग्रेसको केन्द्रीय समितिमा प्रवेश गरेका छन् ।
थापाथली इन्जिनियरिङ क्याम्पसको प्राध्यापन, बैकल्पिक ऊर्जा क्षेत्रको अनुभवबाट राष्ट्रिय योजना आयोगमा नियुक्ति लिएपछि उनी कांग्रेसको राजनीतिमा पूर्णकालीन भएका हुन् ।
ललितपुर जिल्लासभापति भएर काम गरेका मदनबहादुर अमात्य पनि २८ नम्बरको बहुमतसहित केन्द्रीय समिति प्रवेश गरेका छन् । संविधानसभा सदस्य भएर काम गरेका अमात्य पुराना नेता भए पनि कांग्रेस केन्द्रीय समितिका लागि भने नयाँ अनुहार हुन् ।
पत्रकार अजयबाबु शिवाकोटी सक्रिय पत्रकातिा गर्दा गर्दै एकैपटक कांग्रेस राजनीतिमा ‘जम्प’ गरेका छन् । पहिलोपटक क्षेत्रीय सभापति हुँदै महाधिवेशन प्रतिनिधि बनेका उनी पहिलो प्रयासमै कांग्रेस केन्द्रीय समिति छिर्न सफल भएका हुन् ।
नेपाली कांग्रेसमा ३० औं नम्बरको बहुमतसहित केन्द्रीय समिति छिरेका रहस्यमयी अनुहार हुन् –गणेश लामा । ‘गुण्डा नाइके’, ‘डन’ जस्ता उपमासहित कुनैबेला प्रहरीको मोस्ष्ट वान्टेड सूचीमा रहेका उनी पछिल्ला केही वर्षदेखि राजनीतिमा छन् ।
विजय गच्छदारको पार्टी मधेसी जनअधिकार फोरममा आवद्ध भएर राज्यमन्त्रीसम्म भइसकेका उनी कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा एकैपटक निर्वाचनबाटै केन्द्रीय सदस्य भएका छन् ।
पारिवारिक पृष्ठभूमि कांग्रेसकै राजनीतिसँग जोडिएका उनी कांग्रेसबाटै टिकट पाएर काभ्रेमा प्रदेशसभा सदस्य निर्वाचन समेत लडिसकेका छन् । गत निर्वाचनमा उनी पराजित भएका थिए ।
कांग्रेस केन्द्रीय समिति छिरेको नयाँ अनुहार हो –दिनेश कोइराला । नेविसंघ हुँदै चितवनको राजनीतिमा सक्रिय कोइराला २०७० सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ मा टिकट पाएका थिए । अन्तिम समयमा टिकट दिएर हेलिकोप्टरमार्फत चितवन पुगेर मनोनयन दर्ता गराएका दिनेश कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गर्दै प्रचण्डलाई समर्थन जनाएपछि चुनाव लड्न बञ्चित भएका थिए ।
०७४ सालको निर्वाचनमा पनि राप्रपाका विक्रम पाण्डेलाई कांग्रेसले समर्थन गरेपछि उनी निर्वाचनमा भाग लिनबाट बञ्चित भएका थिए ।
विद्यार्थी राजनीतिबाट आएका उमेशजंग रायमाझी पनि कांग्रेस केन्द्रीय समितिका लागि नयाँ अनुहार हुन् । भोजपुरका रायमाझी ज्ञानेन्द्रबहाद्ुर कार्कीसँगको राजनीतिक संघर्षका कारण ओझेलमा पर्दै आएका थिए । अहिले उनी उनी नेविसंघ महामन्त्रीबाट विदा भएपछि एकैपटक कांग्रेस केन्द्रीय समिति छिरेका हुन् ।
नेपाली कांग्रेसमा निर्माण व्यवसायी पृष्ठभूमिका मोहन आचार्य पनि नयाँ अनुहारकै रुपमा प्रवेश गरेका छन् । आचार्य २०७४ सालको निर्वाचनमा रसुवाबाट निर्वाचित हुँदै संसद छिरेका थिए ।
उनीपछि २३औं नम्बरमा थरुहट पार्टी हु्ँदै फोरम लोकतान्त्रिबाट कांग्रेस प्रवेश गरेका गोपाल दहित केन्द्रीय समिति छिरेका छन् । थारुको जातीय मुद्दा लिएर पार्टी खोली प्रतिनिधिसभासमेत पुगेका उनी भूमिसुधार मन्त्रीसमेत भइसकेका छन् ।
खुला ३५ तर्फ ३५औं नम्बरमा कांग्रेसको केन्द्रीय समिति छिरेका कृष्णकिशोर घिमिरे यसअघि सांसदसमेत भइसकेका व्यक्ति हुन् ।
यसअघि आमन्त्रित सदस्य भएका उनी यसपटक भने खुला प्रतिस्पर्धाबाटै केन्द्रीय समिति छिरेका हुन् ।