काठमाडौं । कोभिड–१९ विरुद्धको जोनसन एन्ड जोनसन खोप अनिवार्य गरेका मुलुकमा जान लागेका नागरिकका लागि सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि सो खोप दिइँदै छ ।
आज काठमाडौंका वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट जोनसन एन्ड जोनसनको खोप दिइँदै छ । भोलिदेखि भने काठमाडौंका थप केही अस्पतालबाट पनि यो खोप दिइने तयारी भइरहेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए ।
यस्तै, ललितपुरमा भोलिदेखि खोप दिने गरी तयारी भइरहेको छ । ललितपुरमा यसअघि एष्ट्राजेनेका र भेरोसेल खोप दिने गरिएका ११ केन्द्रबाट जोनसन एन्ड जोनसन खोप दिइने स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
खोप लिनका लागि सम्बन्धित मुलुकका लागि तयार पारिएको ट्राभल डकुमेन्ट अनिवार्य गरिएको छ । नेपालले दुई चरणमा गरी हालसम्म ३७ लाख ७६ हजार डोज जोनसन एन्ड जोनसन खोप प्राप्त गरेको छ ।