काठमाडौं । मछिन्द्र क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ति मगरले एक एक गोल गरे । खेलको २९औँ मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए ।
खेलको ६८औँ मिनेटमा नुर्लानले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाए ।
त्यसअघि शनिबार नै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एनआरटीले पहिलो जित निकालेको थियो ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी