कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम)सम्बन्धी कार्य सुरुआत गरेको छ । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरिद सम्झौता भइसकेको र इक्ट्रोमेकानिकलतर्फ बोलपत्र प्रक्रियामा रहेको जनाएको छ ।
आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बाँध र विद्युत् गृहका लागि आवश्यक पर्ने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका खरिद व्यवस्थापन समयमै हुने बताए । उनका अनुसार दोस्रो चरणअन्तर्गत हाल सिभिलतर्फका काम भइरहेका छन् । तेस्रो चरणमा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्य पर्दछन् । सिभिल संरचनाअन्तर्गत हेडबक्स, पावर हाउस (विद्युत्गृह), बाँध (कफर ड्याम) र सर्ज साफ्टलगायतका कार्यहरू पर्दछन् । “बाँधस्थलमा पम्पिङ विधिबाट जम्मा भएको पानी बाहिर निकाल्ने काम भइरहेको छ”, उनले भने, “पानी डाइर्भट गरेर मुख्य बाँधस्थलमा ढलान गरिँदैछ, बबई हात्तीखालमा पनि पावर हाउसको जग खन्ने काम सुरु भइसकेको छ ।”
आयोजनाको कूल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १४ अर्ब सात करोड ५९ लाखर कम खर्च भइसकेको छ । आयोजनाले कात्तिक महिनासम्म वित्तीय प्रगति ३८.२४ तथा भौतिक प्रगति ४९ प्रतिशत हासिल भएको जनाएको छ ।
सरकारले आयोजनाका लागि चालू आवमा पुँजीगततर्फ विनियोजन गरेको बजेट तीन खर्ब चार करोड ६ लाखमध्ये १० करोड ९१ लाख ७० हजार मात्र खर्च भएको छ । आयोजनाका सूचना अधिकारी सुवेदीले आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवाद पनि टुङ्गिएको बताए । केही दिनअघिको बसेको मन्त्रिपरिषद् बैठकले अन्य आयोजनाका नजिरलाई आधार बनाई २२.८१ हेक्टर ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिए । यसअघि रैकर जग्गाको हकमा मात्र मुआब्जा पाउने निर्णयपछि आयोजनास्थलका बासिन्दा आन्दोलित थिए ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको हो ।
उक्त ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरी गङ्गा नगरपालिका–११ हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ । जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । सङ्घीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ ।
यस आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ ।
आयोजनाले पहिलो चरणअन्तर्गत सुरुङ निर्माण कार्य पूरा गरिसकेको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) का सहायताले निर्माण गरेको उक्त सुरुङको फिनिसिङ कार्यपश्चात् आयोजनालाई हस्तान्तरण गरिएको थियो । दोस्रो चरणका मुख्य काम बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै कार्य आव २०७९/८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ । त्यस्तै बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई करिब ८०० मिटर जति डाइभर्सन गरिएको छ । बाँधका कारण सडक डुबानमा पर्न सक्ने हुँदा सडक डाइर्भसन गरिएको हो । रासस