काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गर्ने तयारी गरेको छ । आज बस्ने बर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने नेताहरुले बताएका छन् ।
उपसभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यको संख्या बढाउने तयारीमा पार्टी सभापति शेरबहादुर देउवा रहेको स्रोतले बताएको छ । सहमहामन्त्रीको संख्या चारदेखि पाँच जना बढाउने र उपभापतिको संख्या पनि थप गर्ने देउवा निकट स्रोतको दाबी छ । हाल कांग्रेसमा सहमहामन्त्री आठजना रहने व्यवस्था छ भने उपसभापति दुईजना रहने विधानमा उल्लेख छ ।
साढे चारलाख संगठित सदस्य हुँदा १६८ केन्द्रीय सदस्य रहेकोमा अहिले यो संख्या बढेर साढे आठ लाख नाघेकाले केन्द्रीय सदस्यको संख्या पनि बढाउनु पर्ने कांग्रेसमा माग उठ्दै आएको छ ।
यसअघिको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गर्न गरेको मागमा सभापति देउवाले आफू सकारात्मक रहेको बताएका थिए । यद्यपि, उनले प्रस्तावमा आफू बाधक नबन्ने तर रामचन्द्र पौडेल पक्षले स्वीकार गर्नेमा शंका व्यक्त गरेका थिए ।