विख्यात गायक नारायणगोपाल गुरुवाचार्य (जसलाई म नारायण दाइ सम्बोधन गर्थेँ)सँग मेरो पत्रकारिता जोडिएन । किनभने, म विमर्श साप्ताहिक पत्रिकामा कार्यरत रहँदा उहाँसँग मेरो भेट भएको थियो । त्यस बेला विमर्शमा नारायणगोपालको लामो अन्तरर्वार्ता प्रकाशित भइसकेको थियो ।
मैले एकपटक नारायण दाइसँग कुरा गर्ने विषयमा सोचेको पनि हुँ । तर, विमर्शमा अन्तर्वार्ता आइसकेकोले फेरि विमर्शकै लागि वा रूपरङका लागि कुराकानी गर्ने तुक पनि भएन ।
यद्यपि, एकफेर उहाँसँग कुरा हुँदा भन्नुभएको थियो, ‘मैले केही नयाँ गरेको छैन । केही नयाँ काम गरेपछि कुराकानी गरौँला नि ।’
त्यसपछि नै हो, मीन बज्राचार्य र म गएर उहाँको फोटोसेसन गरेको । उहाँको हाफ सर्ट लगाएको फोटो त्यसै बेला खिचिएको हो ।
नारायणगोपाल दाइसँग मेरो भेट हुँदा उहाँ निवृत्त जीवन बिताइरहनुभएको थियो । घरैमा बसेर संगीत साधना गर्नुहुन्थ्यो । किताबहरू पढ्नुहुन्थ्यो । देश–विदेशका विषयमा, इतिहासका बारेमा भेटेसम्मका किताब पढ्नुहुन्थ्यो । नेसनल जोग्राफी भन्ने म्यागेजिन उहाँ खुब पढ्नुहुन्थ्यो । यस अर्थमा नारायणगोपाल एकदम अध्ययनशील व्यक्ति हुनुहुन्थ्यो ।
सायद त्यसैले पनि होला, नारायणगोपालको चित्त बुझाउन एकदमै गाह्रो थियो । गीत–संगीतमा हत्तपत्त उहाँलाई चित्त बुझ्थेन । चित्त बुझे मात्र उहाँले गीत गाउनुहुन्थ्यो । अथवा, कुनै गीतमा संगीत दिनुहुन्थ्यो ।
नारायणगोपाललाई चेस खेल्नुपर्थ्यो । फुटबलको सोखिन हुनुहुन्थ्यो । फुटबलको फाइनल भएको अवस्थामा फाइनल हेर्न दशरथ रंगशाला पुग्नुहुन्थ्यो । उहाँको यस क्षेत्रका साथीहरू धेरै थिए होलान् । ललितकला कलेजमा पढाउँदा उहाँका कति साथी थिए होलान् । तर, नारायणगोपाल दाइलाई कुनै साथीले ‘गीत गाइदेऊ’ भनेर गीत दिन सकेनन् । किनभने, उहाँ आफूले गाउने गीत–संगीतमा कहिल्यै सम्झौता गर्नु हुन्नथ्यो । खासमा कलाका लागि उहाँले कहिले पनि सम्झौता गर्नु भएन ।
त्यसैले उहाँका कतिपय साथीहरू त रिसाए पनि रे ! यसैकारण पनि उहाँलाई घमण्डी भनियो । उहाँसँग आरिस गरियो ! तर, कुरो के हो भने, नारायणगोपाल स्वाभिमानी हुनुहुन्थ्यो । कला र संगीतको उन्नयनका लागि उहाँले कहिल्यै कसैसँग पनि सम्झौता गर्नु भएन । नभए, चाँदनी शाहको एउटा गीत गाउनलाई उहाँले २८ वटा धुन किन बनाउन लगाउनुहुन्थ्यो, दीपक जंगमलाई !
त्यसपछि उहाँले चाँदनी शाहको अर्को गीत गाउनु भएन !
‘एउटा मान्छेको मायाले कति...’ गीत गाएपछि नारायणगोपालले गीतकार चाँदनी शाहसँग भेट गर्न खोज्नुभएको थियो । तर, दरबारका सचिवले भनेछन्, ‘महारानी सरकारबाट महिलाबाहेक अरूलाई भेट्ने चलन छैन ।’
त्यसपछि नारायणगोपालले पनि भन्नुभएछ, ‘त्यसो भए चाँदनी शाहका गीत किन लोग्नेमान्छेले गाउने त !’ उप्रान्त, उहाँले चाँदनी शाहका अरू गीत गाउनु भएन । जबकि, दीपक जंगमले अरू गीतहरू पनि तयार गर्नुभएको थियो ।
मलाई लाग्छ, यो भनेको स्वाभिमानको कुरा हो । आफ्नो कर्मप्रति कहिले पनि सम्झौता नगर्ने व्यक्तिमा पर्नुहुन्थ्यो नारायण दाइ । वास्तवमा, गोपालप्रसाद रिमालको कविताझैँ नारायणगोपाल एक जुगमा एकचोटि जन्मिने मानिस हुनुहुन्थ्यो । त्यसैले नारायणगोपाल आफ्नो जीवनकालभर गायन र संगीतकर्मबाट पलायन हुनु भएन । कहिल्यै थाक्नु भएन ।
उहाँको एउटा सोचाइ थियो, आफूले गाएका केही चर्चित गीतहरू सामान्य हारमोनियम र तबलामा फेरि रेकर्ड गर्ने र ‘गीति यात्रा भाग–२’ प्रकाशमा ल्याउने । ‘गीति यात्रा भाग–१’ त्यसैले पनि भनिएको थियो, भाग २ निकाल्नका लागि । तर, त्यसपूर्व नै उहाँ बिरामी पर्नुभयो । र, केही समयपछि उहाँको देहान्त भयो ।
०००
म नारायणगोपाल संगीत कोषमा काम गर्न पुग्ने थिइनँ होला । त्यस बेला वसन्त चौधरी दाइको अफिसमा काम गर्थेँ । नारायणगोपालको निधनपछि स्थापित नारायणगोपाल संगीत कोषमा वसन्त दाइ कोषाध्यक्ष हुनुहुन्थ्यो । त्यसैले दाइले नै मलाई ‘तिमी कोषको काम पनि हेर’ भनेर जिम्मा लगाउनुभयो ।
यसरी म कोषमा जोडिएको हुँ । त्यसै क्रममा पेमाला भाउजूसँग चिनाजान भयो । म भनूँ, एकदम कम मानिस होलान् जसले आफ्नो श्रीमान् र श्रीमान्को सिर्जनालाई जीवित राख्ने प्रयास गर्छन् । त्यस्तै हुनुहुन्थ्यो पेमाला भाउजू पनि । जो नारायणगोपाल दाइको सांगीतिक सिर्जनाहरूलाई युग–युगान्तर जीवित राख्न क्रियाशील हुनुहुन्थ्यो ।
नारायणगोपालको त्यो समयमा पनि वर्षको दुई लाख रुपैयाँजति म्युजिक नेपालले रोयल्टी दिन्थ्यो । गीति यात्राबाहेक अरूतिरबाट प्राप्त रोयल्टी पेमाला भाउजूले कोषमा नै जम्मा गर्नुहुन्थ्यो । पछि त उहाँले घर र जग्गा नै दिनुभयो, संगीत कोषलाई । तर खै, आजसम्म पनि कोषले केही गरेको छैन !
नारायणगोपाल दाइको ठूलो सपना थियो, नेपालमा अर्केष्ट्राको विकास होस् भन्ने । हामीकहाँ अर्केष्ट्राको अभाव थियो । त्यसैले उहाँ चाहनुहुन्थ्यो नेपालमा अर्केष्ट्राको प्रचुर विकास होस् । यसका अतिरिक्त नेपालको सांगीतिक विकासका लागि उहाँले अनेकन् काम गर्ने सोच बनाउनुभएको थियो । जुन अभिभारा उहाँको शेषपछि पेमाला भाउजूले उठाउनुभएको थियो, नारायणगोपाल संगीत कोषका माध्यमबाट ।
त्यसपछि नै हो, अम्बर गुरुङका शिष्य राजकुमार श्रेष्ठलाई कलकत्ता पठाएर २०/२५ वटा भ्वाइलिन किनेर ल्याइएको । सुरुमा बाल मन्दिरका विद्यार्थीहरूलाई भ्वाइलिन सिकाइयो । प्रारम्भमा अम्बर गुरुङले प्रशिक्षण दिनुभयो र पछि त्यसलाई राजकुमार श्रेष्ठले निरन्तरता दिनुभयो । र, उहाँले भ्वाइलिन सिकाउँदै जानुभयो । आज जति पनि यु्वा भ्वाइलिनवादकहरू छन्, धेरैजसो त्यहीँका उत्पादन हुन् ।
भ्वाइलिन मात्र होइन, नारायणगोपालको दृष्टिकोण संगीतको उत्कृष्ट शिक्षा दिने गरी महाविद्यालय खोल्ने नै थियो । संगीतको विकास र विस्तारका लागि उहाँ सदैव चिन्तनशील हुनुहुन्थ्यो । जतिखेर नारायणगोपाल संगीत कोषको स्थापना भयो, त्यसको केही वर्षसम्म त तत्कालीन सरकारले पनि दुई/तीन लाख रुपैयाँ वार्षिक रूपमा उपलब्ध गराउँथ्यो । तर, सहयोग मिल्दामिल्दै पनि कोषले केही गर्न सकेको अवस्था रहेन ।
पेमाला भाउजूको चाहना थियो, नारायणगोपाल संगीत कोषका माध्यमबाट उहाँलाई सदासर्वदा जीवन्त राख्ने । त्यसै क्रममा नारायण दाइले सुरु गर्नुभएको ‘बागिना’को नारायणगोपाल स्मृति अंक प्रकाशित गर्यौँ । मेरै सम्पादनमा त्यो स्मृति अंक प्रकाशित भएको थियो ।
पछि गएर पेमाला भाउजू बिरामी पनि हुनुभयो । र, भाउजूले जसलाई विश्वास गर्नुभएको थियो, ती मानिसहरूबाटै उहाँ प्रयोग हुनुभयो । आफूलाई प्रयोग गरिएको कुरो सायद भाउजूले थाहा नै पाउनु भएन । पछि नारायणगोपालका समकालीन र नजिककाहरूले संगीत कोष छोड्दै जानुभयो । जस्तै, कालीप्रसाद रिजालले सुरुमै छोड्नुभयो । वसन्त दाइले छोड्नुभयो । अम्बर गुरुङले पनि छोड्नुभयो ।
वसन्त दाइलाई नारायणगोपालले अस्पतालको शय्यामा हुँदै भन्नुभएको थियो, ‘संगीत कोषको स्थापना गर्ने र वसन्तलाई अध्यक्ष बनाउने’ । तर, वसन्त दाइले पेमाला भाउजूले अध्यक्ष बस्दा राम्रो हुन्छ भन्दै आफू कोषाध्यक्षमा बस्नुभयो ।
निकै ठूलो सपना थियो नारायण दाइको । तर, कोषले त्यो सपना पूरा गर्न सकेन । आज त झन् केही पनि भएकै देखिँदैन ।
नारायणगोपाल संगीत कोष स्थापना गर्दा केही निश्चित उद्देश्यहरू थिए । तत्कालीन समयमा कोषको उद्देश्य भनेको नेपाली संगीतको जगेर्ना गर्ने, अर्केष्ट्राको विकास गर्ने, संगीत छात्रवृत्तिको व्यवस्थापन गर्ने, नारायणगोपालको व्यक्तित्व र कृतित्वको अभिलेखीकरण गर्नेलगायत आठ–नौ बुँदा थिए ।
सुरुमा कोषमा नाम चलेका व्यक्तित्वहरूको उपस्थिति थियो । कुनै पनि संस्थामा नाम भएका केही मानिसहरू हुन्छन् भने काम गर्ने खालका केही मानिस हुन्छन् । तर, कोषमा के भयो भने, जो जो व्यक्ति समितिमा हुनुहुन्थ्यो, सबै व्यस्त हुनुहुन्थ्यो । उहाँहरू मिटिङमा आउनुहुन्थ्यो र कुनै ठोस निर्णय गर्नुहुन्थ्यो । तर, तलतिर काम गर्ने केही मानिसहरू यस्ता भइदिए, जसले महत्त्वपूर्ण निर्णयमा पनि अत्तो थापिदिने । अड्को लगाइदिने गर्थे ।
एकपटक शम्भुजित बास्कोटाले नारायणगोपालको सम्झनामा एउटा बृहत् कार्यक्रम गर्ने कुरा अगाडि सार्नुभयो । तर, कसैले ‘हैट ! कहाँ गर्न सकिन्छ र तपाईंले भनेजस्तो काम !’ भनेर अत्तो थापिदिए । म नाम लिन्नँ । तर, भयो त्यस्तै । र, त्यो काम सुरु हुनै सकेन ।
मलाई लाग्छ, कुनै पनि कार्यलाई टुंगोमा पुर्याउन दह्रिलो व्यवस्थापक नै हुनुपर्छ । यस हिसाबले हेर्ने हो भने कोषमा कुशल व्यवस्थापकको ठूलो अभाव भयो ।
यति लामो समयमा कोषले धेरै काम गर्न सक्नुपर्थ्यो । जस्तो, नारायणगोपालको जीवनी प्रकाशित गर्न सकिन्थ्यो । उहाँले गरेका कामहरूको अभिलेख, उहाँका सम्पूर्ण गीत–संगीतको सिर्जनात्मक अभिलेखीकरण पनि गर्न सकिन्थ्यो । तर, अत्तो थाप्नेहरूले किन केही गर्न दिन्थे र !
भन्ने हो भने, नारायणगोपाल स्मृति अंकबाहेक नारायणगोपाललाई चिनाउने संगीत कोषमा केही सामग्री नै छैन ।
त्यहाँ सबै पण्डित भए । अहिले त नारायणगोपाल संगीत कोष मंसिर १९ गतेका दिन मात्रै जीवित हुन्छ । बाँकी ३६४ दिन सेलाएर बस्छ । अर्थात्, नारायणगोपाललाई एक दिन सम्झिने काममा मात्र सीमित भएको छ, संस्था । अचेल त पुराना मानिस कोही पनि छैनन् । त्यहाँ न त नारायणगोपाललाई बुझ्ने मानिस छन् न त उहाँको सिर्जनालाई बुझ्ने नै छन् । न त तिनले नारायणगोपाललाई बुझ्ने प्रयास नै कहिले गरेको पाइन्छ ।
एकपटक त के भयो भने, तत्कलीन कोषका अध्यक्षले गीतकार नगेन्द्र थापा, डा. विश्वम्भर प्याकुरेल र चक्र खड्कालाई संगीत कोषबाट निकालिदिए । त्यसले उहाँहरूलाई अपमान बोध भयो र उहाँहरूले कोष छाडिदिनुभयो । यस किसिमको प्रवृत्तिले कोषको वातावरण धमिलिँदै धमिलिँदै गयो ।
आज नारायणगोपालको जीवनी पढ्न चाहने पाठक लाखौँ होलान् । नारायणगोपालको जीवनका यावत् कुरा बुझ्न सबै आतुर छन् । उहाँको गायन साधना, संगीत सिर्जना, गायनको ट्रेन्डका विषयमा जान्न चाहने मानिस लाखौँ होलान् । तर, उहाँको जीवनी ल्याउन सकेको छैन, कोषले ।
यति बेला धेरै मानिसका जीवनीहरू प्रकाशित हुँदै आएको देखिन्छ । तर, नारायणगोपाल गुरुवाचार्यको जीवनी तयार गर्नेतर्फ संगीत कोष मौन छ ।
यसको कारण के हो भने, कोषमा त्यो क्षमता, शिल्प र कला भएका मानिस नै छैनन् । कोषको काम त वर्षमा एक–दुईजनालाई पुरस्कार दिने र दुई–चार गीत गाउन लगाउने मात्र भएको छ । सम्भवतः पुरस्कार पनि कुनै संस्थाले स्पोन्सर गरिदिन्छ होला ।
एकपटक म महाराजगन्जस्थित कोषको कार्यालयमा भएको कार्यक्रममा गएको थिएँ । नारायणगोपालको घरमा अवस्थित ‘सुरगंगा’मा नारायणगोपालको स्मृतिमा कार्यक्रम हुने तरखर भइरहेको थियो । तर, व्यक्तिगत तवरमा नारायणगोपालको घर जाने बाटो अगाडि महाराजगन्जमै उहाँको स्मृतिमा विशेष कार्यक्रम हुँदै थियो । जुन कार्यक्रम कोषको कार्यक्रमभन्दा धेरै भव्य थियो ।
नारायणगोपाल संगीत कोष सर्वज्ञ हो । तर, कोष भव्य कार्यक्रम आयोजना गर्न सक्दैन । यसरी एउटा प्रतिभालाई ‘नेस्तनाबूद’ गर्ने काम कोषबाट भइरहेको छ भन्दा अतिरञ्जना नहोला ।
०००
संगीतमा अनेक मुड पस्कने गायक र संगीतकार हुनुहुन्थ्यो नारायणगोपाल । सुरुमा ‘स्वर्गकी रानी मायाकी खानी...’ गाउने नारायण दाइले ‘तिम्रोजस्तो मुटु मेरो पनि...’, ‘गल्ती हजार हुन्छन्...’, ‘बिर्सेर फेरि मलाई न हेर...’ जस्ता गीतमा आइपुग्दा गायनको ट्रेन्ड नै चेन्ज गर्नुभयो । पछि आफ्नै संगीतमा ‘मलाई नसोध कहाँ दुख्छ घाउ...’ गाउनुभयो । जसले उहाँको विलक्षण गायन र संगीत साधनालाई प्रमाणित गर्दछ ।
म सोच्दछु, यदि नारायणगोपाल आज हुनुभएको भए उहाँको संगीत र गायनले एउटा अर्को ट्रेन्ड भित्र्याउने थियो ।
(पत्रकार तथा गीतकार रमण घिमिरेसँग गरिएको कुराकानीमा आधारित ।)