‘कठैबरा ! तपाईंको नाति रूँदारूँदै नै सकिएको हो त ?’ घर्तीनी बजैले नवजात नाति गुमाएको शोकबाट मुक्त हुन नसकेकी कान्छी पण्डितनीसित सोधिन् ।
‘अनुहार, जिउ, हातखुट्टा सबै नीला भका रचन । कालगतिले भको मरण हो जस्तै लागेन मलाई त,’ साइँली खत्रिनीले संशय व्यक्त गरिन् ।
एउटा खुट्टा भुइँमा पसारेर अर्को खुट्टाको घुँडामा हात राखेकी कान्छी पण्डितनीले गुन्यूको सप्कोले आँखा पुछ्दै भनिन्, ‘औँसीको रात । बूढा अर्को कोठाँ सुतेका थे । म बुहारीकै कोठाको खाटाँ थेँ । राति १२ बजेको हुँदो हो । बच्चो अचानक जोडजोडले रून थाल्यो । हत्तपत्त बूढालाई उठाएँ । उनी दौडँदै वैद्यको घर पुगे । वैद्यलाई लिएर आउन्जेलसम्म बच्चो सिद्दिसकेच । वैद्यले नाडी छामे । निधार छामे । पैतालामा प्याट्टप्याट्ट हिर्काए । बिँडी सल्काएर औँलाहरूमा डामे । अनि भुइँमा बिस्तारै राखेर सुस्तरी भने– कान्छा पण्डित, यसको दिन यत्ति रैछ ।’
एकछिन वातावरण मौन भयो । केही बेरको मौनतालाई भत्काउँदै साइँली खत्रिनीले अनौठो रहस्योद्घाटन गरिन्, ‘बजै मैले त अलिक अर्कै नराम्रो कुरा सुनिच्चु है ।’
‘के कुरा ?’ पण्डितनीले जिल्ल पर्दै सोधिन् ।
‘मध्यरातमा हजुरहरूका घराँ कल्लिएर बच्चा रोएसिँ म नि ब्युँझेकी थेँँ । हत्तपत्त घरबाहिर आएँ । म आउँदा त वरिपरिका अरू गाउँलेहरू पनि हाम्रा आँगनाँ भेला भैसकेका रचन् । यस्सो ध्यान दिएर सुन्दा त बच्चा रोएको आवाज अन्तैबाट पनि आइरको थ्यो । दुईतिर दुई बालक एकै स्वरमा, एकै लयमा रोइरका थे । हामी सबैले पखरथोकको तल्लो गरामा बत्ती बलेको नि देखिम् । अर्को बच्चो रोको आवाज त्यहाँट नै आको थ्यो । तर, त्यो कसको बच्चो थ्यो ? कसैले था पाएनम् । बिहान घाँस काट्न जाँदा माथ्लाघरे लालबहादुरले पखरथोकको गरो पनि जोतिएको देखेचन् । त्यति बेला पनि झाँक्रीको थानमुनि अलिअलि आगो बलिरको थ्यो रे ।’
साइँली खत्रिनीको कुराले झस्किन् पण्डितनी । डरले अनुहार कच्याककुचुक भयो ।
‘हँ ! पखरथोकको ठूलो गरो त मुडुलीको हो । त्यो कान्लामा भएको झाँक्रीको थान पनि त उसकै खेतमा पर्च । त्यो मध्यराताँ को पुग्च र त्याँ ? कसले जोतिदियो रातारात उसको खेत ? कसले बाल्यो झाँक्री थानमा आगो ?’
‘त्यै त, दैवजाने,’ साइली खत्रिनीले भनिन् ।
नाइलनको डोरीले बुनेको बेतको मुढामा बसेर यी सबै कुरा सुनिरहेकी घर्तीनी बजै मुढा बोकेरै पण्डितनीको नजिकै सरिन् । आँखा चनाखा पारेर छेउछाउ आएर अरूले कुरा सुनेको त छैन भनेर चारैतिर हेरिन् । अनि, स्वरलाई अघिको भन्दा पनि मधुरो पारेर बोलिन्, ‘पन्नित्नी, यो कुरो त मैले नि सुनेकी हुम् । गाउँलेहरूले ढाँटे भनुम् भने नि हाम्रै बूढाले नि सुन्या रैचन । केई गडबड छ । यत्तिकै हुँदाखाँदाको त्यति राम्रा बालखा पक्कै बितेनन्, यो त्यै मुडुलीकै काम हो ।’
पण्डितनीको मनमा शंका–उपशंका जगाउने कुरा चुहाएर साइँली खत्रिनी र घर्तीनी बजै आ–आफ्ना घरतर्फ लागे । वास्तवमा तिनीहरूले कुरा मात्र चुहाएका थिएनन्, परालको कुन्युमा सलाई कोरिदिएका थिए । कान्छी पण्डितनीको मनमा आगो दन्किन बेरै लागेन ।
‘के मुडुलीले नै टुनामुना गरेर मारिदिएकी हो हाम्रो भर्खर जन्मिएको नातिलाई ?’
मूलभित्ताको धाराबाट झरेको पानीमा फिँज उठ्दै–फुट्दै गरे झैँ मनमा अनेक तर्कना उठ्दै–फुट्दै गर्न थाले । उनले पुराना घटनाक्रमहरू सम्झिइन् ।
परार साल । मुडुली आफ्नी छोरीको बिहेमा जग्गेमा बस्ने पण्डित चाहिएकोले उनका श्रीमान्लाई बोलाउन आएकी थिइन् । तर, उनका श्रीमान् गाउँलेले कुजात, अलच्छिना, बोक्सीजस्ता आरोप लगाएर नकारेकी मुडुलीकहाँ जान मानेनन् । मुडुली निराश भएर फर्किएकी थिइन् ।
केही दिनअघि मात्रको कुरा हो । घाँस काट्न जान लागेकी मुडुलीलाई रहस्यमय किसिमले उनको घरतिर हेरेको उनले देखेकी थिइन् । मुडुलीको त्यो हेराइ सम्झिएर उनी आक्रोशले थरथर कामिन् र बर्बराइन्, ‘हाम्रो परिवारको खुसी देखिसहिन तेल्ले । भगमान् ! त्यो पापिनीको सत्यानाश गर्देऊ ।’
...
‘दुःख जतिसुकै गहिरा हुन्, सहनैपर्च । मनको घाउलाई सधैँ कोट्याइराख्नु हुन्न । सइन भएर झनै अत्याउँछ । समयले तिम्रा घाउ नि पुर्नेच दुलै, पिर नअर । आफूलाई बलियो बनाऊ । जगतै छाडेर गएका परानीहरू जति नै पिर अरे पनि कहिले फर्किएका छन् र !’
खुर्कुटे छोरी बजैले विमलालाई सम्झाइन् ।
खुर्कुटे छोरी बजैमात्रले कहाँ हो र ! सुत्केरीबाट अझै तंग्रिन नसकेकी विमलालाई सबैले यस्तैयस्तै भनेर सम्झाउँछन् । तर, आफूले जन्माएकोे सन्तानलाई धित मर्ने गरी सुमसुम्याउन नपाएकी विमलाको मन सहानुभूतिले बहलिने स्थितिमा छैन । नवजात छोराको सम्झनाले घरीघरी उनको मुटु हातबाट झरेको माटाको भाडा फुटे झैँ हुन्छ । रून्न भन्दाभन्दै पनि आँखाबाट काली र म्याग्दी बगिहाल्छ ।
विमला त्यो रातदेखि निदाउन सकेकी छैनन् । आँखा बन्द गर्यो कि स्मृतिका अँध्यारा कुनाहरूमा कताकताबाट आइपुग्छन् सानासाना आँखाहरू, छिनछिनमा आफैँ मुस्कुराइरहने राता–कलिला ओठ र दुइटै मुठी कसेर निदाउने कलिला हत्केलाहरू । उनले अझै पनि सुत्केरी शरीरमा बेलाबेलामा अनुभूत गर्छिन् नवजात छोराको हातको कपासमय स्पर्श । यतिका धेरै प्रिय दृश्यका जुलुसले मनै स्थिर नहुने गरी अत्याउँछन् उनलाई । उनी कहालिँदै आँखा खोल्छिन् र कहाँ गयौ नि मेरो बाबु भन्दै ह्वाँह्वाँ रून थाल्छिन् ।
बटुकोमा तताइराखेको तोरीको तेल यहीँ छ । निगालोको कोक्रो, पुराना र जडौरी सुतीका साडी च्यातेर सिलाइएका थाङ्नाहरू यहीँ छन् । चोलाभोटा यहीँ छन् । चारैतिर हेर्छिन् । सबै त यहीँ कोठामै छन् । उनकै वरिपरि छन् । तर, उनका आँखाले जे खोजिरहेको छ, त्यो यहाँ छैन र अब कहिल्यै हुने छैन । उनी यो सत्यलाई अस्वीकार गर्न खोज्छिन् । तर, सत्य उनको चेतनामा जुका झैँ टाँस्सिन आइपुग्छ ।
भर्खरको सुत्केरी अवस्थाबाट थिलथिलिएर अँध्यारो कोठाको भुइँओछ्यानमा अर्धचेत लडिरहेकी विमलाको घाउमा आफ्ना घाउ मिसाएर स्थितिलाई सामान्य बनाउन हरेक दिन आइपुग्छिन् खुर्कुटे छोरीबजै । अरूको दुःखका कुराहरू सुनेपछि मान्छेलाई यो संसारमा म मात्र दुखिया होइन रहेछु भन्ने चेतना आउँछ र उसले मन बुझाउने बाटो भेट्छ । मान्छेको यो मनोविज्ञान उनलाई थाहा छ । त्यसैले त सेतै फुलेको कपाल, मुजैमुजा भएको अनुहार र कुप्रो परेको शरीरलाई लट्ठीको भर दिएर विमलाको कोठासम्म आइपुग्छिन् । १५ वर्षदेखि ४० वर्षको उमेरसम्म १२ सन्तान जन्माएर दुई सन्तान मात्र जीवित रहँदाको खुसी र १० सन्तान गुमाउँदाका पीडाका बिस्कुन फिजाउँछिन् । आफ्ना मनभित्र थुनिएर रहेका वर्षौँदेखिका दुःखहरूले विमलाका आलो घाउमा मलम लगाउने प्रयास गर्छिन् । उनलाई थाहा छ, दुःखमा दुःखैको मलम काम लाग्छ । उनी कान्छी पण्डितनीलाई पनि सम्झाउँछिन् बेलाबेलामा ।
‘कान्छी पन्नित्नी, दुलै यहीँ बसेर आफ्ना दुःखलाई भुल्न सक्दिनन् । बरु उनलाई छिटै माइती पठाइदेऊ । उता गएपछि मन भुल्छ उनको । नत्र कोठाका थाङ्नाथाङ्नीले दुलैलाई अत्याइराख्च ।’
पण्डितनीलाई पनि त बुहारी दरिन्न कि भन्ने चिन्ता छ । खुर्कुटे छोरीबजैको सल्लाह मानेर बुहारीले पानी छुँदाबित्तिकै माइती पठाउने तयारीमा छिन् पण्डितनी । उनी पनि अचानक आइपरेको वज्रपात सहेर विमलाका अगाडि सकेसम्म सामान्य हुन खोज्छिन् । तर, माया त साउँको भन्दा ब्याजको बढी लाग्दो रहेछ नि ! बाहिर चुपचाप रहे पनि भित्रभित्र भत्केको छ पण्डितनीको मन । बर्खामा खेतको आली भत्केर पानी बगे झैँ आँसु हृदयभरि बगिरहेका छन् । त्यही आँसुको अनन्त गहिराइमा चुर्लुम्म डुबेकी पण्डितनीको भित्री वह र बुहारीको रित्तो काख देखेर उस्तै रित्तिएका छन् कान्छा पण्डित पनि ।
‘सबै रातले उज्यालो दिनको सुरुआत नअर्दा रैचन् । हाम्रो परिवारको कलिलो घाम सधैँका लागि अस्तायो । थाहा छैन, कहिलेसम्म लाउने हो हाम्रो जीवनमा ग्रहण !’ लामो सुस्केरा हाल्दै कान्छा पण्डित बुहारीको कोठातिर हेर्छन् । विमला काठको मुढो झैँ भुइँओछ्यानमा लडिराखेकी छन् ।
उनलाई हेक्कै थिएन, मुडुलीले यसरी बदला लिन सक्छे भनेर । नत्र उनले दलित भनेर सधैँ हेप्ने थिएनन् मुडुलीलाई । उसलाई गाउँको धाराबाट पानी लिन वर्जित गर्ने थिएनन् । पल्लो गाउँकी रामनाथ पण्डितकी नातिनीसित प्रेम गर्ने मुडुलीको छोरोलाई त्यो गाउँका ठिटाहरूले चुटेर मार्दा मुडुलीको घाउमा सहानुभूतिको मलम नलाइदिएर उसकै अगाडि खुच्चिङ भन्ने थिएनन् । उनलाई के थाहा, उनले र सारा गाउँलेले हेपेको मुडुली यसरी जागा भएर निस्कन्छे र मन्त्र पढेर कसैको घरलाई पनि सत्यानाश पारिदिन सक्छे ।
...
‘आमा ! उठ न, घाम घरमाथि आइसके ।’
शकुन्तलाले घचघच्याई । पिँढीकोे सानो खाटमाथिको ओछ्यानमा सुतेकी मुडुली गड्यौँला झैँ चलमलाइन् ।
‘हँ ! उठेँ । जिउ निकै दुख्यो पो केटी ।’
शकुन्तलाले खोपीमा राखेको तेलको कचौरा निकालेर मुडुलीको जिउ मिच्न थाली ।
‘जता हात पुराए नि हाड र छाला मात्र,’ शकुन्तलाले गनगन गरी ।
‘नाति खोइ ?’ सुतेकै ठाउँबाट सोधिन् मुडुलीले ।
‘उता कोक्रोमा निदाइच्च ।’
उनले फेरि कोल्टो फेरेर शकुन्तलाको अनुहार हेरिन् । अनि, चरचर फुटेका खस्रा हातले शकुन्तलाको बाटुलो र कोमल अनुहारलाई अत्यन्तै स्नेहले सुमसुम्याउँदै बोलिन्, ‘तँ जन्मेपछि म पनि त तँ जस्तै भकी थेँ होला । आइमाईको रूप त आमा भएसि झनै उजेलिन्च भन्चन् ।’
‘ह्याँ, तिमी नि के भन्च्यौ भन्च्यौ बूढीमाऊ ! कसले भन्यो तिम्लाई यस्तो कुरा ?’ शकुन्तला अलिकति लाडिई ।
मनलाई अतीततिर पुर्याउँदै बोलिन् मुडुली, ‘मलाई नि मेरी आमाले यस्तै भनेकी थिइन्, तँ जन्म्या बेला । त्यतिखेर त मेरो कपाल ढाडमुनि झर्थ्यो । एकफेर नै एक मानो तेल लाउँच यो केटीलाई पो भन्थिन् आमा ।’
‘तिम्रो कपाल त्यति लामो थ्यो र ?’ अचम्म मान्दै आमाको मुडुलो टाउकोतिर हेरी शकुन्तलाले ।
‘तेरो भन्दा नि लामो थ्यो । बाक्लो नि थ्यो ।’
प्रसंग बदलिइन् मुडुलीले ।
‘आ, बस् ह्याँ ।’
शकुन्तला भुइँको गुन्द्री तानेर आमानेर बसी । मुडुली आफ्ना खस्रा औँलाहरू तेलमा चोप्दै शकुन्तलाको कपाल भित्रभित्र दौडाउन थालिन् ।
‘आमा यसपालि म एक्लै जान्नँ । तिमीलाई लिएरै जाने हो । तिमी सारै कमजोर भइसक्यौ । अब तिमी पनि गएर हामीसँग बस । ज्वाइँको पनि यै विचार छ ।’
‘तेरो भाग्य बलियो रैच, त्यति अनेक्का ज्वाइँ हुनुहुन्च । बुझक्की परिवार छ । नाति भएसि त झन् म नखाए नि अघाएजस्तै भकी छु । अब त मरे नि सुखले सास जाला । तेरो भविष्यको त चिन्ता थ्यो । अब आनन्द भैच्च ।’
‘ओ बूढी, जैले मर्ने कुरा न अर त,’ शकुन्तला झर्की ।
‘मन त मेरो नि छ तिमेरूसित बस्ने । तर तिउरो–पाखुरो चलुन्जेल त किन छोड्नी हो र यो घर ? कुटुम्मको घराँ बसेर नि कति दिन साध्धे लाउँच र ?’
‘उता घरमा नि अब को पो छ र ? बिरामी सासू मात्र । यता आउँदा उता सासू एक्लै, उता जादाँ यता तिमी एक्लै । सासूले नि सम्धिनी यतै बसे हुन्थ्यो भन्नुन्च ।’
‘विचार अरम्ला नि त केटी,’ आश्वासन त दिइन्, तर मनमनै बोलिन्, ‘कुटुम्मको घराँ बसेर मनाँ सन्तोष कहाँ मिल्छ ?’
केही बेरको मौनतापछि उनी गुनगुनाउन थालिन्–
एक्लै जाने हो
एक्लै जाने हो
सारा संसार छोडेर
एक्लै जाने हो ।
उनले गाएको गीत छाप्रोको भित्ताभन्दा पर गएन । तर, गीतभित्रको कथाव्यथा शकुन्तलाको मनको क्षितिजसम्मै पुग्यो । आमाले गाएको गीतका शब्दशब्द छोरीको मनभित्र बस्यो ।
गीत यसरी नै त अमर बन्दारहेछन् ।
...
तगारोको बाँस हटाएनन् । कछाड अलिकमाथि कम्मरतिर तान्दै तगारो नाघे र चौरेबारीको आँगन टेके साइँली खत्रिनीका श्रीमान् ऋषिरामले ।
‘दाजै !’ ऋषिरामले बोलाए ।
‘हँ, बस् केटा,’ गोबर फाल्दै गरेको हात बाल्टिनमा चोपेर कछाडमा दल्दै ऋषिरामको नजिक आएर बसे कान्छा पण्डित ।
लगभग ५० हाराहारीका हुन् ऋषिराम । अग्लो शरीर र गहुँगोरो अनुहार । जमानामा यो गाउँको सबैभन्दा बदमास व्यक्तिमा गनिन्थे रे यिनी । छोरी–बुहारी यिनका नजरबाट बचाउनू भन्थे रे गाउँलेले । तर, भनेर के गर्नु, कसैले उनलाई त्यस्तो नगर्नू भनेर सम्झाएनन् । बरु उल्टो भने– मर्द हुन् रिखीराम । मर्दलाई सत्रवटीलाई पनि बिटुलो पार्ने अधिकार छ ।
गाउँलेहरूको यस्तै स्वीकारोक्तिले ऋषिरामका सबै कुकृत्यलाई वैधानिक बनाइदियो । उनले गाउँले स्त्रीहरूलाई हातपात गर्नु आफ्नो जन्मसिद्ध अधिकार ठान्न थाले ।
कान्छा पण्डितले चिलिम निकालेर कक्कड भरे । भित्र पसेर आगो झोसेर फेरि बाहिरै आए र जय शम्भो भन्दै पहिलो सर्को ताने । आकाशतिर फर्केर बुङ्ङ धुवाँ उडाए र चिलिम ऋषिरामलाई दिए । ऋषिरामले पनि चिलिम ढोगे र जय शम्भो भन्दै लामो सर्को ताने । धुवाँलाई एकछिन मुखभित्रै डल्लो बनाएर राखे र चिलिम कान्छा पण्डितलाई नै अदबसाथ फिर्ता गरे । त्यसपछि धुवाँसँगै मिसिएर निस्किए ऋषिरामको मुखबाट शब्दहरू ।
‘दाजै ! तिमीलाई के लाइच्च ? मैले त यस्तो सुनिच्चु । हेर, त्यो रात हाम्रो नाति रूनुभन्दा केही समयअगाडि डढुवाकोटबाट एउटा रातो बत्ती हावामा निस्कियो रे । उड्दैउड्दै त्यो बत्ती पखरथोकको झाँक्रीको थानमुनि मुडुलीको खलोमा अडिएच । त्यै समयमा त यता तिम्रो नाति रोएच, उताट नि बच्चो रोको आवाज आएच । एकैछिनाँ त्यो बत्ती निभेच, यता बालखा पनि सकिएचन् । हेर दाजै, मुडुली फेरि जागी जस्तो छ । गाउँलेहरू भन्चन्– छोरीको बिहेमा तिमीले सहयोग नगरेको बदला लिई मुडुलीले । त्यसले नै खाई तिम्रो नाति । झाँक्रीलाई हाम्रो नातिको खुन चढाएर ऊ अझै बलियो बनिच्चे । यदि यो कुरो साँचो हो भने मुडुलीले तिम्रो घराँ शान्ति हुन दिन्ने । दाजै, क्यार्नी हो, विचार अर लौ ।’
कान्छा पण्डित अलमलमा परे । ऋषिरामका कुरा कान्छी पण्डितनीले पनि भान्छाबाट सुनिन् । उनी पनि साइँली खत्रिनी र घर्तीनीले लगाएको आगोले भित्रभित्रै जलिरहेकी थिइन् । भयमिश्रित स्वरमा भान्छाबाटै भनिन्, ‘मलाई त सारै डर लाइच्च रिखी नानी, यत्ति अर्नु रच र त केही दिनअगाडि यै बाटो आँखा तर्दै हिँडेकी थिई । लु न नानी, क्यार्नी हो हजुर नै अर्नुस् ।’
पण्डितनीको आत्तिएको आवाजले कान्छा पण्डितलाई नि हतार बनायो ।
‘यो घर नि तेरै हो रिखी । क्यार्न पर्च अर् । धामीझाँक्री सबै बोला । घराँ बोका र कुखुराको खुनको खोला बगाउन परे नि बगाम्ला । परिवार त जोगाउन परो । खर्चपर्चको चिन्ता पिटिक्कै नअर् ।’
आफ्नो कुराले असर गरेको बुझेर गमक्क परे ऋषिराम, फुलेका जुँगा मुसार्दै बोले, ‘केही उपाय त अर्नैपर्च । हिँड, अरूसित नि सल्लाह अरम् ।’
दुवै उठे । देबे्र हातको कोटको बाहुला अलिक माथि सार्दै, नाडीनेरको पुरानो खत छाम्दै ऋषिरामले मनमनै भने, ‘मुडुली, यो तैँले आँसीले हानेर काटेको घाउ मात्र हैन, तैँले मलाई नकारेर गरेको मेरो अपमानको चिनो पनि हो । हेरिराख्, यो खत नमेटिन्जेल तेरा दुःख मेटिन्नन् ।’
...
‘पण्डितका नातिको खुन चुसेर कत्तिकी बलियी भैस् हँ मुडुली ?’
नजिकैको जंगलमा दाउरा लिन जान लागेकी मुडुलीकै बाटो ढुकेर बसेका ऋषिराम आफ्ना फुलेका जुँगा मुठार्दै बोले ।
‘तँलाई कुकुर, मैले खुन चुस्न सक्ने भए तँ यहाँ उभिन्थिस् ? थुइक्क मुर्दार !’
ऋषिराम उभिएका बाटोमा थुक्दै मुडुली अगाडि बढिन् ।
ऋषिराम रन्थनिए ।
‘देख् न, तँलाई मेरा खुट्टा समातेर ज्यानको भिख माग्ने बनाइन भने !’
‘इस् !’
टाढैबाट ऋषिरामको अनुहारतिर इसारा गर्दै भनिन् मुडुलीले, ‘यत्रो जीवनभर ननिहुरेका मेरो शिर अब पर्ला तेरो खुट्टामा ? गाउँका आइमाईमाथि अत्याचार गर्ने लाइसन पाएको छु भन्ने लाग्छ हैन तँलाई ? तर, तेरा पनि दुर्दिन चाँडै आउँछन् ।’
‘अहो, अझै नि उस्तै फूर्ती ! तेरो हिम्मत हेरम्ला !’
मुडुली सरासर आएर ऋषिरामको अगाडि उभिइन् । राताराता आँखा पारेर ऋषिरामको अनुहारअगाडि चोर औँला पु¥याएर बोलिन्, ‘मलाई जुन खाल्टोमा धकेल्चस्, त्यो खाल्टोमा तँ पनि पुरिनुपर्च । विचार अर् !’
यति भनेर मुडुली छिटोछिटो पाइला सार्दै सरासर अगाडि बढिन् ।
असह्य भयो ऋषिरामलाई । हातको चिलिम इस्टकोटको खल्तीमा राखेर चौरेबारीतिर फटाफट पाइला सारे । बाटोभरि हातको खत यसरी समाते मानौँ, त्यो खत नभएर आलो घाउ हो, जसबाट तपतप चुहिरहेको रगतले उनको अस्तित्वलाई रक्तरन्जित बनाइरहेको छ । एक मन त उनलाई लागेको थियो, गर्दन थिचेर मुडुलीलाई ठाउँको ठाउँ सिध््याइदिऊँ । फेरि सम्झिए– सर्प पनि मर्ने, लट्ठी पनि नभाँचिने मौका यै हो ।
...
‘खुइया !’
लामो सुस्केरा हालेर पिढीँमा टुक्रुक्क बसिन् मुडुली । उनका आँखाभरि विगतका एकएक पल उभिए । सूर्य डाँडापारि डुबुन्जेल पनि उनी आफ्नो अप्रिय अतीतभित्र हराइरहिन् ।
मुडुली बन्नुुपूर्व उनी राधिका थिइन् । रूप र यौवनले भरिपूर्ण । रामजस्ता श्रीमान् थिए । शकुन्तला जन्मेपछि उनका श्रीमान्लाई रेल चढ्ने भूतले समात्यो र हानिए गोरखपुरतिर । त्यसपछि न कुनै खबर पठाए न आफू फर्किए । एक न एक दिन त पक्कै फर्किएलान् भन्ने आशमा छोराछोरीलाई बाबुआमा दुवैको स्नेह दिएर हुर्काइरहिन् । त्यसपछिका उनका दिन घाँसदाउरा र मेलापात गर्दै बिते । रात श्रीमान्कै सम्झनामा ओल्टोकोल्टो गर्दै बिते । तर, उनका श्रीमान् फर्किएनन्, न मरे–बाँचेको कुनै खबर आयो । बरु पठायो समयले एकएक गर्दै राधिकाको जीवनमा अत्यासलाग्दा अप्ठ्याराहरू । राधिकालाई हिम्मत चाहिँदा समयले चुनौती पठायो । साथमा कोही त होस् भन्दा गाउँ–समाजबाट पनि अलग बनाइदियो ।
लोग्ने आउने आशामा दिनैजसो काँडा झैँ घोच्ने अनेक अप्ठ्यारा र अपमानहरूसित सम्झौता गर्दै बाँच्न सिकिन् राधिकाले । बालक छोरो र काखकी छोरी बोकेर लड्दै र फेरि आफैँ उठ्दै गर्न पनि सिकिन् । जब आफ्नै मनसँग लडेर विजेता बनेकी थिइन्, तब उनले फेरि लड्नुपर्यो नियतिको अर्को लडाइँ । उनले यो लडाइँलाई न जित मानेकी छन् न हार ! गीतामा श्रीकृष्णले भने झैँ उनले कर्म गरिन् । आफ्नो अस्तित्व जोगाउने कर्म । तर, त्यही कर्मले फेरियो दुनियाँका नजरमा उनको अस्तित्व ।
एक साँझ घाँसको भारी चरप्प बोकेर घरतिर फर्कंदै गर्दा पछाडिबाट कसैले उनको भारी तानेर चितुवाले झम्टिएजस्तै झम्टियो । तर, पछाडिबाट फुत्त एउटा अग्लो आकृति निस्किएपछि उनले थाहा पाइन्, उनको अस्तित्वमाथि जाइलागेका ऋषिराम पो रहेछन् ।
‘ए राधे ! मेरी रानी ! परदेशीलाई सम्झेर यो जवानी खेर नफाल् ।’
गिद्धले झम्टे झैँ ऋषिरामले यत्रतत्र उनको शरीरमा थुतुनो पुर्याउन थाले । उनले भएभरको बल निकालेर ऋषिरामको सन्धीमा हिर्काइदिइन् । पीडाले ऋषिराम थचक्कै भुइँमा बसे । उनी जसै अघि बढ्न खोजिन्, ऋषिरामले उठेर उनको कपाल ताने । उनी हुत्तिएर ऋषिरामको शरीरसँग टाँसिन पुगिन् । ऋषिरामका हातहरू उनका ब्लाउजभित्र पुगे । निबुआ निचोरे झैँ ऋषिरामले उनको छाती निचोरे ।
झल्याँस्स उनले खुर्पेटोको आँसी सम्झिइन् । जसोतसो आफ्नो दाहिने हातले कम्मरबाट आँसी निकालिन् र मकैको डाँठ छप्काए झैँ ऋषिरामको देब्रे हातमा छप्काइन् । रगतको धारा बग्यो । ऋषिराम आत्तिएर छुट्टिए । उनी हतारहतार घर पुगिन् । आवेशमा ड्याम्म ढोका खोलेर भित्र पसिन् ।
श्रीमान्ले वर्षौँअघि ल्याएका थिए आधा जिउ देखिने ऐना । त्यो ऐना त्यो बेलादेखि झ्यालनिरको भित्तामा झुन्डिरहेको थियो । श्रीमान् गएदेखि राधिकालाई आफ्नो शरीर, रूप र सौन्दर्य अर्थहीन लागेको थियो । त्यसैले वर्षौँदेखि ऐनामा आफूलाई हेरिनन् उनले । तर, त्यो दिन आवेशमा उनी ऐनाअगाडि उभिइन् । रगत लागेकै हातले आफ्नो चुल्ठो समातिन् । आवेशमा उनको शरीर अझै पनि थरथरी कामिरहेको थियो । मानौँ, त्यति बेला उनको आत्मामा महाभारतकी द्रौपदीले प्रवेश गरिन् । द्युतसभामा दुशासनले चुल्ठो समातेपछि अपमानित महसुस गरेकी द्रौपदीले दुशासनको रगतले नभिजाएसम्म आफ्नो केश नबाट्ने प्रतिज्ञा गरे झैँ उनले पनि ऐनामा हेरेर प्रतिज्ञा गरिन् ।
‘यो कपाल मेरो कमजोरी रैच । ए बूढा, तिमी नआउन्जेल म कमजोर रहन्नँ ।’
टिनको बक्सामा जतन गरेर राखेको श्रीमान्को दारी खौरिने उस्तरा झिकिन् । रगत लागेकै हातले उस्तरालाई सिलौटोमा घोटेर धार लगाइन् । छेवैको भरिएको गाग्री आफ्नो शिरमा खन्याइन् । गर्दनको झुप्पो पोतेलाई निधारमा लगेर टाँसिन् र धारिलो उस्तराले भिजेको कपाल मुडिन् । उनलाई त्यति बेला के थाहा कि दुशासनरूपी ऋषिरामलाई उसको कृत्यको सजाय दिन उनको श्रीमान् भीम या अर्जुन बनेर आउने छैनन् । यो लडाइँमा उनलाई सधैँ एक्लै हुनुपर्नेछ ।
भोलिपल्टै ऋषिरामले हल्ला फैलाए, ‘राधिकाले टुनामुना सिक्दै रैछे । मलाई त हातमै झम्टेर खुन चुसी । धन्न, खुन धेरै बगेपछि बेहोस भएर बाटामा एक्लै लडेको मलाई चमच्चाका जेठाले भेट्टाएर स्वास्थ्यचौकीमा लगे र म बाँचेँ ।’
यो हल्ला एक कान दुई कान मैदान भइगयो । राधिकाको बदलिएकोे रूप देखेपछि गाउँलेहरूले त्यो हल्लालाई वास्तविक ठाने ।
‘हो त, झाँक्री थानाँ आफ्नो कपाल पनि चढाइचे ।’
गाउँ पूरै विश्वस्त भयो ।
राधिकाले लोग्ने नआउन्जेल पाल्दिनँ भनेर कपाल त मुडुलै हुने गरी खौरिन् । तर, न उनका श्रीमान् आए न त कपाल फेरि पूर्ववत् स्थितिमा आयो । आयो त राधिकाले कल्पनासम्म नगरेको आरोप आयो । त्यो आरोपको प्रतिकारमा जब उनी उत्रिन् तब झन् अपहेलित बनिन् । जजसलाई उनले त्यस साँझको वास्तविकता सुनाइन्, तिनैबाट उपेक्षित बनिन् । संसारै बलेको आगो ताप्न खोज्छ । राधिका त झन् खरानी नै भइसकेकी थिइन् । आगोको अगाडि खरानीको के मोल ? राधिकाको कुरा पत्याउनेहरूले पनि ऋषिरामको डरले खुलेर उनको समर्थनमा बोल्न सकेनन् । उनी महाभारतकी द्रौपदी थिइनन् । उनी त यो गाउँकी एउटी साधारण र असहाय महिला थिइन् । उनका लागि किन कसैले जोखिम मोलोस् ? किन कसैले ऋषिरामलाई मर्द बन्न छेकोस् ?
राधिकाले समाजको यो रूप पनि देखिन् । उनले समाजको यो क्रूर स्वरूपलाई घृणा गरिन् र चुपचाप यसलाई तीतो यथार्थका रूपमा स्वीकार गरिन् । तर, सधैँभरि उनको मनभित्र भीषण युद्ध चलिरह्यो । यो युद्धमा कौरव र पाण्डव एकातिर थिए र उनी एक्लै तिनीहरूको प्रतिकार गरिरहेकी थिइन् । हर्लक्क बढिरहेका छोराछोरी गणेश र शकुन्तलालाई हेरेर आफैँलाई थप दह्रो बनाएकी थिइन् । भविष्यको दैलोमा उभिएर दुःख हटाउने आश गरेको गणेश जातव्यवस्थाको चक्रव्यूहमा अभिमन्यु झैँ फस्यो । प्रेममा सहादत प्राप्त गर्यो । छोरा गुमाएपछि उनलाई लाग्यो अब गुमाउनका लागि केही बाँकी छैन । सोही वर्ष मंसिरमा ठूलो असिना पर्यो । सारा गाउँलेको धान खेतमा सोत्तर भयो । पहराको मुनि रहेको मुडुलीको पखरथोकको खेतमा कम असर गर्यो । त्यो वर्ष गाउँमा हाहाकार मच्चियो । छोरा मरेको बदला लिई मुडुलीले, उनीमाथि अर्को आरोप थपियो । राधिका समाजका लागि अझ डरलाग्दो बिम्ब भइन् । शिर मुडुलो बनाएकी मुडुली सारा गाउँलेका लागि भयानक बनिन् ।
...
‘आमा ! लौ तिम्रो सम्पत्ति । मलाई त भोक लाइच्च ।’
पिठिउँमा बोकेको छोरा आमाको हातमा राखेर शकुन्तला भान्छातिर पसी ।
‘आज मलाई जातिबित्ती न्यास्रो लायो केटी ।’
‘रातिराति काम अर्चेउ । थाकेर होला नि ।’
भान्छाभित्रैबाट शकुुन्तलाले गनगन गरी ।
नाति काखमा बोकेर मुडुली गुनुनाउन थालिन् ।
बारी रूखो साइँली मल हाले हुनी
कर्मै रूखो साइँली रोएर नहुनी
केही सम्झे झैँ गरेर शकुन्तला फुुत्त बाहिर निस्की ।
‘आमा, गाउँमा त धामी बोलाका रचन बाइ ? कल्लाई के भच र ?’
मुडुली झस्किन् ।
शकुन्तला फेरि भित्र पसी । मुडुली भने काखमा नाति च्यापेर आफ्नै अतीतको अँध्यारो सुरूङभित्र पसिन् । मुडुली बनेपछि उनी केके मात्र बनिनन् ? दुनियाँको नजरमा कहिले उनी चोर बनिन्, कहिले बोक्सी बनिन् । कहिले डायन बनिन् । कहिले उनका पैतालाका डोबमा थुकिए । कहिले उनको नाम लिएर खरानी फुकिए । हेलाँ र अपमानका सबै शब्द मुडुलीका लागि बने । उनका बारेमा अनेक डरलाग्दा र अनौठा किस्साहरू तयार भए । ससाना बालबालिकाका लागि उनी डरलाग्दो बिम्ब बनिन् । उनको घर र गाउँका बाँकी घरहरूबीच भौतिक सिमाना त कोरिएन, तर उनी र गाउँलेहरूबीचका सम्बन्धमा अनेक सिमाना कोरिए । अनेक अग्ला पर्खालहरू उभिए । वरिपरि मान्छे नै मान्छे भएर पनि उनी नितान्त एक्लो–एक्लो बनिन् ।
‘आमा, अब तिमी यहाँ एक्लै बस्दिन्यौ । भोलि नै जाने हो हाम्रो घर,’ शकुन्तला घरभित्रैबाट कराई ।
‘म एक्लो भएरै बलियो भएकी हुँ छोरी । भोलिको डर नभएसि, आज त यत्तिकै बितिहाल्दो रैच । तेरा हात ज्वाइँका हाताँ थमाएसि त म झन् ढुक्क भइच्चु । अब त मुखाँ बत्ती चढाउने नाति पनि भयो । पिर नअर केटी, अब त जस्तो दुक्ख नि हाइसुक्खले सहिदिन्चु । मर्नुभन्दा अगाडि एउटा काम अर्नु छ । सकुँला नसकँुला ।’
केही सम्झे झैँ कपाल सुमसुम्याउँछिन् मुडुली ।
‘आमा, तिम्रा दुक्खका दिन कहिले मेटिन्छन् ?’
मुडुली आफ्नै दुःखको इतिहासतिर फर्किइन् ।
‘खोइ, अब त मेरो जीवनमा कहाँ दुक्ख छ र ? अहिले त मनाँ सन्तोष छ । आँट पनि छ । बेलाबेला आफ्नै जिन्नकी देखेर अचम्म त लाउँच, तर यलाई दुःख छ भनुँकी सुख मैले नबुझेको कुरा । तर, जे छ बाँचुन्जेल त सहन परो ।’
‘मर्ने रट लाएर नबस तिमी । लौ खाऊ !’
शकुन्तलाले एक हातमा कोदोको झाँगे रोटी र गोलभेँडाको चटनी राखेको चरेसको थाल र अर्को हातमा पानी राखेको ढलोटको अम्खोरा मुडुलीका अगाडि राखी ।
मुडुलीले रोटीको सानो टुक्रा चटनीमा चोपेर मुखमा राखेर स्वाद लिएर चपाइन् । ढलोटको अम्खोराबाट पानी घुटुघुटु पिइन् । फेरि रोटीको सानो टुक्रा चटनीमा चोप्दै भनिन्, ‘बेलाबेला आउँचेस्, मेरो मुख उज्यालो हुन्च । जिब्रो स्वदिलो हुन्च । त्यही भएर नहुने रट नलगा । मेरो बाटो यै आँगनट निकाल्नू केटी ।’
शकुन्तला चुपचाप बसी ।
मुडुली गीत गुनगुनाउँदै गोठतर्फ लागिन्—
बाँचुन्जेल तेरो र मेरो
मरेपछि ढुंगाको चौघेरो ।
...
तगारानिरबाट खसक्क आवाज आयो ।
‘यो सम्साँझमा को होला त हँ ?’
काखमा छोरा च्यापेर शकुन्तलाबाहिर निस्की । टपरामा अँगार र खरानीमाथि खुनले लतपतिएको भोगटे र कालो कपडा तगाराको अगाडि राखिएको थियो ।
‘आमा ! लौन, के हो यो ?’
शकुन्तलाको अत्तालिएको आवाजले दौडँदै आइपुगिन् मुडुली । अँगार, खरानी, भोगटे र कालो कपडा देखेपछि उनले सबै कुरा बुझिहालिन् ।
‘पुरेतका नातिको खुन चुसेर खाइस् भन्दै थियो ऋषिरामले । त्यसैको तयारी हो पक्कै । पिर नअर् केटी । दुई–चार दिनाँ आफैँ हराउँचन् ।’
शकुन्तलालाई आमाको यो आत्मबलले जिल्ल बनायो ।
टाढा गाउँमा ढ्याङढ्याङ ढ्यांग्रो बजाएको आवाज सुनिन थाल्यो । त्यो आवाज मुडुलीले पनि सुनिन् । तर, उनको अनुहारमा चिन्ता या डरको सानो धर्सो पनि थिएन । शकुन्तलाले अनौठो मानेर आमातिर हेरिरही । उसले आमाको व्यक्तित्वमा सानैदेखि महाभारतको कथामा सुनेको द्रौपदीलाई देखी । दुशासनको रगतले आफ्नो केश भिजाउने प्रण गरेकी द्रौपदी ।
शकुन्तलाले सोधी, ‘आमा, वरिपरि यतिका शत्रुहरू छन् । तिमीलाई डर लाग्दैन ?’
मुडुलीले उस्तै आत्मविश्वासका साथ भनिन्, ‘अब क्यार्न डराउनु ? डर त तिनीहरूको मनाँ छ । त्यसैले बेलाबेलाँ मलाई बोक्सी भन्चन् र ढ्यांग्रो ठटाउँचन् । तिनीहरूभित्रको मप्रतिको डर नै मेरो शक्ति हो । म बोक्सी भएको दिनदेखि गाउँका पुरूषहरूले मेरो शरीरमाथि आँखा गाड्न डराउन थालेका हुन् । डरको यो सत्ता रहुन्जेल म यहाँ सुरक्षित छु छोरी । म हुन्जेल यहाँका पापीहरूको मुटुमा ढ्यांग्रो बजिरहन्च ।’
हो पनि, गाउँलेले एक्लो बनाएपछि आफू मजबुत बन्न समाजले जेजे कुरामा उनलाई निषेध गर्यो, उनले ती सबै गरिन् । खेताला खोज्दा, खेताला पाइनन् । आफैँ खेताला बनिन् । हली खोज्दा, हली पाइनन् । आफैँ हली बनिन् । महिलाले खेत जोत्नु हुन्न भन्थे । जोतिन् । उनले समाज र समय दुवैको विपरीत बगेर आफ्नो जीवनको उज्यालो जोगाइरहिन् । दाम्लो फुत्किँदा साडी च्यातेर गोरू बाँधिन्, तर जस्तोसुकै अप्ठ्यारोमा पनि उनले पखरथोक बाँझो राखिनन् ।
‘म गाउँलेहरूका नजरमा बोक्सी थिएँ । सबै ठान्थे, मैले भूतलाई आफ्नो वशमा पारेर कमारो बनाइच्चु । त्यसैले मेरो खेतको बाली लुट्ने हिम्मत कसैले गरेन । मैले मेरै बुताले आफ्नो खेतलाई सधैँ हराभरा पारिराख्न सकेँ ।’
शकुन्तला चुपचाप आमाको कुरा सुनिरहेकी थिई । मुडुली उठेर ऐनानिर गइन् र उस्तराले उम्रन थालेका आफ्ना केशहरू फेरि खौरिइन् ।
टाढा गाउँमा ढ्यांग्रो अझै बजिरहेको थियो ।
तर, डरको सत्ता सबैका मनभित्र स्थापित भइसकेको थियो । अब यो सत्ता ढ्यांग्रो ठटाएर ढल्नेवाला थिएन ।
०००
कथाकार परिचय
(पर्वत, लेखफाँटमा जन्मिएकी रेणुका जीसी रौतहट, चन्द्रनिगाहपुरकी स्थायी बासिन्दा हुन् । साहित्यका विविध विधामा रुचि राख्ने उनको गजलसंग्रह प्रकाशित छ । उनी कथासंग्रह प्रकाशनको तयारीमा छिन् ।)