site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्धुलीगढी घुमेर हेर्दा 
SkywellSkywell

जलजलेबाट काठमाडौंतिर पाइला सोझ्याउने तरखर गरिरहँदा क्षितिजभित्रबाट भर्खरभर्खर बर्काे उघारेर खोकिलामा उज्यालो च्यापेकी धरती मुस्कुराइरहेको अनुभूति हुन्छ । पूर्वी क्षितिज राताम्मे देखिए पनि धराको पोल्टामा घामका छिटा अझै खसिसकेका छैनन् । नजिकैका सिमल र बाँसका झाङमा चिरबिराइरहेका चराहरूका आवाजले धेरैका निद्रा खलबल्याइसकेको अनुमान गर्न कठिन पर्दैन ।

दूरदराजका मानव बस्तीबाट आएका बेलगामी स्वरहरूले समयलाई गतिशील तुल्याउन भरमग्दुर प्रयत्न गरिरहेको आभास हुन्छ । उदयपुरको आकाश र धरतीसँग बेलामौकामा आँखा जुधिरहेछन् । तथापि, न ऊ न त हामी नै परिचय साटासाटको मुडमा छौँ । बेलामौकामा नयनहरू एकापसमा जुध्न भने छाडेका छैनन् ।

यथास्थानमा तम्तयार छौँ हामी । अघि नै देखि गाडीको प्रतीक्षा भइरहेछ । हिजै टुंगो लागिसकेका कारण समयमै आइपुग्नेमा विश्वस्त छौँ । तर, समयले नेटो काटिसक्दा पनि ऊ आइपुगेको छैन । मन अमिल्याएर जलजलेको आकाशमुनि आफूलाई भुल्याइरहेछौँ । उसले समयको ख्याल गरिदिएको भए यतिखेर अघि नै लागिसकेका हुने थियौँ गन्तव्यतिर । तर, समय पार भइसक्दा पनि व्यग्र प्रतीक्षामा उभिएको उभियै छाैँ । बाटोतिरै एकाकार भएका छन् आँखा ।

KFC Island Ad
NIC Asia

हामी अर्थात् नगेन्द्रराज शर्मा, रोचक घिमिरे, मोहन दुवाल, वियोगी बुढाथोकी, नवराज पुडासैनी, लक्ष्मी भट्टराई र म अर्थात् नवराज रिजाल । आज उदयपुरमा पाइला राखेको तेस्रो दिन । स्थानीय साहित्यिक पत्रिका उदयमञ्जरी र संगम अभियानले आमन्त्रण पस्क्यो । अर्थात्, उदयपुरमा निम्त्यायो । यतिखेर निम्ता मानेर उदयपुर छाड्ने तरखर भइरहेछ । स्थानीय आयोजकहरूसँग हिजै बिदाबारी भइसकेका छाैँ ।

सदरमुकाम गाईघाट बजारबाट झन्डै सात किलोमिटरको दूरीमा छ यो स्थान । आतिथ्यता उदयपुर सिमेन्ट उद्योगले पस्क्यो । बसाइको क्रममा उद्योगसम्बन्धी प्रत्येक जिज्ञासाका एक–एक उत्तर पस्के प्रमुख सुरेन्द्र पौडेलले । केही गरौँ र गरे सकिन्छ भन्ने सोचका उनले आफू आएपछि उद्योगलाई नयाँ दिशा पनि दिए । सबैतिरबाट आफ्नो जिम्मेवारी यथासमयमा पूरा गरिदिने हो भने हरेक काम सफलताका साथ पूरा हुन्छन् वा लक्ष्यमा पुग्न सकिन्छ भन्ने उदाहरण यो पनि हो भन्ने निष्कर्ष हाम्रो टोली एकसाथ निकाल्छ ।

Royal Enfield Island Ad

उद्योगले गरेको प्रगति पत्रपत्रिकामा पढेको आधारमा उनले भने, “सकारात्मक सोच र चिन्तनले अगाडि बढ्दा काम गर्न सकिँदो रहेछ । मैले मिहिनेत गरेँ । साथीहरूले सघाउनुभयो । चुहावट रोक्यौँ । जथाभावी खर्च गर्न दिएनौँ । त्यसैले आजको स्थितिमा आयौँ । परिस्थिति बुझेर पाइला बढाउने हो भने सफलता पाइँदो रहेछ ।”

अकस्मात् मन तरंगमा लडीबुडी गर्न थाल्छ । सबैले यथास्थानबाट इमानदारीपूर्वक काम गरिदिने हो भने किन जान्थे र हाम्रा उद्योगधन्दा घाटामा ? योजनाबद्ध रूपमा घाटामा लैजाने अनि बेच्ने नियतले काम हुने गरेको छ हामीकहाँ । सरकारले चलाउँदा सधैँ घाटाको घाटामै जाने तर निजीलाई बिक्री गरेपछि नाफामा जाने कुराले बदमासीको संकेत गर्छ ।

खराब आचरण र कुनियतका कारण उद्योगधन्दाले प्रगति गर्न नसकेका हुन् । मूल धमिलो भएपछि खोलानाला सङ्लो हुने कुरै भएन । व्यक्तिवादी सोचले मनमस्तिष्कमा डेरा जमाएपछि हुने परिणति त्यस्तै हुन्छ । असल सोचले काम गर्न छाडेपछि विचार भाैँतारिन्छ, मूल्य–मान्यता कहिल्यै गतिशील बन्न सक्दैनन् ।

प्रत्येकको जीवनमा सकारात्मक चिन्तनको मुख्य भूमिका हुन्छ । न कसैलाई बाटो देखाउँछ न त विश्वासको पोखरीमा पौडन प्रेरित गर्दछ । संसारमै सकारात्मक सोच बोक्नेहरूको संख्या सानो छ । अर्थात्, धेरैतिर नकारपन्थीहरूको बहुलता छ । हामी पनि त्यही खोकिलोभित्र पर्छाैँ । ठिक उल्टो छ परिस्थिति । यसैले हाम्रा पाइला अपेक्षित अगाडि बढ्न नसकेका हुन् ।

तीन–तीन प्रधानमन्त्रीसँग समन्वय गर्दै के कसरी काम गरे, त्यो पनि सुनाए उनले । अन्यत्र कामविशेषले पुगेकाहरू समेत अतिथिगृहमा बस्न किन र कसरी आउँथे अनि त्यो प्रचलन हटाउन के–के गर्नुपर्यो, बेलिबिस्तार लगाउन पनि चुकेनन् ।

साँच्चै सकारात्मक सोच र केही गरौँ भन्ने विचारका रहेछन् उनी । सबैले यसैगरी इमानदारीका साथ काम गरिदिने हो भने कस्तो हुन्थ्यो होला ? मनमा प्रश्नहरू उब्जे । “अझै राम्रो गर्ने सोचमा छौँ,” उनले हाँस्दै थपे । “राम्रोका लागि धेरैको हात र साथ चाहिन्छ । त्यो मैले पाएको छु,” सुनाए ।

२०७४ फागुन २४ अर्थात् अस्तिको मध्य दिनदेखि हिजो बेलुकासम्म हाम्रो समय व्यस्ततामै बित्यो । नेपाल साहित्यिक पत्रकार संघ उदयपुर शाखाको गठनदेखि दुई स्थानीय कलेज त्रियुगा–जनता र बरुवा तथा संगम पुस्तकालयका कार्यक्रमहरूले व्यस्त बनाएका हुन् हामीलाई ।

अनि, उदयपुरे स्रष्टाहरू राममणि पोखरेल, माधवप्रसाद पोखरेल ‘गोज्याङ्ग्रे’, पुण्य कार्की र दुर्गा काफ्लेका परिवारका सदस्यहरूसँग उहाँहरूकै घरमा भेटघाट र भलाकुसारीमा सरिक हुँदै रमाउन तथा आत्मीयता साट्न भ्यायो, हाम्रो टोलीले । विगत–वर्तमान पढ्ने सिलसिलामा विचार र विश्वासमा आस्थाको फूल रोपेर मुस्कुरायौँ । आस्था, अठोट र चिन्तन मज्जैले देखायो ।

न पहाड न त तराई, दुवैको सान्निध्य पाएको रहेछ गाईघाटले । मानिसहरूको मिश्रित बसोबास । खानपान, हिँड्डुल, उठबस र रहनसहनमा समेत सम्मिश्रण । योजनासहितको बस्ती र चौँडा सडकले महानगरपालिका र उपमहानगरपालिका भइसकेका देशका कतिपय स्वनामधन्य स्थानहरूले समेत गाईघाटसँग सिक्ने कुराहरू धेरै रहेछन् भन्ने लाग्छ ।

गाईघाटको बस्ती विकासले नगरविकासमा कहिल्यै अवरोध पुर्याउँदैन । आहा ! महानगर र उपमहानगर आँखामा क्रमशः उपस्थित बन्दै जान्छन् । छातीभित्र प्रतिबिम्बित चित्रहरूलाई क्रमशः मेटाउँदै जान्छु ।

साहित्यकार राममणि पोखरेलका भनाइमा गाईघाट त्रियुगा नगरपालिकाभित्रको सहर हो । रौतापोखरी मुहान भएको त्रियुगा नदीको नाममा नामांकन गरिएको हो नगरपालिका । २०२८ देखि गाईघाटले उदयपुरको सदरमुकाम बन्ने अवसर भेटेछ । त्यसभन्दा अघि सदरमुकाम उदयपुरगढी रहेछ ।

पृथ्वीनारायणको एकीकरणअघि उदयपुर चौदण्डी राज्यको सीमानाभित्र पर्दो रहेछ । एकीकरण अभियानमा विजयपुरअगावै चौदण्डी एकीकृत भएछ । धरानलाई हेटौँडासँग जोड्ने अभियानमा रहेको मदन भण्डारी वैकल्पिक मार्गले गाईघाटलाई आफूमा समाहित गरेको छ । नेपालको संविधान २०७२ को परिकल्पनाअनुसार प्रदेश–१ मा रहेकोे उदयपुर पञ्चायतकालमा सगरमाथा अञ्चलका जिल्लाहरूमध्ये एक रहेछ ।

“लौ आइपुग्यो गाडी, पहिले हुटमा आ–आफ्ना झोला राखौँ,” मोहन दाइको आवाजले मेरो कल्पनाको तरंग झ्वाट्ट चुँडिन्छ । झल्याँस्स हुन्छु । साँच्चै विचारको तानमा लडीबुडी खेलिरहेको पो रहेछु त म । गाडी अगाडि उभिइसकेछ । ड्राइभर हुटमा झोला मिलाउँदै छन् । साथीहरू कोही बसिसक्नुभएको छ त कोही बस्ने सुरसारमा हुनुहुन्छ ।

हिजोअस्तिको कुरामा चुर्लुम्म डुबेको रहेछु । उदयपुरको सेरोफेरो तथा विगत र वर्तमानबारे कुराकानी भएका थिए । मेरो जिज्ञासा राममणिजीले मेटाइदिनुभएको थियो । जिज्ञासाले उत्तर पाएकामा खुसी थिएँ । गाडी कुर्दाकुर्दैको क्षणमा समेत ती तरंगित बनेर आएछन् । गाडी गुड्नै लाग्दा गाईघाटतिर फर्केर उसलाई बाइबाई गर्छु । मेरो हात हल्लिरहँदा ठाडो पुच्छर लगाएर गाडी कदमाहातिर कुद्न थाली पो हाल्छ त ।

गतिशील प्राणी हो मानिस । त्यसकै कारणले आजको स्थितिसम्म आइपुगेका हौँ । गतिशील हुँदैनथ्यो भने ऊ जस्ताको त्यस्तै रहिरहन्थ्यो । संसारमा उसको आजको रजगज देख्न सकिँदैनथ्यो । विश्व आज जे जसरी जहाँ पुगेको छ, त्यो सबै मानिसकै कारणले हो । हुन त उसको अवस्था सबैतिर एकैनासको छैन । कोही अगाडि बढिसकेका पनि छन् त कोही पछाडि छाडिएका छन् ।

कोही बीचमा छन् । कोही अझै पछाडि छन् । कोही लडेका छन् । कोही उठेका छन् । कोही भर्खर तंग्रिएर हिँड्ने सुरसारमा छन् । क्रम चलिरहेछ । सबैको गति एकै खालको नभएकाले यस्तो भएको हो । सबैको अवस्था एउटै हुन पनि सक्तैन । जीवनलाई बुझ्ने, पढ्ने र परिभाषित गर्ने प्रक्रिया समेत अलगअलग छन् । एउटै हुन्थ्यो भने संसारको रूपरङ पनि पृथक् हुन्थ्यो होला ।

संसारका सबैको चाहना निश्चित गन्तव्य नै हो । आर्थिक, सामाजिक अवस्था जेजस्तो रहे पनि जम्मैको चाहनाभित्र सुख, समृद्धि, उन्नति र प्रगति नै छ । त्यसैका निम्ति बाटिएका हुन् आपसी ईष्र्या, द्वन्द्व र प्रतिस्पर्धा समेत । त्यो एउटा दौड हो । भिडमा सहभागी छन् सम्पूर्ण मानिस । हिँडेकाहरू गन्तव्यमा पुग्न सक्छन् नै भन्ने पनि छैन, तर दौड चलिरहेछ । सामेली मात्रले पनि गतिशीलताको अर्थबोध हुन्छ । म्याराथनमा दौडनेहरू सबैले कसरी चुम्न सक्थे र सफलता ? तथापि, सबैको मनमा ढुकढुकीका रूपमा त्यो रहिरहेको हुन्छ । ती सामेल भएर आफ्नो औचित्य पूर्ण गर्न प्रयास गर्दछन् ।

“कद्माहा आइपुगियो हजुर” चालक सूचना पस्कन्छन् । आँखा कदमाहाको सेरोफेरेभित्र पोखिन्छन् । उत्तरबाट दक्षिणतर्फ आइरहेका हामी चढेको गाडी पश्चिम फर्केर गति समात्छ । अलिकति जानकारी समेल्छु– सप्तरीमा पर्दाे रहेछ यो स्थान ।

गाडी महेन्द्र राजमार्गमा हिँडिरहेछ । छेउछाउका दृश्यले बेलामौकामा घच्घच्याए पनि सधैँ साथ दिन सकिरहेका छैनन् । मेरो जिज्ञासामा चालक अगाडि भन्छन्, “पूर्वतर्फ कटौना, कटरवाना र कल्याणपुरपछि रूपनी आउँछ र त्यहीँबाट छुट्टिन्छ राजविराज जाने बाटो ।”

कद्माहाबाट महेन्द्र राजमार्गको पश्चिमतिर कुदिरहेछ चालक दलका दुई र हामी सातजना बोकेको टाटासुमो । आँखाले बाटामा लहान, कार्कीबजार, गोलबजार र चहरुवा पढ्दापढ्दै चालक संकेत गर्छन्, “सिराहा सदरमुकाम जाने बाटो यही हो हजुर ।”

मिर्चैयामा एक छिन थकाइ मार्छ गाडी । राजमार्गबाटै अलिकति पढ्न मन लाग्छ उसलाई । झ्वाट्ट सम्झनामा आउँदैन साथीहरूका नाम । स्मृति बिम्बमा पुगेर खोज्ने प्रयास गर्छु । बल्लतल्ल एक दशक सँगै काम गरेका बालेश्वर साहको नाम आउँछ । सिराहाको सन्हैठा निवासी हुन् उनी । उनका चार सन्तानलाई शिक्षादीक्षा दिएको छु मैले । यति मात्र हैन, दुई भाइहरू समेत दीक्षित भएका छन् । यतिखेर यहाँ छैनन् । भेट हुन पनि सक्दैन । आफू यता आएको जानकारी गराएको छैन ।

मिर्चैयाबाटै सुरु हुँदो रहेछ सगरमाथा राजमार्ग । त्यसले कटारीबजार हुँदै ओखलढुंगा, सोलुखुम्बु तथा खोटाङ जिल्लालाई जोड्दो रहेछ । तराई–पहाड जोड्ने यस मार्गकोे निर्माणले यो भेगका जनताको जीवनस्तरमा ठूलो प्रभाव पारेको अनुभूत हुन्छ ।

मस्तिष्कभित्र यति कुरा खेलिरहँदा हामी चढेको गाडी थकाइ मार्ने काम सकेर कुद्न थालिसकेको छ । म सम्झनाको तरंगमा रमाउँदै राजमार्ग छेउछाउका स्थानहरूलाई आँखामा पुनः कैद गरिरहेछु ।

बाटोको दुवैतिरको यात्रामा गुडिरहेछन् सयौँ गाडी । त्यहाँ यात्रा गर्ने यात्रुहरूको गणना हजारौँको संख्यामा गर्न सकिन्छ । सबै गन्तव्य पुग्ने चटारोमा छन् । यात्रीहरूलाई निश्चित स्थानसम्म पुग्न गाडीहरू सघाइरहेछन् । धेरैभन्दा धेरैको अधिकांश समय जाने–आउने सिलसिलामै बितिरहेछ । जम्मैका लक्ष्य छन् । गन्तव्य छन् । विश्वास छन् । आस्था छन् । अठोट छन् । जिज्ञासाहरू छन् ।

यस्तैयस्तैमा बितिरहेछ तिनीहरूको समय । तपाईं र म समेत टाढा छैनौँ । हिँडेकाहरू तोकिएका ठाउँसम्म सबै पुग्न सक्दैनन् । तथापि, हिँडाइ अर्थात् गति रोकिएको छैन । जब गति रोकिनेछ, तब संसारको प्रगति पनि रोकिने कुरा निश्चितजस्तै छ । पुरानो संसारको कल्पना आज गर्न सकिन्न भन्ने मेरो मान्यता छ । तपाईं चुनौती दिन त सक्नुहोला, तर म कुनै पनि हालतमा सक्दिनँ ।

खुला आकासमुनि निर्बाध गुडिरहेका गाडीभित्रबाट देखिने दृश्य, परिदृश्य र आवाजले तन्द्रा बिथोल्न सक्दैन । त्यसैले अलिकति गफिइ पनि रहेछौँ । तत्–तत् स्थानका नाम क्रमशः कैद भइरहेछन् आँखामा । बन्दीपुर, कमलानदी, धारापानी, गोदार, ढल्केवर, लालगढ, रतुवाजस्ता नामहरू संकलित बन्दै जान्छन् । नामको आफ्नै महत्त्व छ ।

कामको विशिष्ट औचित्य छ र गतिशीलताको विशेष उचाइ छ । सबैलाई एउटै डालोमा खाँदेर यथार्थबोध गर्न सकिँदैन । अचम्मको छ सांसारिक रीतिथिति । यस सम्बन्धमा प्रशस्त खोज नभएका पनि होइनन्, तर यही मात्र हो भनेर कसैले ठोकुवा गर्न सकेका छैनन् ।

कल्पना र विचार एउटा कुरा हुन् । त्यसको खण्डनमण्डन पनि भएको छ । विचारलाई तर्कले काटेको छ । आस्थालाई अठोटले छोपेको छ र चिन्तनलाई मननले ढाकेको छ । हामी विचार र विश्वासमा हराइरहेछाैँ ।

“बर्दिबासनिकट छौँ हामी” रोचक दाइ सूचित गर्नुहुन्छ । छरपस्ट बन्छन् आँखा वरिपरिका परिवेश पढ्न ।

“आइसक्यो नि” नगेन्द्र दाइ हाँस्दै थप्नुहुन्छ । यसो भन्दाभन्दै रोकिन्छ गाडी । साँच्चै बर्दिवास त हामीलाई पर्खी पो रहेको रहेछ त । मज्जैले हेरेँ उसलाई । यसो भनौँ, धित मर्ने गरी । आँखा एकापसमा जुधे । न उसले बोलायो न त मैले नै मुख खोल्न सकेँ । महेन्द्र राजमार्गलाई बाइबाई गरेंँ बर्दिबासबाट । ऊ पश्चिम अर्थात् पथलैयातिर लाग्यो । म चढेको सुमो बीपी राजमार्गको फेर समात्दै काठमाडौंतिर हान्नियो ।

बाइबाईको प्रत्युत्तरमा उसले भन्यो, “म नेपाल र नेपालीको असल साथी हुँ अर्थात् मैले धेरै देशवासीलाई मेरो ढाडबाट हिँडाएर निर्दिष्ट स्थानमा पुर्याएको छु ।”

“लामो हुनुको नातामा स्वाभाविक हो,” मैले प्रत्युत्तरमा भनेँ । यसपटक ऊ बोलेन । मैले पुनः बाइबाई गरेँ । यतिखेरसम्म गाडीले गति लिइसकेको छ । मेरो मन बिहानैदेखि हिँडिरहेको बाटोमा हराइरहेछ ।

बाटो र जीवनबीच घनिष्ठ सम्बन्ध छ । जीवन बाटो खोज्छ र बाटो जीवनलाई सुन्दरताको पाटोतिर डोर्याइरहन्छ । हामी यही बाटोबाट अस्ति गएका थियौँ । आज फर्किरहेछाँै । मान्छे हिँड्छ अर्थात् जीवन हिँड्छ, बाटो हिँड्दैन । उसैको सहारामा संसार गतिशील बन्छ, तथापि हामी आफू हिँडेको बाटो भुल्छौँ, तर यात्रा बिर्सन सक्दैनौँ ।

कसैले बाटो नभुल्ने हो भने संसार कस्तो होला ? प्रश्न जन्माउन खोज्छ मन । बाटो भुल्नेहरूको संख्या ठूलो छ । न तिनीहरूको गणना गर्न सकिन्छ न त बाटो सोझ्याउन नै । संसारमा धेरै छन् त्यस्ताहरू । हाम्रोमा त झन् कति छन् कति । सबैतिर बाटो भुल्नेहरूकै रजाइँ चलिरहेछ । अचम्म छ ! भुल्नेहरूले नभुल्नेहरूलाई कज्याइरहेछन्, सिकाइरहेछन् र सन्देश बाँडेर कुहिराको काग बनाइरहेछन् । यसैले त हो नि, परिवेश धुमिलधुमिल बनिरहेको । तथापि, बाटाहरू कृतघ्न बनिसकेका छैनन् ।

फागुन महिना, मौसम रापिलो भए पनि मलिनु छ घाम । आकाशमा कतैकतै बादलका टुक्राटुक्री देख्न सकिन्छ । निर्जन जंगलमा हिँडिरहेको गाडीभित्र सवार छौँ हामी । बेलामौकामा आउने चराचुरुंगीका आवाज र यदाकदा देखिने बाँदरहरूले भने समयसमयमा ध्यान भंग गराइरहेछन् । पातलै भए पनि खासखुसमा रमाएको छ मन । भाषा, साहित्य, साहित्यिक–पत्रकारिता, विधागत–लेखन, प्रकाशन र बिक्री–वितरण विषयवस्तु बनिरहेछन् ।

सन्दर्भ–प्रसंगमा टाउको हल्लाउने काम गरिरहेछु । विचारमा, प्रसंगमा र दृष्टान्तमा गहिरा, फराकिला र उच्च उचाइका सन्दर्भहरू आएका छन् । आत्मसात् गरिरहेछु क्रमशः । मेरा अग्रज हुनुहुन्छ दाजुहरू, विस्तारपूर्वक सुनिरहेछु । रचना त उमेरमा मभन्दा पनि जेठो पत्रिका हो । जीवनलाई सिकाइ र बुझाइ मान्दै अग्रजहरूबाट जान्न, बुझ्न, सिक्न र अनुभूति सँगाल्न खोजिरहेछु । यस्ता मौकालाई अवसरका रूपमा विगतदेखि नै लिइरहेछु । अझै लिने अभिलाषा मनमा सँगालिरहेछु । आजलाई मैले त्यही रूपमा लिएकाले अगाडि, अगाडि र अझै अगाडि पुग्ने प्रयास गरिरहेछु ।

बर्दिबासबाट गाडी उत्तरतिर कुद्न थालेदेखि नै लक्ष्मी भट्टराई बढी खुलिरहनुभएको छ । नगेन्द्र दाइ र रोचक दाइको अलि बढी साथ पनि छ । महाकाव्यकार उमानाथ शास्त्री ’सिन्धुलीय’ हुँदै मकवानीबालाको प्रसंग पनि जोडिइरहेछ यथासमयमा । मोहन दाइ, वियोगी दाइ, नवराज पुडासैनी र म स्वयंको जिज्ञासाले अझै सक्रिय तुल्याएको बुझ्ने रहरहरूलाई । उत्तरहरू आइरहेछन् क्रमशः ।

लक्ष्मीजीको सिन्धुलीसँग वैवाहिक र नगेन्द्र दाइ तथा रोचक दाइको रामेछापसँग पुर्ख्यौली साइनो छ । यही सेरोफेरोमा भाषा, साहित्य र राजनीतिले बढी स्थान पाइरहेछन् । कोसी, रोसी, रामेछाप, सिन्धुली, मन्थली र बनेपा, शंकर कोइराला र खैरिनी घाट तथा धुलिखेल पटक–पटक प्रसंगमा जोडिएका छन् ।

बनेपा र धुलिखेल जोडिँदा मोहन दुवाल बढी जोडिने गर्नुभएको छ । यो भेगका पञ्चायती र कांग्रेसी राजनीतिका विभिन्न पात्रहरू पनि सुनाउनुहुन्छ नगेन्द्र दाइ । सबैजना जिज्ञासु तथा असल स्रोता बन्नुलाई गर्व गरिरहेछौँ ।

गल्छी, गौँडा र घुमाउरा पार गर्दै गाडी कुदिरहेछ । दायाँ–बायाँ आँखा लगाउन र  विचारविमर्शमा उसको कुनै संलग्नता छैन । हामी उसले नगरेको क्रिया–प्रतिक्रिया गरिरहेछौँ । हाम्रोझैँ उसको पनि दृष्टि छरिने र विचार पोखिने हो भने अनर्थको सम्भावना प्रचुर हुन्छ । त्यसैले बातचितमा संलग्न गराइरहेका छैनाैँ । यसैमा त छ नि सवारहरूको कल्याण ।

ऊ निर्बाध गुडिरहेछ । हामीलाई बाहिरी वातावरण र भित्री परिवेशमा पौडन पूर्ण छुट छ । त्यसको उपयोग गरिरहेछौँ । सबैको मन रमाइरहेछ, हराइरहेछ र विश्वासको पोखरीमा पौडने अठोट बोकेर हिँडिरहेछ । सबले आ–आफ्ना परिधि बुझिदिने हो भने आकाश र विश्वासको धरातल कस्तो हुन्थ्यो होला ? मनमा बारम्बार प्रश्नहरू उठिरहन्छन्, दर्के पानीमा जन्मने फोका जस्तै ।

वर्तमानको स्वागतमा आफूलाई समर्पित गर्दा विगतलाई धारे हात लाउनुपर्छ भन्ने सोचको पक्षपाती होइन म । बाँच्ने उपक्रममा मान्छेहरू विगतप्रति विष वमन गर्दै आफूलाई चोख्याउने प्रयास गरिरहेछन् । हरेक नाचको आफ्नो ताल हुन्छ, नियम हुन्छ र अवस्था पनि हुन्छ । हामी नाफाका निम्ति जसरी पनि नाच्न तयार भइरहेछौँ ।

जीवनको उपलब्धि नाफा र नोक्सानमा जोखतौल गर्न सकिन्न, तथापि आँखा त्यहाँबाट एक पाइलो पनि वर वा पर सर्न सकिरहेका छैनन् । बनाएको बाटोमा हिँड्ने र बाटो बनाउनेको बीच ठूलो विरोधाभास छ । कहिलेकाहीँ त अर्काले बनाएको बाटोबाट हिँड्नेहरू नै अगुवा बनेको अवस्था पनि आउँछ । अरूले बनाएको बाटोबाट हिँड्नेले न अघिको सिंगो संसार देखेको हुन्छ न त पछिको विचारको पर्खाल नै । इसारामा नाच्ने र बाँच्नेहरूसँग अधिक अपेक्षा राखियो भने निश्चित छ, एक न एक दिन अवश्यै भासमा परिन्छ ।

सिन्धुली जिल्ला प्रवेश गरेदेखि नै मनमा विविध प्रश्नहरू उब्जिइरहेछन् । मनको किनारको पर्खाल भत्किएको छ । आस्था आकाशमा उड्न खोजिरहेछ । विश्वासको धरातल क्रमशः गहिरिँदै छ । अलमल्ल बन्न खोजिरहेछ, मनमस्तिष्क । सम्झना विगतको उकालो उक्लिरहेछ । आँखा हिँडिरहेको गाडीबाट विगतमा नेपालले पहिलोपटक अंग्रेजसँग जितेको सिन्धुलीगढीको युद्ध र युद्धमा योगदान गर्ने वीर योद्धाहरूको उपस्थितिको अवशेष बाटोछेउछाउ र जंगलतिर छ कि भनेर खोज्न थाल्छ । तिनै वीर–वीरांगनाको अदम्य साहस, योगदान र कर्तव्यबोधले जीवित तुल्याइरहेछ नेपालीलाई ।

मानिस कामले बाँच्छन्, योगदानले बाँच्छन्, वीरताले बाँच्छन् र कर्तव्यबोधले बाँच्छन् । सयौँ वर्षअघि यो संसारबाट बिदा भएकाहरूलाई पनि आज त्यसैका आधारमा सम्झिइरहेछौँ । उनीहरूको गुणगान गाइरहेछौ । प्रशंसामा रमाइरहेछौँ । त्यसले जीवनका विविधतामा उत्सर्ग र त्याग गर्न प्रेरित गरिरहेछ र हिँड्ने बाटाहरू सधैँ खुला राख्न हौस्याइरहेछ ।

सिन्धुलीगढीको भिडन्तमा दुई पक्षको बीच ठूलो अन्तर थियो । नेपाली योद्धाहरू देशभक्तिपूर्ण भावले लडिरहेका थिए । यता न यथेष्ट हातहतियार थिए न त लडाकुहरूमा युद्धकौशल नै । योद्धाहरू परम्परागत हतियारमै भए पनि साहसका साथ लडेका थिए । विपक्षहरूसँग सबै कुरा थिए । पूरा तयारीका साथ सबक सिकाउन आएका ती युद्धकलामा पारगंत थिए । तर, ती मातृभूमिका लागि लडिरहेका थिएनन् । उद्देश्य साम्राज्य विस्तार थियो । कसैलाई सहयोग गरेर नाफा आर्जन गर्नु वा स्वार्थ भजाउनु प्रमुख ध्येय थियो ।

तर, हाम्राहरू पुर्ख्यौली माटो रक्षाका लागि लडिरहेका थिए । स्वाभिमान र स्वतन्त्रताका निम्ति भिडिरहेका थिए । कुनै निजी स्वार्थ थिएन । एउटा बाटोमा निष्ठाका साथ हिँडिरहेका थिए । आस्था र विश्वास, काँधमा बोकेर पाइला चालिरहेका थिए । फुट, बेमेल, वैमनस्य र स्वार्थजस्ता कुराले पोलेकाले एकताका निम्ति सङ्लो मन र खाली खुट्टाले जीवन रचिरहेका थिए । मनमा संकल्प थियो– एकताको, मेलमिलापको र समृद्धिको ।

एकीकरण अभियानमा यो जितले लडाकुहरूको मनोबल उच्च बनाएको थियो । आस्था र विश्वासका वृक्ष हरेक मनहरूमा उम्रिएका थिए । जनताहरू जागेका थिए । युद्ध जितिएको थियो । हामीसँग के थियो त विजयमाला पहिरिने आधार ? हो, केवल जोस थियो । देशभक्तिको भाव थियो । उत्साह र उत्तरदायित्व थियो । नागरिक हुनुको कर्तव्य बोध थियो । युद्धसामग्री, युद्धकौशल, रणनीति, कूटनीति, शक्ति, सामर्थ्य र हातहतियार जे–जे भए पनि ती हारेका थिए, शर्मनाक हार । हारपछि ती तिल्मिलाएका थिए र भयभीत बनेका थिए ।

बहानाबाजी गरेर हामी र हाम्रालाई होच्याउने प्रपञ्च रचिरहेका थिए । झुटो प्रचार गराएर आफूलाई माथि देखाउने प्रयत्न गरिरहेका थिए । कालान्तरमा त्यस्ता प्रपञ्च सबै हावामा उडे । हाम्रा बहादुर, निर्भीक, कुशल, शूरवीरहरूका पराक्रमले उठ्नै नसक्ने गरी पछारिए । त्यो घाउ निको तुल्याउन ठूलो बलबुद्धि र जुक्ति लगाउँदा समेत पछि पर्नुप¥यो तिनीहरू ।

मन गाडीभित्रैबाट जंगल, भीरपाखा, खोँचका छेउछाउ, उकालीओरालीका अन्तरकुन्तर तथा खाल्डाखुल्डीमा खोजिरहेको छ युद्धका अवशेष । आँखा स्थिर छैनन् । कहिले कता पुग्दथे त कहिले कता । जयप्रकाशका दूतहरू अंग्रेजका पृष्ठपोषक तथा स्वार्थका मालामा आफैलाई बेच्न उद्यतहरू पढ्न खोज्छन् आँखा । एकपटक भए पनि पढ्ने अभिलाषा बोकिरहेको छ मन । कस्ता होलान्, कता होलान्, के गरिरहेका होलान् छातीमा प्रश्नहरू छन् । विचारको पर्खालमा उक्लेर विश्वास र आस्थाको धरहरा ठड्याइरहेको छ ।

हामी सवार गाडीको गति जतिसुकै तेज वा सुस्त भए पनि आँखा बाहिरी संसार पढिरहेछ । मलाई भित्रीभन्दा बाहिरी परिवेशले बेस्सरी तानिरहेको छ । हरियाली क्रमशः पहेलिँदै गइरहेको भए पनि मन हावामा कावा खाँदै रमाइरहेछ ।

उड्ने परिकल्पना बोकेर सदियौँदेखि हिँडिरहेको ऊ यसलाई ठूलो कुरा मानिरहेको छैन । हुनसक्छ, कोही कसैलाई अप्ठेरो र सजिलो जे भए पनि मनलाई समात्ने इच्छाभित्र विचार रोप्दै म गाडीको गतिलाई साथ दिइरहेको छु । यो मेरो नवीन चाह हैन, पुरानै हो । केवल त्यसलाई निरन्तर साथ दिइरहेछु, विगतलाई वर्तमानसँग जोड्दै ।

साँच्चै हाम्रो इतिहासमा निकै ठूलो महत्त्व राख्छ यसले । युद्ध र विजयपछि एकातिर हामीले आधुनिक हतियार प्राप्त गर्याँै भने अर्कातिर फिरंगीहरूका गतिविधिलाई नजिकबाट अवलोकन गर्ने अवसर भेट्याैँ ।

आदरणीय वीर–वीरांगनाले तिनीहरूको युद्धकौशल देख्ने अवसर पाए । पहिलोपटक तिनीहरूसित लडेका हामीले स्मरणीय तरिकाले पराजित गर्याँै । भारतमा शक्ति सञ्चय गरेर त्यहीँका राजा रजौटाहरूलाई वशमा राखी आफूलाई शक्तिशाली र चाहे जे पनि गर्न सक्छाैँभन्ने अभिमान बोकेका ती पछि हट्न बाध्य भए ।

काठमाडौंमा पाइला हाल्नु त कता हो कता, सिन्धुलीगढीको सानो किल्ला नै भेदन गर्न सकेनन् । पराक्रमी र शूरवीर ठानिएका ती नराम्रोसँग झुके । परम्परागत हातहतियारका माध्यमले लडेका हामीले विजयमाला पहिरियाैँ ।

एउटा कुरा फरक थियो, हाम्रा योद्धाहरू एकताको लडाइँमा थिए । विभाजन रेखा मेटाएर एकत्रित हुने उद्देश्य थियो । तसर्थ, सफलता हामीतिर आयो । तर, ती विभाजनको रेखा मजबुत बनाउँदै हाम्रा चिन्तन, विचार, लक्ष्य साँघुर्याउन आएका थिए, त्यसै कारण सफल हुन सकेनन् ।

नागबेली बाटोमा गुडिरहेको गाडीभित्रैबाट बाहिरी संसार चिहाउन थाल्छु । कप्तान किन्लक, होगान, लोगान र नेपाली वीर वीरांगना क्रमशः आइपुग्छन् आँखामा । विकट पहाड, भीर पहरा, झाडी, बुट्यान, खाेँच, ठूलाठूला रूख, तिँदु, चुत्रा र काफलका झाङ झाडी, ऐँसेलु तथा गुँएलो सल्बलाउँछन् छातीमा । सिस्नो, रुदिलो, गन्दे, वनमारा र तितेपातीको उपस्थितिले छरपस्ट बनाउँछ विचारका तरंगहरूलाई ।

कति सहयोग थियो होला हाम्रा योद्धाहरूलाई ? मौरी, झ्याउँकिरी र अन्य किरा फट्याङ्ग्रासमेत पक्षमा थिए । प्रकृतिको साथ त छँदै थियो । त्यसले हौसला, विश्वास र शूरता थपेको थियो । खोलानाला, बाढी, भेललगायत परिवेशले पनि हाम्रालाई साथ दिएका थिए ।

नेपालीको काम जुटाउनु थियो । मिलाउनु अर्थात् जोड्नु थियो । भत्केको टालटुल गर्नु थियो । बिग्रेको सम्हाल्नु थियो र एकगठ तुल्याएर एकाकार बनाई सबल पार्नु थियो । त्यसैले पाइला क्रमशः सफल बनिरहेका थिए ।

मन इतिहासको पानातिर पुग्छ । विक्रम संवत् १८२४ असोज १५ गते सिन्धुलीगढीमा गोर्खाली सेनाले दक्षिण मोहडाको ठाडो उकालो र अक्करहरूमा फिरंगी सेनालाई हराएका थिए । त्यसपछि तिनीहरूले ४७ वर्षसम्म हाम्रो देशतिर हेर्न आँटसम्म गर्न सकेनन् ।

कान्तिपुरका राजा जयप्रकाशको निमन्त्रणामा आएका तिनीहरूका साथ हातहतियारले सुसज्जित २४ सयभन्दा बढी लडाकु सैनिक थिए । उनीहरूको एक्लो उद्देश्य गोर्खालीलाई पराजित गर्नु थियो । तर हातहतियारको नाममा खुँडा, खुकुरी, धनुकाँड, घुँयेत्रो र पत्थरकला जानेका अनि सीमित संख्यामा भरुवा बन्दुक बोकेका १२ सय गोर्खालीसँग ती हारेका थिए । यो हारले तिनीहरूको मन नराम्रोसँग झस्किएको थियो ।

हामी नेपाली प्रकृतिपूजक हौँ । हामीले सदियौँदेखि उसको पूजा–आराधना गरिरहेछाैँ । हामी ढुंगाको पूजा गर्छाैँ । माटोको पूजा गर्छाैँ । गोठको पूजा गर्छाैँ । गाईगोरुको पूजा गर्छौँ । कुकुरको पूजा गर्छाैँ । कागको पूजा गर्छाैँ । वरपिपल, शमी र बेलको पूजा गर्छाैँ । सर्पको पूजा गर्छाैँ । पानीको पूजा गर्छाैँ । जमिनको पूजा गर्छाैँ । पाहुनाको पूजा गर्छाैँ । जीवजन्तु र बोटबिरुवा सबैको पूजा गर्छाँै ।

तर, यतिखेर हाम्रा मन बहकिएका छन् । विचार तितरबितरको अवस्थामा छ । आस्थामा धमिरा लाग्न खोजिरहेछन् । विश्वास कुहिने तरखरमा छन् । मूल्य–मान्यता र दृष्टिकोण अन्धविश्वास तथा रूढिमा परिवर्तित गराइँदै छ । सजिलो उपाय हो यो । छानबिन र खोजतलासतिर हामी लाग्न सकिरहेका छैनौँ ।

हामी सजिलो खोजिरहेछौँ । संस्कृतिमा आगो झोस्न परे पनि अप्ठेरो लाग्न छाडेको छ । प्रश्नका साथ खोज्ने, मूल्य–मान्यताको बोध गर्ने चिन्तनलाई क्रमशः तिलाञ्जलि दिइरहेछौँ । मस्तिष्कमा प्रश्न उठ्न छाडेका छन् । विचार गुजुल्टिएर कुना पस्ने परिस्थिति आइसकेको छ । एक्लै नहिँड्ने मानसिकता क्रमशः निर्माण भइरहेछ ।

हिजोको जीवनशैली खोजपूर्ण र ओजपूर्ण थियो । प्रश्न मन–मस्तिष्कमा बारम्बार उपस्थित हुन्थे । तिनले हिँड्न सिकाउँथे । बस्न सिकाउँथे । बोल्न सिकाउँथे । आस्था र विश्वास सिकाउँथे । जीवन–जगत् सिकाउँथे । विचारको पाटो गोडमेल गर्न सिकाउँथे ।

आज हामी बाटो बिराउन खोजिरहेछौँ । सजिलोको नाममा परचक्री बाटो सम्याउन आइरहेछ । उसैको पदचाप पछ्याइरहेछौँ । आफूलाई बिर्सिरहेछौँ । आफ्नोलाई मेटाइरहेछौँ । आदेश दिइरहेछ । हामी अक्षरशः पालना गरिरहेछौँ । हिँड्ने बाटो र पुग्ने गन्तव्यको अलमलमा उत्पन्न हुने अवस्था यही हो ।

आफ्नोपन मेटिएपछि आउने स्थिति यस्तै हुन्छ । भोग्ने अवस्थामा आइपुगेका छौँ । यो परिस्थिति आफूलाई मिटाउन तत्पर रहनुका कारण उत्पन्न भएको हो । किन यस्तो बाटोमा हिँडिरहेछौँ ? बाटो आफैँले बनाउन नसक्ने कस्तो अवस्था हो यो ? मेरो मनमा निकै समयदेखि घोचिरहेछ यो प्रश्नले ।

अलिकति पाखा लागेर विश्राम लिन्छ गाडी । कालाम्मे छ आकाश । पानी चुहिएलाचुहिएलाजस्तो पनि देखिँदै छ । हुरी–बतासको आशंका पनि गर्ने स्थिति छ । सिन्धुलीगढीको अवशेष हेर्न गाडीलाई तलै छाडेर जाने सहमति बन्छ । रोचक दाइ र नगेन्द्र दाइको नजाने संकेतपछि उकालो लाग्छाैँ । अस्तिकै दिनको बनिबनाउ योजना हो यो । निक्कैअघिदेखि सोच थियो त्यहाँ पुग्ने । परिस्थितिले साथ नदिएता पनि मन भने उजुकउजुक भइरहेको थियो ।

माध्यमिक तहको विद्यार्थी हुँदैदेखि त्यो युद्ध, ती योद्धा, तिनीहरूको चातुर्य, साहस, बहादुरी, उत्साह, देशभक्तिपूर्ण भाव, जुक्ति, बुद्धि, शूरता र वीरता मनमा छताछुल्ल पोखिएका थिए । अनि विपक्ष, तिनीहरूका कुटिलता, दम्भ र मिचाहापन बेलाबेलामा आउने गर्थे आँखामा ।

आजै पनि बर्दिबासबाट उकालो लागेदेखि मन विचारको सागरमा हराइरहेको छ । पुराना स्मृति छातीमा क्रमशः आइरहेका छन् । सुनेका कुरालाई पुष्टि गर्ने प्रमाणहरू छन् । विपक्षका कप्तान किनलक, हार्डी, उडम्यान, होगान, लोगान, उमदा र रामदास तथा पक्षका वंशु गुरुङ, श्रीहर्ष पन्त, वीरभद्र उपाध्याय, रामकृष्ण कुँवरहरू क्रमशः आँखामा उपस्थिति जनाउँछन् ।

स्थानहरू खोज्न र बुझ्न थाल्छन् । विचारविमर्शमा हराउँछु । कल्पनामा डुब्छु र विश्वासमा छरपस्ट बन्छु । आजभन्दा पौने तीन सय वर्षअगाडि लडिएको त्यो युद्ध, त्यति बेलाको परिवेश, मानसिकता र चेतनास्तर तथा वर्तमान परिवेश दुवैको जम्काभेट एक्कासि मनमा हुन्छ । ती घरी मलाई त घरी एकापसमा हेराहेर गर्छन् ।

सम्भवतः ती मबाट दुवै आस्थाको विश्लेषण गराउन खोज्दै छन् । मतिरको हेराइले त्यही पुष्टि गर्न खोजेको आभास हुन्छ । म बोल्ने पक्षमा छैन । यथार्थको अनुमान लगाएर पनि बुझेको न नबुझ्यै गरिरहेछु । वर्तमानले सिकाएको एउटा स्मरणीय पाठ हो यो ।

जंगलको बीचमा छन् गढीका अवशेष । बस्ती विस्थापन भएपछि बुट्यानले आश्रय पाएको छ वरिपरि । बस्तीको नामनिसान देखिँदैन कतै । झलक्क हेर्दा कुनै समयको महत्त्वपूर्ण गढी र एक क्षेत्रको सदरमुकाम समेत थियो भन्न सकिने अवस्थै छैन । सिन्धुलीको मात्र नभई कुनै जमानामा पूरै पूर्व दुई नम्बरको सदरमुकाम थियो यो । दुई नम्बर भन्नाले राणाकालीन एउटा प्रशासनिक एकाइ हो । पछि दुई नम्बरको मुकाम नै रामेछाप स¥यो ।

एउटा कालखण्डमा सिन्धुलीगढीले त्यो सबै हेर्थ्या र दुई नम्बरभित्र सिन्धुली, रामेछाप र दोलखाका प्रशासनिक एकाइहरू समेटिएका थिए । यतिखेर निर्जन छ यो स्थान । सिन्धुलीकै सदरमुकाम समेत सिन्धुलीमाडीमा सरिसकेको छ । गढीको स्याहारसम्भारको जिम्मेवारी कतै कसैले लिएको छैन । एक्लो विधवाजस्तो देखिँदै छ । कसैको आँखामा परिरहेको छैन ।

कुनै बखत शक्तिशाली आक्रमणकारीलाई प्रत्याक्रमण गरेर भाग्न विवश तुल्याउने गढी यतिखेर बेवारिसेजस्तै छ । देश एकीकरण अभियानताका फिरंगीलाई धुलो चटाएर अभियन्ताहरूलाई उत्साहित तुल्याउने यो भूमि सबैको पूजनीय र स्मरणीय हो । तर, सजिलो र सुविधाको नाममा यतिखेर विलुप्तजस्तै छ । थाहा नहुनेहरूको त कुरै भएन, जानकारहरूले भोलिका सन्ततिका निम्ति सुरक्षित राख्न पहल गर्नुपर्ने हो, तर यतिखेरसम्म त्यसले सार्थकता पाइरहेको जस्तो लाग्दैन ।

हाम्रा बारेमा जान्न खोज्नेहरूलाई बुझाउने उत्तर हो यो । पुर्खाको शूरता, वीरता र साहसपूर्ण कदमको चिनारी हो । यी स्थानहरूको सुरक्षाको जिम्मेवारी राज्यले पूर्ण रूपमा लिनु आवश्यक छ । यसले विगतमा राज्यनिर्माण क्रममा के–के गर्यो भन्ने जानकारी एकातिर राख्छ भने अर्काेतिर सन्ततिले पुर्खाको समग्र मूल्यांकन गर्नुपर्छ भन्ने पनि जनाउँछ । हामी त्यता जान सकिरहेका छैनौँ । हरेक शासकहरूलाई वर्तमानले पोल्दो रहेछ ।

त्यही घाउ सुम्सुम्याउँदै ती बाँच्दा रहेछन् । आफूले आफैँलाई सुम्सुम्याउँदै बाँच्ने चिन्तनले अन्यत्र आँखा लाग्नै नदिँदो रहेछ । सायद त्यसैले होला, परिवेश अन्योल र अस्थिरताको बाटोतिर सधैँ हिँडिरहेको छ । यही बीचमा पनि देशमा धेरै परिवर्तन आइसकेका छन् । सत्तामा थरीथरीका विचार र भाव बोक्नेहरू क्रमशः आरोपित बनेका छन्, तर यी र यतातिर कसैको ध्यान पुग्न सकिरहेको छैन । किन ? गढीको अवशेषमा उभिएर आकाशतिर नियाल्दै उसको आसपासको परिवेशलाई प्रश्न पस्कन्छु ।

माडीफाँट, ढुंग्रेबास, एकीकरण अभियान, वीर योद्धाहरू र तिनीहरूले देखेका सपना आँखामा क्रमशः आइरहन्छन् । तिनीहरूका अक्कली, सोच, चिन्तन, आजका हामी र भोलिको भविष्यको चित्र मुटुमा सुटुक्क उपस्थिति जनाउँछन् । न ती मुख फोर्छन् न त म नै त्यता जान सक्छु । असरल्ल परिवेश हेर्दाहेर्दै आँखा क्रमशः रसाउन खोज्छन् । महाभारत हिमशृंखलामा अवस्थित सिन्धुलीगढीको संरक्षणमा स्थानीयस्तरबाट भने केही पहल भएका रहेछन् ।

नेपाल पत्रकार महासंघ सिन्धुली र सिन्धुलीगढी संरक्षण एवं सम्वद्र्धन समितिको पहल सराहनीय र सकारात्मक लाग्छ । धन्यवाद भन्न बिर्सन्नँ । निलो आकाश पूर्ण रूपमा कालो भइसकेको छ । एक–दुई पानीका छिटाले हामीलाई अभिषेक गरिसकेका छन् । साथीहरू र सारथि दुवै हिँड्न तम्तयार छन् । तर, मेरा आँखाको भोक अझै मेटिइसकेको छैन । प्यास जस्ताको त्यस्तै छ । मन विचारको पाटोमा देखिएको परिवेश पढ्न व्यस्त छ । गन्तव्यको आग्रह अझै अर्कै छ । उत्तरविहीन छु । नचाहँदानचाहँदै पनि पाइला मोडिन विवश छन् । पानीको दर्काेबाट बच्न गाडीभित्र पस्नु आवश्यक छ ।

हो, ओतको विकल्प छैन । छिनभरमै गाडी नागबेली बीपी राजमार्गमा गुड्न थाल्छ, तर मन सिन्धुलीगढीको वरिपरि नै घुमिरहन्छ । म उसलाई कुनै विघ्नबाधा दिन चाहन्नँ । छातीमा अनायास बाल्यकालमा सुनेको गीत बज्न थाल्छ । बद्रीविक्रम थापालाई नमन गर्छृु । आँखा बन्द गरेर भावनामा खुसुक्क छिर्छु । गीत बजिरहेछ, ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति पो राम्रो दरबार
मार्यो नि मायाले मार्यो । 
आजकालको जोवनमा हेराैँ सुन्तलीमाई कस्तो पो होला घरबार 
मार्यो नि मायाले मार्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro