काठमाडौं । पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनका लागि नेपाल क्लियरिङ्ग हाउसले अन्तिम स्वीकृती पाएको छ । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनका लागि क्लियरिङ्ग हाउसलाई स्वीकृति दिएको हो ।
नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिए पश्चात उक्त स्विकृती प्राप्त गरेको क्लियरिङ हाउसले जनाएको छ । उक्त स्वीचमा आबद्ध हुन बैंक/वित्तिय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरु लगायतसँग समन्वय गरी छिट्टै उक्त प्रणाली सञ्चालनमा ल्याउन जनाएको छ ।
विद्युतिय भुक्तानीका उपकरणको प्रयोगलाई सहज र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्यूआरलगायत विद्युतिय भुक्तानीका माध्यमबीच अन्तर आबद्धता कायम गर्ने कार्य यसले गर्नेछ । यसरी नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्डसमेत प्रयोगमा ल्याउन नेशनल पेमेन्ट स्वीचको स्थापना गर्ने कार्यको लागि नेपाल क्लियरिङ्ग हाउसले स्वीकृति पाएको थियो ।
उक्त नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ्ग हाउसले दुइ चरणमा कार्यान्वयन गर्न लागेको हो । पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्यूआरलगायत भुक्तानीहरुका लागि आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको क्लियरिङ हाउसले जनाएको छ । दोश्रो चरणमा कार्डका लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाएको जनाएको छ ।
नेशनल पेमेन्ट स्वीच सञ्चालनमा आएसँगै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्यूआर स्ट्याण्डर्ड पूर्ण रूपमा कार्यान्वयन हुनेछ । उक्त स्ट्याण्डर्डको नेपालले क्यूआर लागु हुने जनाएइको छ । यस्तै नेपाल भित्र रहेका क्यूआरबीच समेत अन्तरआबद्धता कायम गर्न सकिने छ ।
सेवा बापतको भुक्तानीहरुलाई कुनै पनि बैंक/वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानलहरुबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्वीचमार्फत कारोबार र यसको फर्छ्यौट गर्न सकिने जनाएको छ । वालेट–वालेट बीचको अन्तरआबद्धता कायम गरी एउटा भुक्तानी सेवा प्रदायकबाट अर्को भुक्तानी सेवा प्रदायकमा वालेटबाट नै रकम ट्रान्स्फर गर्नेलगायत भुक्तानी गर्न सकिने जनाएको छ । त्यस्तै विद्युतीय आदेशमा आधारित रिक्वेस्ट–टु–पे अन्तर्गतको नयाँ भुक्तानी उपकरणहरु प्रयोगमा क्लियरिङ हाउसले जनाएको छ । हाल सञ्चालनमा रहेका भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाको अन्तिम सेटलमेन्ट समेत एनसीएचएलमार्फत गर्ने सक्नेछ ।