जनकपुरधाम । प्रदेश नम्बर–२ सरकार विस्तार अलमलमा परेको छ । मन्त्रालयको भागबन्डा नमिल्दा प्रदेश सरकार विस्तार हुन नसकेको हो ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मन्त्रालय टुक्र्याइए पनि भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको छ । करिब चार महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले ६ मन्त्रालय टुक्र्याएर १० वटा बनाएका थिए ।
१९ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेसले तीन र आठ सांसद रहेको नेकपा (माओवादी केन्द्र)ले एक मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी भइसकेका छन् । पाँच मन्त्रालय जनता समाजवादी पार्टी (जसपा)को भागमा परेको छ । बाँकी दुई मन्त्रालय अहिले मुख्यमन्त्री राउतले सम्हालेका छन् ।
मुख्यमन्त्री राउतले अहिले कानुन, न्याय तथा प्रदेशसभा र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । यी दुई मन्त्रालय लिएर नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुन इच्छुक देखिएको छैन ।
दलहरूले मुख्य भन्ने गरिएका मन्त्रालयहरू कांग्रेस र माओवादीले लिइसकेका छन् । बाँकी ती दुई मन्त्रालय लिन नेकपा (एकीकृत समाजवादी) इच्छुक नदेखिएको उक्त पार्टीका सा)सदहरूले संकेत गरेका छन् । जसपाको भागमा रहेको ‘महत्त्वपूर्ण’ मन्त्रालयमा उनीहरूको दाबी छ ।
सरकारमा सहभागी हुने औपचारिक छलफल अहिलेसम्म नभएकोले ढिलो भएको प्रदेश–२ मा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता शत्रुधन महतोले दाबी गरे । दुई मन्त्रालय पाए सरकारमा जाने उनको भनाइ छ ।
“दुईवटा मन्त्रालय पाएपछि नेकपा (एस) सरकारमा सहभागी हुन्छ । कुन मन्त्रालय दिने त्यो पहिले टुंगो लगाउनुपर्छ,” उनले भने, “केन्द्रीय नेताहरूबीच भएको छलफलानुसार नै सरकार विस्तार हुनेछ ।” प्रदेश–२ प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी)का १३ सांसद छन् ।
केन्द्रमा जस्तै प्रदेश–२ मा पनि जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको सरकार छ । जसपाले सरकारको नेतृत्व गरेको छ । मुख्यमन्त्री राउतले नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा ल्याउन सामाजिक विकास मन्त्रालयलाई टुक्र्याउने प्रक्रिया अगाडि बढाएका छन् ।
प्रदेश–२ मा ३८ सांसद रहेको जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय, १९ सांसद रहेको कांग्रेसले तीन र आठ सांसद रहेको माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी सम्हालेको छ । जसपाबाट अलग भई १६ प्रदेशसभा सदस्यसहित गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र आठ सांसद रहेको नेकपा (एमाले) विपक्षी पार्टी हुन् ।