कठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले टोलीलाई उत्कृष्ट नतिजा दिलाएर समर्थकलाई खुसी बनाउन चाहेको बताएका छन् ।
अलमुताइरीले टोलीको प्रदर्शनमा मात्र ध्यान दिएको र अरू कुरामा आफूले समय नखर्चेको बताए । मंगलबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
साफ फुटबलको फाइनलमा भारतसँग पराजित भएर उपाधि जित्नबाट वञ्चित भएको स्मरण गर्दै उनले त्यसको बदलामा एसियन कप छनोटको तेस्रो चरणमा उत्कृष्ट प्रदर्शन गरेर समर्थकलाई खुसी बनाउने बताए ।
“म नेपाली समर्थकलाई खुसी बनाउन चाहन्छु । त्यसको लागि टोलीमा रहेर खेलाडीलाई उत्कृष्ट प्रदर्शन गराउनु हो । त्योबाहेक अरू कुरामा मैले ध्यान दिएको छैन,” अल्मुताइरीले भने ।
कतार फुटबल एसोसिएनसबाट नेपाल आएका मुख्य प्रशिक्षक अल्मुताइरीले थप दुई वर्षका लागि नेपालसँग सम्झौता गरेका छन् । यसअघि, अल्मुताइरीको सम्झौता सन् २०२२ सेप्टेम्बरसम्म थियो ।
अल्मुताइरीले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपका दौरान आफू कहिल्यै नेपाल नफर्किने घोषणा गरेका थिए । साफ च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग पराजित भएपछि प्रशिक्षक अल्मुताइरीको सामाजिक सञ्जालमा चर्काे आलोचना भएको थियो ।