काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको दाबीसहित नक्कली कागजात सार्वजनिक गरेपछि ४ मंसिरमा दुर्गा प्रसाईं पक्राउ परे ।
त्यसअघि पनि उनी एक महिलाको चरित्र हत्याको अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।
प्रसाईं पक्राउ परे पनि उनको अनियन्त्रित बोली भने रोकिएन । उनी प्रहरी वृत्त सिंहदरबारको हिरासतमा थिए । अनौठो त उनको फेसबुक भने सक्रिय थियो ।
हिरासतमा मोबाइल राख्न पाइँदैन भने चलाउन पाउने त कुरै भएन । तर, ४ मंसिरदेखि ५ पुससम्मको एक महिना हिरासत बसाईंमा प्रसाईंको भेरिफाइड फेसबुक पेजमा ६ वटा पोष्ट भए ।
भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेको पाँच दिनपछि ९ मंसिरमा उनको ‘भेरिफाइड’ फेसबुक पेजमा पाँच दिनपछि एउटा लामो पोष्ट आयो ।
जसमा ७ हजार भन्दा बढीले ‘रियाक्ट’ गरेका थिए । त्यसमा ८ सय कमेन्ट भएको ४८७ पटक सेयर भएको उक्त पोष्टमा उनले हिरासतमा बीपी कोइरालाको आत्मवृत्तान्त पढेको लेखेका छन् ।
हिरासतबाट उनले उक्त पोष्टमा आफूले सार्वजनिक गरेको केपी ओलीको कम्बोडियामा लगानी देखाउने कथित कागजात सही भएको दाबी गरेका थिए ।
यतिमात्र होइन, उनी केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र प्रहरी उपरिक्षक होबिन्द्र बोगटीविरुद्ध राज्यद्रोहको मुद्दा लिएर अदालत जाने धम्की दिएका थिए । प्रसाईंको फेसबुकमा यो पोष्टको फेदमा ‘सचिवालय सदस्य कल्पितबाट साभार’ लेखिएको छ ।
२५ मंसिरमा उनको फेसबुकमा ‘मलाई नक्कली मुद्दामा फसाइँदै’छ लेखे । प्रसाईंले नेपाली व्यापारीलाई भारतीय ग्यांगस्टार लरेन्स विश्नोईको नाममा धम्क्याउन लगाएको आरोपमा १३ मंसिरमा झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयाल पक्राउ परे ।
फुयालले प्रसाईंको निर्देशनमा व्यापारीलाई धम्क्याएको बयान दिएपछि प्रसाईंले फेसबुकमा आफ्नो बचाउमा पोष्ट गरे । प्रसाईंले फेसबुक पोष्टमा लेखेका छन्, “मलाई अहिले विभिन्न प्रकारका झुट्टा मुद्दा लगाएर फसाउने काम भइरहेको छ ।”
प्रसाईं हिरासतभित्र रहँदा उनको फेसबुक पेजमा स्वकीय सचिवको नाममा प्रसाईंको भनाई पोष्ट भइरहेको देखिन्छ ।
२६ मंसिरमा उनको फेसबुक पेजमा एउटा भिडियो पोष्ट गरिएको छ । १४ मिनेट लामो उक्त भिडियोमा प्रसाईंले ‘छोरीलाई लेखेको चिठी’ पढिएको छ । उक्त चिठीमा प्रसाईंले वर्तमान सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र आफूलाई मात्र नभई काठमाडौं महानगरका मेयर बालेन शाहलाई पनि फसाउन खोजेको दाबी गरेका छन् ।
आफूले हिरासतमा रहँदा दुःख पाएको, बिरामी हुँदा पनि अस्पताल भर्ना नगरेको गुनासो गरिएको छ, भिडियोमा । भिडियो अनुसार प्रसाईंले यो पत्र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत रहँदा लेखेका थिए ।
१ पुसमा उनले नेपालमा पनि ट्युनिसियाजस्तै व्यवस्था परिवर्तन गर्ने दाबी गर्दै लामो पोष्ट लेखेका छन् ।
कागेश्वरी मनोहरमा एक महिलाले पारिवारिक कलहका कारण आत्मदाह गरेको सन्दर्भ उप्काउँदै टिप्पणी लेखे । ३ पुसमा उनले फेसबुक पोष्टमार्फत् नेपालका शासकले पनि सिरिया, श्रीलंका र बंगलादेशका राष्ट्रप्रमुखले झैं देश छाडनुपर्ने अवस्था आउने भन्दै धम्क्याए ।
४ पुसमा उनले दुर्गा प्रसाईं व्यक्ति नभई ‘विचार’ हो भन्दै आफ्नो मेडिकल कलेज लिलामीमा नरहेको दाबी गरे ।
विराटनगर उच्च अदालतको इलाम इजलासले प्रसाईंको ऋण चुक्ता गर्ने अवधि बढाइ पाउँ भन्ने रिट खारेज गरिदियो । प्रसाईं तिनै व्यक्ति हुन् जसले लघु वित्तबाट लिएको ऋण तिर्नु हुँदैन भन्दै आन्दोलन गरेका थिए ।
यसैका लागि उनले ‘कालो मोसो’ दस्ता समेत खडा गरेर ऋण उठाउन आउने कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गर्न लगाएका थिए । आफ्नो ऋण तिर्ने अवधि बढाउन रिट हालिसकेका उनले केही बैंकका शाखामा तालबन्दीदेखि बैंकका कर्मचारीलाई दुव्र्यवहार गर्नेसम्मका गतिविधि गरेका थिए ।
अदालतले ऋण चुक्ता गर्ने अवधि बढाउने नमिल्ने भनेपछि सञ्चार माध्यमयमा प्रसाईंको झापास्थित बीएण्डसी मेडिकल कलेजसमेत लिलामी गरेर बैंकले ऋण चुक्ता गर्न सक्छ भन्ने समाचार आयो । यही समाचारको जवाफमा प्रसाईंले हिरासत भित्रैबाट पत्रकारमाथि लाञ्छना लगाए ।
४ मंसिरमा पक्राउ परेका प्रसाईलाई २७ मंसिरमा काठमाडौं जिल्ला अदालतले ४० हजार रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रसाईंलाई प्रहरीले संगठित अपराधको अभियोगमा उनलाई अदालत परिसरबाटै फेरि पक्राउ गरेको थियो ।
त्यसपछि उनका छोरा बन्दी–प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले गत ५ पुसमा उनलाई रिहा गर्न आदेश दियो ।
फेसबुकको विवरण अनुसार, प्रसाईंको फेसबुक पेज १५ भदौ २०८० मा खोलिएको हो । प्रसाईंको फेसबुक पेजलाई १ लाख ३९ हजारले फलो गरेका छन् । फेसबुकको विवरण अनुसार, उनको फेसबुक पेज नेपालबाट एक जनाले मात्र चलाउँछन् ।
प्रहरी हिरासतमा हुँदा फेसबुकमा सक्रिय हुने प्रसाईं एक्ला होइनन् । आइतबार(७ पुस) राति दश बजे पक्राउ परेका निकोलस भुसालको पनि फेसबुक सक्रिय थियो । यद्यपी उनी सोमबार बेलुका रिहा भइसकेका छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछाने सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो । उक्त तस्बिर भुसालले २९ मंसिरमा खिचेका थिए । लामिछाने भेट्न पुगेका भुसालले उनलाई भेट्न नपाएपछि सीसीटीभी मनिटरको फोटो खिचे र सार्वजनिक गरे ।
आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने भुसालले लामिछानेको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा हल्लाखल्ला भयो । हिरासतभित्रको तस्बिर सार्वजनिक भएको भन्दै प्रहरीको आलोचना भयो ।
चौतर्फी आलोचनापछि भुसालले ४ पुसमा फेसबुकबाट तस्बिर हटाए । तस्बिर खिचेर सार्वजनिक गरेकामा माफीसमेत मागे । त्यसपछि फोन स्विच अफ गरेर बसेका भुसाललाई प्रहरीले ७ पुसको राति १० बजे पक्राउ गर्यो ।
तर भुसालको फेसबुक पेजमा बिहान साढे आठ बजे फोटोसहितको स्टाटस पोष्ट भएको छ ।
रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको तस्बिर राख्दै भुसालको पेजमा लेखिएको छ, “अबको यात्रा के ? के अब स्वतन्त्र दल स्वतन्त्र नै रहन्छ ? या कुनै धार समात्छ ? अब को मुख्य नेता बन्छ ? के उसले रविको छवि सम्हाल्छ ?”
यो पोष्ट गरेको ५ मिनेटपछि ८ बजेर ३५ मिनेटमा उनले चुनौती दिँदै आफू चन्द्रमा, मंगल ग्रह जहाँ गएपछि आफ्नो नामको फेसबुक पेज चलिरहने लेख्छन् । उनी लेख्छन्, “म जेल गएपनि चन्द्रमा गएपनि मंगल ग्रह गएपनि यो पेज चलिरहन्छ ! जथाभावी खाएर पखाला नलागोस् भन्नु र राजनीति गरेर जेल जान नपरोस् भन्नु उस्तै हो । राजनीतिमा आमाघर र मामाघरको यात्रा त चलिरहन्छ ।”
डा. निकोलस भुसाल नामको उक्त पेजमा बेलायतको फोन नम्बर राखिएको छ । फेसबुकको विवरण अनुसार, डा. निकोलस भुसाल नाम गरेको फेसबुक पेज नेपालबाट तीन जना, चीनबाट एकजना र संयुक्त अधिराज्यबाट एक जनाले चलाउँछन् ।
३ असोज २०७६ मा भुसाल निकोलस नामबाट खोलिएको यो पेजको नाम १९ जेठ २०७९ मा परिवर्तन गरेर डा. निकोलस भुसाल राखिएको देखिन्छ ।
हामीले नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक दिपकराज अवस्थीलाई सोध्यौं–अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको व्यक्तिले आफूमाथि भइरहेको अनुसन्धानको विषयमा सामाजिक सञ्जालमा पोष्ट गर्न पाउँछ ? हिरासतमा बसेको व्यक्तिले फेसबुक चलाउन पाउँछ त ?
हिरासतमा रहेका व्यक्तिले फेसबुक त परै जाओस् मोबाइलसमेत चलाउन नपाउने बताए, अवस्थीले । उनले भने, “अनुसन्धानका लागि हिरासतमा रहेको व्यक्तिले मोबाइल चलाउन पाउँदैनन् ।”
तर, पछिल्लो समय व्यक्ति हिरासतमा रहे पनि उसको नामको सामाजिक सञ्जाल खातामा भने पोष्ट हुने गरेको आफूहरूले पनि ख्याल गरेको उनले बताए ।
प्रहरी उपरीक्षक अवस्थीले भने, “व्यक्ति हिरासतमा भए पनि उसको सामाजिक सञ्जालबाट पोष्ट भइरहेको हामीले नोटिस गरेका छौं । हामीले यस्ता गतिविधि रोक्ने प्रयास गरिरहेका छौं ।”
नेपाल बाहिरबाट र नेपालभित्रै पनि अन्य व्यक्तिले हिरासतमा रहेका मान्छेको सामाजिक सञ्जाल चलाउने गरेका कारण नियन्त्रण गर्न कठिनाई भइरहेको अवस्थीले बताए ।
साइवर कानुनका विज्ञ तथा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल हिरासतमा रहेको व्यक्तिको सामाजिक सञ्जालमा आफूमाथि भइरहेको अनुसन्धानको विषय पोष्ट भएका हुनाले त्यसको जिम्मा हिरासतमा रहेकै व्यक्तिको हुने बताउँछन् ।
उनी भन्छन्, “हिरासतमा रहेको व्यक्तिले हिरासतबाटै सामाजिक सञ्जालमा लेखे पनि वा बाहिरबाट कसैले उसको सामाजिक सञ्जालमा लेख्दिए पनि त्यसको जिम्मेवारी जसको सामाजिक सञ्जाल हो उसैको हुन्छ ।”
अनुसन्धान नै प्रभावित पार्ने र अनुसन्धानमा रहेको विषयमाथि हिरासतमा रहेको व्यक्तिले सामाजिक सञ्जालमा लेखेमा उसलाई त्यसै विषयमाथि पनि कारबाही हुनुपर्ने उनी बताउँछन् ।
भारतका ग्याङ्गस्टर लरेन्स बिश्नोई जेलमै रहे पनि उनीमाथि जेलभित्रैबाट मान्छे परिचालन गरेर हत्या गरेको अभियोगमा मुद्दा चलिरहेको उदाहरण सुनाउँदै खरेलले भने, “हिरासतमा रहेको व्यक्तिले लेख्न लगाएको हो भन्ने पुष्टि भएमा उसमाथि अनुसन्धान, कारबाही हुनुपर्छ । जसको नामको सामाजिक सञ्जाल हो, त्यसमा लेखिएका कुराको जिम्मेवारी र उत्तरदायित्व पनि उसैको हुन्छ ।”