
काठमाडौं । राम्रो काम दिलाइदिन्छु भन्दै नेपाली चेलीलाई भारतको नयाँ दिल्लीस्थित कोठीमा पुर्याउने कार्यमा संलग्न एकजना पक्राउ परेका छन् । प्रहरीको मानव बेचविखन अनुन्धान व्युरोले नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ का ३९ वर्षीय जान्द्रे तामाङलाई काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको हो ।
उनले जमलस्थित एक किताब पसलमा सरसफाइको काम गर्दै आएकी विवाहित महिलालाई साडीमा बुट्टा भर्ने कामम लगाइदिने भन्दै ०७४ सालमा नेपाल–भारत सीमामा पुर्याएका थिए । सीमा क्षेत्रबाट मोटरसाइकलमा हालेर पीडित महिलालाई नयाँदिल्ली स्थित जिबि रोडमा रहेको ‘वेश्यालय’मा लगिएको थियो ।
पीडित महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार उनीमाथि त्यहाँ यौन शोषण भएको थियो । उनलाई अण्डरग्राउण्ड कोठामा लुकाएर राखिएको र अस्वस्थ्य भएपछि एक नेपाली महिलाको सहयोगमा ०७७ चैतमा नेपाल आइपुगेकी थिइन् ।
पीडित महिलालाई सीमासम्म पुर्याउने जान्द्रे तामाङ उनकै श्रीमानका साथी थिए । उनीविरुद्ध मानव बेचविखन तथा ओसारपोसार (नियन्त्रण) ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको व्युरोले जनाएको छ ।