एजेन्सी । कार्लोस एन्सेलोट्टी र रोनाल्ड कोम्यान विगत चार दशकदेखी विश्व फुटबल मञ्चमा छन् । इटालीका एन्सेलोट्टीले १९७६ मा पार्माबाट व्यावसायिक फुटबलमा डेब्यू गरेका थिए । नेदरल्यान्ड्सका कोम्यानले १९८० मा ग्रोनिनजेनबाट डेब्यू गरे । खेलाडी जीवनमा उनीहरु एकपटकमात्र आमने सामने भए पनि प्रशिक्षकका रुपमा चारपटक एक अर्काविरुद्ध खेलिसकेका छन् । र फेरी एकपटक आइतबार क्याम्प नोउमा दुईजना आमने सामने हुनेछन्, सिजनको पहिलो ‘एल क्लासिको’मा ।
बीचमा एक समय थियो । एल क्लासिको भन्ने वित्तिकै ‘क्रिष्टियानो रोनाल्डो भर्सेस लियोनल मेसी’ भन्ने चर्चा हुन्थ्यो । विश्व फुटबलका दुई महान हस्तीको प्रतिस्पर्धाले एल क्लासिकोलाई रोमाञ्चक बनाउँथ्यो । अनि दुई क्लब रियाल मड्रिड र बार्सिलोनाबीचको दुश्मनीले यसको महत्त्व अझै बढेको थियो । २०१८ मा रोनाल्डो इटालीतिर लागेपछि एल क्लासिकोमा ‘सर्जियो रामोस भर्सेस मेसी’को चर्चा हुन थाल्यो । तर, यस सिजन ‘कोम्यान भर्सेस एन्सेलोट्टी’ भएको छ ।
किनकी, न अब रियालसँग रामोस छन् । न त बार्सिलोनासँग मेसी हुनेछन् । स्पेन हुँदा कट्टर दुश्मन रामोस र बार्सिलोना फ्रान्समा सहयात्री भएका छन् । रामोस र मेसी अहिले फ्रेन्च लिग वान क्लबमा खेलिरहेका छन् । २००५ देखि लगातार रियालबाट खेलेका रामोस र २००० देखि बार्सिलोनाको एकेडेमीमा हुर्किएर २१ वर्ष क्याटलान क्लबमा विताएका मेसीले यसै सिजन स्पेन छाडेका हुन् ।
दुबै क्लबसँग अहिले ठूलो नाम गरेका खेलाडी छैनन् । त्यसैले एल क्लासिकोमा प्रशिक्षक हाबी भएका छन् । अब कसको रणनीति सफल हुन्छ भन्नेमा आइतबारको एक क्लासिको केन्द्रित हुनेछ । यो समग्रमा २४७औं एल क्लासिको हो । यसपटक बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियालविरुद्ध घरेलु मैदानमा खेल्नेछ ।
लिगमा आठ चरणका खेलमात्र सकिएकाले दुई क्लबबीचको नतिजाले उपाधि होडमा असर गर्छ भन्नु चाँडो हुन्छ । तर चीर प्रतिद्वन्द्वी यी दुई क्लबको उपाधि यात्रामा आजको नतिजाले भने पक्कै अर्थ राख्छ । अझ पछिल्लो समय खराब लयबाट गुज्रिएको बार्सिलोनाका प्रशिक्षक कोम्यानका लागि आइतबार खेल अझ महत्त्वपूर्ण हुनेछ ।
कोम्यान र एन्सेलोट्टी खेलाडीका रुपमा २१ फेब्रुअरी १९९० मा हल्यान्ड (नेदरल्यान्ड्स) र इटालीबीचको मैत्रीपूर्ण खेलमा आमने सामने भएका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । एन्सेलोट्टीले एसी मिलान, एएस रोमा जस्ता ठूलो क्लबबाट खेले । कोम्यानले बासिलोनाबाट ६ सिजन खेले । हल्यान्डले १९८८ को युरोपियन च्याम्पियनसिप जित्दा कोम्यान टोलीका महत्वपूर्ण सदस्य थिए । त्यस्तै इटालीले १९९० मा विश्वकपको उपाधि जित्दा एन्सेलोट्टी टोलीका सदस्य थिए । तर, खेल जीवनमा यी दुई कहिल्यै पनि आमने सामने भएनन् ।
एन्सेलोट्टीले १९९५ मा प्रशिक्षण करिअर सुरु गरे । कोम्यान २०० पछि प्रशिक्षकका रुपमा उदाए । नयाँ जिम्मेवारीमा कोम्यान र एन्सेलोट्टी चार पटक एकअर्काविरुद्ध उभिएका छन् । २००२/०३ को च्याम्पियन्स लिग क्वार्टरफाइनलमा र २००३÷०४ मा च्याम्पियन्स लिगको समूह चरणमा आमने सामने भएका थिए । एन्सेलोट्टी मिलानको प्रशिक्षक थिए भने कोम्यान आयाक्सका प्रशिक्षक थिए ।
२००२/०३ को च्याम्पियन्स लिग क्वार्टरफाइनलमा पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो लेगमा एसी मिलान ३–२ ले विजयी भएको थियो । त्यस्तै २००३÷०४ मा च्याम्पियन्स लिगको समूह चरणमा पहिलो र दोस्रो दुबै लेग मिलान १–० ले विजयी भएको थियो ।
प्रशिक्षकका रुपमा विगत हेर्ने हो भने एन्सेलोट्टी हाबी बनेका छन् । कोम्यान एन्सेलोट्टीविरुद्ध पहिलो जितको खोजीमा छन् ।
लिगको आठ खेलबाट १५ अंकमात्र जोड्न सकेको बार्सिलोना सातौं स्थानमा छ । समान खेलबाट बार्सिलोनाले भन्दा दुई अंक बढी जोडेको रियाल दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको रियाल सोसिडाड २० अंकका साथ शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको रियालभन्दा तीन अंकले माथि हो ।
रियालका कप्तान करिम बेन्जेमा यतिवेला उच्च लयमा छन् । उनले लिगमा नौ गोल गर्नुका साथै र सात ‘असिस्ट’ गरिसकेका छन् । ला लिगामा धेरै गोल गर्ने सूचीमा बेन्जेमा शीर्ष स्थानमा छन् । त्यस्तै पाँच गोल गरेका भिनिसियस जुनियरको तेस्रो स्थानमा छन् ।
बार्सिलोना युवा खेलाडी अंशु फातीको आगमनबाट उत्साहित छ । खुट्टाको चोटका कारण दश महिना मैदान बाहिर रहेका फाती २६ सेप्टेम्बरमा लेभान्टेविरुद्धको खेलबाट पुनरागमन गरेका हुन् । त्यसपछि उनले दुई गोल गरिसकेका छन् । चोटमुक्त भएर फर्किएका फातीले यस सिजन मेसीको जर्सी नम्बर १० लगाएका छन् । यसको मतलब उनलाई बार्सिलोनाले भविष्यको मेसीका रुपमा लिएको छ ।
फातीको आगमनबाट अग्रपंक्तिमा मेम्फिस डिपाएले साथ पाएका छन् । डिपाएले लिगमा चार गोल गरिसकेका छन् । अर्का स्ट्राइकर सर्जियो अग्विरो पनि एल क्लासिकोका लागि फिट भएका छन् । म्यानचेस्टर सिटीमा सबभन्दा धेरै गोल गरेका अग्विरो यसै सिजन बार्सिलोनासँग अनुबन्ध भएका हुन् । उनले भ्यालेन्सियाविरुद्धको खेलबाट बार्सिलोनामा डेब्यू गरेका थिए । अग्विरोको आगमनले बार्सिलोनाको आक्रमण पंक्ति थप मजबुत बनेको छ ।
बार्सिलोनाका मडिफिल्डर पेड्री, औसमाने डेम्वेले र रोनाल्ड अराउजो चोटका कारण आइतबार पनि उपलब्ध हुने छैनन् । रियाल मड्रिडका पनि इस्को, ड्यानियल काबालोस र लुका जोभिच घाइते छन् ।
रियाल र बार्सिलोनाबीचको पछिल्लो ३९ खेलमा बार्सिलोना १६ खेलमा विजयी भएको छ । रियालले १३ खेल जितेको छ भने दश खेल बराबरीमा सकिएको छ । रियाल पछिल्लो पटक सन् २०१९ को मार्चमा घरेलु मैदानमा बार्सिलोनासँग १–० ले पराजित भएको थियो । त्यसयता पछिल्लो चार खेलमा रियाल बार्सिलोनासँग हारेको छैन । रियालले तीन खेल जितेको छ भने एक खेल बराबरीमा खेलेको छ ।
ठूला नाम गरेका खेलाडी क्लबमा नहुँदा यस पटकको एल क्लासिकोको खल्लो हुने अनुमान धेरैले गरेका छन् । तर, रियालका कप्तान बेन्जेमाले एल क्लासिकोको लामो इतिहास भएका कारण यसको रोमाञ्चकतामा कमी नआउने बताए ।
उनी भन्छन्, “एल क्लासिकोको इतिहास धेरै पुरानो छ । क्लबमा कुनै खेलाडी परिवर्तन हुँदैमा यसको रोमाञ्चकता कम हुन्छ भन्ने हुँदैन । कसैले बार्सिलोना या रियाल छाड्यो भन्ने कुराले भन्दा पनि यसको इतिहास रोचक पक्ष हो । एल क्लासिको अझै विश्व फुटबलमा उत्कृष्ट खेलका रुपमा छ ।”
नेपालमा प्रत्यक्ष प्रशारण डिसहोम एक्सन स्पोर्ट्स एचडीमा
विश्वकै ठूला चार लिगमध्येको एक हो, स्पेनिस ला लिगा । ला लिगा पहिलोपटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडीमार्फत प्रत्यक्ष प्रशारण भइरहेको छ । आइतबार हुने बार्सिलोना र रियालबीचको ‘एल क्लासिको’ भिडन्त ‘एक्सन स्पोर्ट्स एचडी २’ मा प्रत्यक्ष प्रशारण हुनेछ ।
ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका हरेक खेलहरु एक्सन स्पोर्ट्स एचडी २ मा प्रशारण भइरहेको छ ।