काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई महिना दुई दिनमा आफू नेतृत्वको सरकारले उल्लेख्य काम गर्न सफल भएको दाबी गरेकी छन् ।
बिहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै उनले आफ्नो सरकारले सुशासन र सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न विशेष ध्यान दिइएको बताइन् । आफ्नो सरकार अन्य प्रदेशभन्दा कम बेरुजु हुने सरकारमा भएको दाबी उनले गरिन् ।
कोभिड–१९ महामारीसँग लड्न प्रदेशका १३ वटै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण केन्द्र स्थापना अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन् ।
उनले मन्त्री तथा पदाधिकारीहरूका लागि आचारसंहिता कायम गर्न मापदण्ड बनाइएको, सिन्धुपाल्चोकलगायत जिल्लाहरूमा भएको प्राकृतिक विपत्तिमा राहतस्वरूप प्रदेश सरकारले ९० लाख रुपैयाँ प्रदान गरेको पनि जानकारी दिइन् ।
मुख्यमन्त्री शाक्यले १३ जिल्लामा १० लाख रुपैयाँको दरले विपत् व्यवस्थापनमा पठाइएको बताइन् । काठमाडौं उपत्यकामा फोहोर र ट्राफिक व्यवस्थापनमा पनि प्रदेश सरकारले काम गरेको उनको भनाइ छ ।