site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काभ्रेपलाञ्चोकको बिर्तादेउराली - ७ खहरे नजिकै भएको सडक दुर्घटना पनि मूलतः ट्राफिक नियम मिचिएका कारण भएको देखियो । काठमाडौंबाट काभ्रेको कोसीपारिको कात्तिके देउराली जाँदैगरेको यात्रुबाहक बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा ३३ जनाको मृत्यु भयो भने करिब ३५ जना घाइते भए । दुर्घटनाग्रस्त बा ३ ख १०६ नम्बरको सो यात्रुबाहक बसमा कोचाकोच यात्रु हालिएको प्रत्यक्षदर्शीले बताएका छन् । बसमा भित्र र छतमा गरी ८० जनाभन्दा बढी यात्रु सवार रहेको अनुमान छ । बसको क्षमताभन्दा बढी यात्रु बोकेकाले नै बस अनियन्त्रित भएर सडकबाट तल खसेको सहजै अनुमान गर्न सकिन्छ । घाइतेमध्ये २६ जनालाई उद्धार गरेर उपचारका लागि सैनिक हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ भने केहीको स्थानीय अस्पतालमै उपचार गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार बसको छतमा रहेका यात्रु हाम फालेर बाँचेका थिए । 
 
नेपाली समाजमा यस्ता दुर्घटनालाई टारेर टार्न नसकिने 'भवितव्य' मान्ने गरिन्छ । यसैले सरकारले पनि यस प्रकारका भयावह दुर्घटनाको रोकथाम र न्यूनीकरणका लागि खासै प्रयास गर्दैन । सार्वजनिक यातायातमा सवार यात्रुहरू सामान्यतः जनसाधारण हुन्छन् । यसैले पनि राज्यले धेरै वास्ता गर्दैन । सहरभित्र कुनै कथित 'विशिष्ट' व्यक्तिको आवागमनमा तैनाथ गरिने जति पनि प्रहरी सयौं किलोमिटर लामो सडकमा खटाइएका हुँदैनन् । यसैले सडकमा सिन्डिकेटले आधिपत्य चलाएजस्तै सवारीमा चालक र उनका सहयोगीको मनपरी चल्छ । सार्वजनिक यातायातमा यात्रुको सुविधा र सुरक्षालाई सबैभन्दा बढी महत्त्व दिनुपर्ने भए पनि नेपालका सडकहरूमा सबैभन्दा बढी उपेक्षा यात्रुको सुरक्षा तथा सुविधाको हुन्छ । स्तरहीन सडकमा भारवहन क्षमताभन्दा बढी यात्रु कोचिएका थोत्रा सवारी साधन दुर्घटना नभए पो आश्चर्य ! यसैले बिर्तादेउराली दुर्घटनामा सवारी धनी र चालकमात्र हैन सडक नियम कार्यान्वयन नगराउने ट्राफिक प्रहरी र समितिका नाममा सिन्डिकेट चलाएर यात्रुको जीवन जोखिममा पार्ने व्यवसायी पनि उत्तिकै दोषी छन् । कानुनीरूपमा यी सबैमाथि कारबाही होला नहोला तर नैतिक दृष्टिबाट हेर्दा यी सबै नै सडक दुर्घटनामा ज्यान गुमाउनेका 'हत्यारा' हुन् ।
 
लोकतन्त्रमा राज्य जनताप्रति जिम्मेवार र जवाफदेही हुनुपर्छ भन्नुको तात्पर्य यस्तो अवस्थाप्रति मुकदर्शक हुनु हुँदैन भन्ने नै हो । यस्ता भयावह दुर्घटना नेपालका सडकका हकमा नियमित आकस्मिकताको नियति बन्न पुगेका छन् । यीमध्ये अधिकांश दुर्घटना सवारी चालकले सावधानी अपनाएको र नियामक निकायले निगरानी गरेको भए टार्न सकिने हुन्छन् । बिर्तादेउरालीकै दुर्घटना पनि बसको क्षमताभन्दा बढी यात्रु नकोचिएको भए नहुने रहेछ । चरम भाग्यवादीबाहेक अरू कसैले पनि यस्ता दुर्घटनालाई टारेर टार्न नसकिने भवितव्य भन्दैन । यस्तै अनुत्तरदायी र जनविरोधी सरकारबाहेक अरूले यस्तो भयावह र दयनीय अवस्थालाई सहेर बस्न सक्तैन, हुँदैन । तत्कालै प्रभावकारीरूपमा सहरभित्र र बाहिर सबैतिर सडक नियम एवं अनुशासन पालना गराउन सरकारले ध्यान दिनुपर्छ । नियम पालन नभएका अवस्थामा सम्बन्धित विभागीय प्रमुखलाई समेत जिम्मेवार बनाउने गरी उत्तरदायी बनाइएमात्र केही दिन कडाइ गरेर पुनः नियम शिथिल हुने अवस्था उत्पन्न हुँदैन । सडकमा सञ्चालन गर्दा यात्रुको सुरक्षा र सुविधामा असर नपर्ने अवस्थाका मात्र सवारी साधन सञ्चालन गर्न दिनुपर्छ । सवारी चालन वा सञ्चालनको अनुमतिपत्र मान्छे मार्ने 'लाइसेन्स' ठान्न वा बन्न दिनुहुँदैन । नत्र, यस्तो भयावह दुर्घटना हाम्रो नियति बन्न पुग्नेछ ।
 
काठमाडौंको चक्रपथमै मानवीय सुविधा र सुरक्षाका दृष्टिले अनुपयुक्त सवारी निर्बाध चलिरहेका अवस्थामा सरकारले बाहिरका राजमार्गमा यात्रुको सुविधा र सुरक्षाका मामिलामा सम्झौता नगर्ने अपेक्षा गर्नु मूर्खता ठानिन सक्छ तर यसको विकल्प छैन । यस्तै दुर्घटनाको एउटा कारक सडकमा माफिया शैलीमा जमाइएको सिन्डिकेटको कब्जा पनि हो । कसैले कुनै बेला व्यवसायमा लगानी गरेको थियो भन्दैमा यात्रुको सुविधा र सुरक्षा बेवास्ता गर्ने अधिकार राज्यले दिन मिल्दैन । सिन्डिकेट नभए यात्रुलाई उचित मूल्यमा बढी सुविधाजनक र सुरक्षित सेवा उपलब्ध गराउन व्यावसायीबीच प्रतिस्पर्धा हुनसक्छ । यसैले सरकार सिन्डिकेट नामको सडक माफियाको जरो उखेल्न पनि उत्तिकै दृढ हुनसक्नुपर्छ । यस्तै सडक निर्माणमा भ्रष्टाचारका कारण गुणस्तरमा धेरै सम्झौता हुने गर्छ । दुर्घटनाको एउटा कारण खराब सडक पनि भएकाले सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।  दुर्घटनाको मानवीय पक्ष पनि कम दयनीय र मार्मिक हुँदैन । घरमुली दुर्घटनामा पर्नुको अर्थ समस्त परिवारकै भविष्यमा ग्रहण लाग्नुजस्तै हो । परिवारजनलाई मानवीय क्षतिको पूर्ति गर्न त सरकारले सक्तैन तर उनीहरूको भविष्यमा ग्रहण लाग्न रोक्न भने सक्छ । दुर्घटनापछि परिवारलाई आँसु पुछाउनीस्वरूप केही नगद क्षतिपूर्ति दिने र घाइतेको उपचारको जिम्मा लिने पद्धति पनि नियमकै रूपमा बसाउनु आवश्यक छ । साथै, सबै यात्रुवाहक सवारी साधनले यात्रुको बिमा गर्नुपर्ने व्यवस्था अनिवार्य गरेमा दुर्घटनापछिको कहालीलाग्दो अवस्थामा केही सहज अनुभव गर्न पीडितले पाउनेछन् । जनताको हितमा केही गर्न चाहने हो भने सरकारले सडक यातायातको व्यवस्थापन र नियमनलाई प्राथमकिता देओस् !
 
बिर्तादेउरालीको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना  र मृतकका परिवारजनमा समवेदना !    
     
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३१, २०७३  २१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC